सूचनाको शक्ति - The Power Of Information

        

सन्दर्भ : छठ पर्व

ब्रह्माकी मानसपुत्री ‘षष्टीदेवी’

यीनलाई मन्त्रहरुको अधिष्ठात्री पनि भनिन्छ । यीनको शरीर व्रहमतेजले देदीप्यमान रहन्छ ।

धर्म र भक्तिको मामिलामा विश्वाश र आस्था न भइ नहुने भावना र आधार हुन् । यी दुई विना व्रह्मतत्व अनुभुत हुन सक्दैन र साथै ईश्वरीय शक्तिवाट प्राप्त हुने आशिर्वाद समेत प्राप्त होला हुदैन किनभने याचकको आवश्यकता र अभिरुचीबारे पनि त ईश्वरलाई जानकारी हुनुपर्यो । हामीले विश्वास त गर्नुपर्छ । तर हामीले जुन ईश्वर र ईश्वरीय शक्तिका अवतारहरुको विश्वास गर्नुका साथै भक्ति गर्छौ । यसबारे पनि सोध खोज हुनु अनि उनका बारेका रहस्य, योगदान उनीहरुले निर्दिष्ट गरेका मार्गहरु जान्न पनि त्यतिकै आवश्यक हुन्छ ।

यी अवतारहरुका आदर्श र उनीहरुले हाम्रो उपर गरेका कल्याण कार्यहरु र निर्दिष्ट मार्ग निर्देशनबारे लिपीवद्ध गरेर राख्नु पनि हाम्रै दायित्व हो, किनभने अन्य सबै र नयाँ पुस्ताको लागि पनि आफ्ना गौरवशाली इतिहासबारे जानकारी राख्ने र यसको मुल मर्म बुझ्न उनीहरुलाई सहज हुन्छ र अन्योलता हट्छ । वैदिक सनातनीहरुको संस्कृतिमा छठीमाताको व्रत र भक्तिको ठुलो महिमा छ । सन्तान प्राप्तीका लागि र इच्छित बरदान प्राप्तीको लागि नेपालको धेरै जसो तराईका जिल्लाहरुमा माताको उच्च श्रद्धाका साथ व्रत उपवास गरिन्छ भने आजकाल काठमाडौं लगायतका अन्य पहाडी जिल्लामा पनि यो व्रत गर्ने चलन वढ्दो छ ।

पहाडी जिल्लाहरुमा प्रत्येक महिनामा दुई पटक पर्ने षष्टी तिथिहरुमा मातालाई प्रशन्न गर्न यो व्रत भक्तहरुले आ आफ्नो शारिरीक क्षमता र शक्ति अनुसार गर्ने गरेको पाइन्छ । तराइका जिल्लाहरुमा कार्तिक महिनाको भाइटिकापछिको अर्थात कार्तिक शुक्ल पक्षको चौथी, पन्चमी र षष्टी तिथिहरुमा तिन दिनसम्म लिने गर्छन् भने कसैले पञ्चमीको दिनभरी निरहार व्रत गरि साझ पख साँठा चामलको खिर प्रशादको रुपमा मातालाई चढाएर खाने चलन छ । यसलाई खर्ना भनिन्छ । यो दिन आफना इष्टमित्र, चेलिबेटी र आफन्तहरुलाई समेत निम्ता गरेर उक्त प्रशाद खुवाउने चलन छ ।

षष्टीको दिन विहानै नुहाइ धुवाइ गरी दिनभर पानीसमेत नखाई व्रत गरिन्छ भने कसैले पञ्चमीको दिन खर्ना नगरी छठको दिन मात्रै निरहार व्रत पनि गर्ने गर्छन् । यसरी व्रत गर्दा साँझपख कुनै नदी वा पोखरीको किनारमा गई माटो अथवा वालुवाको आकृति वनाइ त्यसलाई माता मानेर पुजा गरिन्छ । यो पुजामा मुख्यगरी अस्ताउँदो सुर्यलाई पुजा गरी अघ्र्य दिइन्छ । रातभरी भक्तजनहरुले भजन किर्तन गर्छन् । विहानपख उदाउँदो सुर्यलाई अघ्र्य दिएपछि पुजा समाप्त हुन्छ ।

