सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कुष्ठरोगको जोखिम अहिले पनि कायमै

कुष्ठरोगका बिरामीको उपचार गर्दै आएको नेपालगन्जस्थित साइनिङ अस्पताल ।

कुष्ठरोगको उपचारमा सक्रिय बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०–०८१ मा १७ हजारभन्दा बढीलाई ओपिडी सेवा दिएको छ । आइएनएफ नेपालद्वारा सञ्चालित उक्त अस्पतालबाट एक वर्षको अवधिमा १७ हजार २६५ जनाले ओपिडी सेवा लिएको अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए ।

उनका अनुसार सो क्रममा छालासम्बन्धी १४ हजार २९७ जनाले सेवा लिएका थिए भने २ हजार ९६८ जना कुष्ठरोगीका बिरामीले सेवा लिएका थिए । यो अस्पतालमा छाला र कुष्ठरोगका बिरामीले सेवा लिने गरेका छन् । सो अस्पतालमा १२२ जना कुष्ठरोगका बिरामी भर्ना भएका थिए । त्यहाँ कुष्ठरोगका बिरामीहरूको निःशुल्क उपचार हुने गरेको छ ।

कुष्ठरोगको जटिलताको अवस्था हेरेर अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको प्रमुख थारुले जानकारी दिए । ‘हामीले कुष्ठरोगी सबैको निःशुल्क उपचार गर्दै आएका छौँ,’ उनले भने, ‘जटिल प्रकारका बिरामीहरूलाई एकदेखि डेढ महिनासम्म अस्पतालमै भर्ना गरेर निःशुल्क उपचार गरेर पठाउने गरेका छौँ ।’

साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०–०८१ मा १४६ जना कुष्ठरोगीको रोग निदान गरेको छ । तीमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका ५ जना र १२ जना अन्य जिल्लाका बिरामी छन् । अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा अस्पतालमा १२६ जना रोगीको रोग निदान भएको थियो । यो त्यसको अघिल्लो आर्थिक वर्षभन्दा २० जनाले बढी हो ।

२४ शैय्याको सो अस्पतालले ओपिडी, अन्तरङ्ग, ल्याब्रोटरी, फार्मेसी लगायतको सेवा दिँदै आएको छ । गएको आर्थिक वर्ष कुष्ठरोग निदानका लागि छालाको स्मेर जाँच सेवा ८३८ जनाले लिएका थिए भने १२ हजार १६९ जनाको ल्याब टेस्ट गरिएको थियो । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा भारतबाट बिरामीहरू उपचारका लागि सो अस्पतालमा आउने गरेको प्रमुख थारुले बताए ।

बाँके लगायत पश्चिम नेपालका विभिन्न जिल्लामा कुष्ठरोगको जोखिम अहिले पनि कायमै रहेको उनले बताए । बाँके जिल्लाको खजुरा, डुडुवा, नरैनापुर र नेपालगन्जमा कुष्ठरोगका केसहरू बढी देखिएको उनको भनाइ छ । बिरामी समयमै उपचार गर्न नआउँदा उपचारको समय पनि लम्बिने र बिरामीले समेत दुःख पाउने गरेको उनले सुनाए । दातृ निकायबाट आउने अनुदान घटबढ हुँदा अस्पताललाई चुनौती रहेको उनको भनाइ छ ।

सरकारले समेत कुष्ठरोगी बिरामीलाई यातायात खर्च बापत दिँदै आएको एक हजार रुपियाँ यो वर्ष बजेट अभावले गर्दा कटौती गरेको छ । कम्तीमा उपचार गरेर घर फर्किदा यातायात खर्च नियमित हुनुपर्नेमा अस्पतालका प्रमुख थारुको जोड छ । यस्तै स्वास्थ्य चौकीहरुमा पाउनुपर्ने कुष्ठरोगको औषधि नियमित नहुँदा बिरामीहरूले अनावश्यक दुःख पाउनुपरेको गुनासो बिरामीले सुनाउने गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतवार १५:२७

लोकप्रिय