मातालाई चढाइने प्रमुख प्रशादको रुपमा विषेश तरीकाले तयार पारिएको गहँुको पिठो, भेली र मसला मिसाएर पकाएको रोटी हो जसलाई ठेकुवा भनिन्छ । ठेकुवाका साथै काचो केरा, पाकेको केरा, निवुवा, नरिवल, वतासा, केराउ र साठा चामलको अक्षता चढाइन्छ । यो पुजामा केसरी चढाइदैन बरु काचो हलेदो र साठा चामल पिसेर बनाइएको विशेष प्रकारको लेप र सिन्दुर चढाउने गरिन्छ । यस्तै सबैद्धारा विशेष सम्मान र श्रद्धा प्राप्त गर्ने देवी को हुन त ? यीनको प्राकटय कसरी भयो भन्ने बारे श्रीमददेवी भागवत महापुराण द्धितीय खण्डमा दुईथरीको कुरो उल्लेख गरीएको छ ।

षष्टीदेवी भुवनेश्वरी देवीको अर्थात व्रह्मको मुल प्रकृतिको छैठौँ अंशवाट प्रकट भएकी हुनाले उनलाई षष्टिदेवी अर्थात् छठ माता भनिएको हो । यी देवी वालकहरुकी अधिष्ठात्री देवी हुन । यी देवी विष्णुमाया, वालकहरुको विशेष रक्षा गर्ने भएकीले बालदा, देवताहरुकी सेनापति भएर रक्षा गरेकीले देवसेना र देवताहरुको रक्षार्थ इन्द्रको सेनापति भइदिएकीले उनी इन्द्रसेना नामहरुले पनि विख्यात छन् । यी देवीका स्वामी कुमार कार्तिकेय अर्थात षडानन हुन् । देवी भागवत द्धितीय खण्ड महापुराण ४६ अध्यायमा यी देवीले वालकहरुको पालन पोषण गरेर उनीहरुको रक्षा गर्ने, दीर्घायु बनाउने गर्छिन् ।

यी सिद्ध योगिनी देवी आफ्नो योग बलले सदा बच्चाहरुसित विराजमान भएकी हुन्छिन् । उनको बारेमा सबैभन्दा पहिले धर्मदेवले भनेका थिए । यिनलाई व्रहमाले मनोयोगवाट रचेकाले यी ब्रह्माकी मानसपुत्री हुन् पनि भनिएको छ । यी देवी शुद्ध स्फटिक मणिजस्तो चम्किने बहुमुल्य रत्नहरुबाट निर्मित विमानमा सवार हुन्छिन् । श्वेत चम्पाजस्ती गोरी वर्णकी, नित्य नवयौवना, अपार मुस्कान र सिद्धयोगिनी जस्तो देखिन्छिन् । उनी गृष्म कालिन मध्यान्नकी सुर्य जस्ती देदीप्यमान छिन् । उनले देवासुर संग्राममा देवताहरुको सेना बनेर दानवहरुको वध गर्न उनीहरुलाई सहयोग गरेकी थिइन् । यसरी आफ्नो अपार शक्तिद्धारा देवताहरुलाई विजयी बनाएकी दिइन् ।

उक्त युद्धमा यी देवी देवताहरुका राजा ईन्द्रकी सेनाको सेनापति भएकीले उनलाई देव सेना पनि भनियो । यी समस्त मात्रिकाहरुमा श्रेष्ठ हुन् । उनको बारेमा कौथुम शाखामा पनि वर्णन पाइन्छ । यीनको मूल मन्त्र ‘ऊ ह्रीँ षष्ठी देव्यै स्वाहा’ हो । यो स्तोत्र सामवेदमा पनि छ अर्थात यो वेदिक मन्त्र हो भनेर नवम स्कन्ध अध्याय १ श्लोक ७७, ७८ र ७९ मा प्राप्त गर्न सकिन्छ । यिनलाई मनसा देवी पनि भनिएको छ । सोह्रौँ अध्यायको श्लोक ७१, ७२ र ७३ मा मनसा देवीलाई कस्यप पुत्री र शीव शिष्या भनिएको छ । यिनी शेषनागकी वहिनी हुन् । यिनी नागमा चढ्ने भएकीले यिनलाई नागमाता भनिएको रहेछ । यिनको सैया नाग हो ।

यिनीलाई योग सिद्धिहरुको साक्षात मुर्ति भनिएको छ । यीनलाई मन्त्रहरुको अधिष्ठात्री पनि भनिन्छ । यीनको शरीर व्रहमतेजले देदीप्यमान रहन्छ । यिनीले सँधै व्रहम चिन्तन गरिरहने भएकीले यिनलाई व्रहम स्वरुपा पनि भनिन्छ । यिनले विशुद्ध चिन्मय वस्त्र धारण गर्छिन् । यिनी महाज्ञानवती र स्वयम्सिद्ध तथा सिद्धाधिष्ठात्री हुन् । वेदवीज व्रहमाले मनोयोगवाट जन्माइएकी हुनाले मनसादेवी नाम पर्न गयो । द्धितीय खण्ड, नवम स्कन्ध, अडचालिस अध्याय, श्लोक ११, १२, १३ श्री मददेवी महापुराणमा यसमा पनि केही भिन्नता पाइन्छ । कष्यपपुत्री, मनसादेवी र षष्टीदेवी एकै व्यक्तित्व होइनन् । किनभने षष्टीदेवी परव्रहम भुवनेश्वरी देवीको मुल स्वरुपको छैठौ अंश हुन् । उनलाई ब्रह्माको मानसपुत्री पनि भनिएको छ र उनका स्वामी कुमार कार्तिकेय हुन् ।

उनी अयोनीजा हुन् भने मनसा देवी कष्यप ऋषिकी पुत्री हुन् र जरतकारु ऋषिकी अर्धांगीनी हुन् तसर्थ यी दुई व्यक्तित्व फरक हुन् भन्ने स्पष्ट हुन्छ । बरु कस्यप ऋषिले उनको नामबाट आफ्नी कन्याको नामाकरण गरेका थिए भन्दा उपयुक्त हुन्छ । राजा प्रीयव्रत र उनकी रानी मालिनीबाट यो व्रत र पुजाको शुरुवात भएको कुरा श्री मद्देवी भागवत महापुराणको नवम स्कन्ध अध्याय ४६ मा उल्लेख गरिएको छ । वर्षैाको कठोर तपस्या गरेका प्रीयव्रत पितको आज्ञा अनुसार गृहस्थी र राज्य सञ्चालनको लागि घर फर्किन्छन् र राजकुमारी मालिनीसित परिणयसुत्रमा वाँधिन्छन् । केही वर्ष पश्चात उनीहरुलाई पुत्र प्राप्ती हुन्छ । सन्तान प्राप्तीमा राम्ररी खुशी पनि हुन नपाउँदै त्यो वालकको मृत्यु हुन्छ ।

साहै्र दुखी भएर राजाले उसको अन्तिम संस्कार गरिरहेको वेला आकाशवाट एउटा विशाल ज्योतिपुञ्ज त्यहाँ आएर बस्छ । त्यो विमानवाट षष्टीदेवी अवतरीत हुन्छिन् । राजा रानीले त्यो वालकलाई जीवित वनाउन उनीसित अनुरोध गर्छन् । उनीहरुको पिडामा मल्हम लगाउन सहानुभूति दिन्छिन्, साथै मृतकायलाई पुनर्जीवन प्रकृति विरुद्ध भएकोले उनीहरुको आग्रह पुरा नहुने भन्छिन् । बरु उपायस्वरुप उनको व्रत गरेमा उनलाई सन्तान प्राप्त हुने कुरा राजा रानीलाई सल्लाह दिन्छिन् । त्यसपछि राजा प्रियव्रत र रानी मालिनी दरबार फर्किएपछि उनको व्रत गर्न शुरु गर्छन् । यो व्रतको प्रभावले उनीहरुलाई सन्तान प्राप्ती भएको थियो । त्यसपछि ती दुई राजारानीले कसैले दुख कष्ट भोग्न नपरोस् भनि यो व्रतबारे सबैलाई जानकारी दिए भन्ने श्रीमद्देवी भागवत महापुराणमा उल्लेख छ । यस्ती देवीलाई शतशत नमन छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ०८:३७

लोकप्रिय