कार्तिक शुक्ल द्वितीया यमपञ्चकको पाँचौं तथा अन्तिम दिन हो । यो दिनलाई यमद्वितीया, भातृद्वितीया तथा भाइटीकाका रूपमा चिनिन्छ । कार्तिक शुक्ल द्वितीयाका दिन यमुनास्नान तथा यमपूजन गरिन्छ । यो दिन दिदीबहिनीको घरमा गई दाजुभाइले भोजन गर्नुलाई निकै फलदायी मानिन्छ ।
नेपाली परम्परामा दिदी बहिनीले दाजु भाइलाई सप्तरङ्गी टीका लगाएर मिष्ठान्न खुवाउने चलन रहेको छ । टीका तथा माला सत्कारका रूपमा लगाइन्छ । दाजुभाइले पनि दिदी बहिनीलाई गच्छेअनुसारको दक्षिणा तथा उपहार दिने चलन पनि रहेको छ । यमुनाले आफ्ना दाजु यमको पूजा गरेर दीर्घायु र अटल प्रेमको कामना गरेको प्रसङ्गपछि नै भाइपूजाको चलन सुरू भएको कथन छ ।
भाइपूजाको प्रसङ्ग भविष्य पुराण, हेमाद्रिलगायतका धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ । यो अवसरमा यम–यमुनाको पूजाका साथ प्रार्थना गरेको खण्डमा दिदी बहिनीलाई पनि अटल सौभाग्य प्राप्त हुने अर्थात् दिदी बहिनी विधवा हुन नपर्ने कुराको उल्लेख धर्मशास्त्र तथा पुराणादि ग्रन्थहरूमा उल्लेख छ । वैदिक सनातन परम्परामा दिदी बहिनीलाई दयाका मूर्ति मानिएको छ ।
दिदीबहिनीबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गरेर उनीहरूको हातबाट भोजन गर्नाले आयु, आरोग्य लगायत समृद्धि प्राप्त हुने शास्त्रीय विश्वास छ । कार्तिक महिनाको शुक्लपक्षको द्वितीयाको दिन अपराह्नको समयमा जो व्यक्तिले यमराजको पूजा गर्छ र यमुनामा स्नान गर्छ त्यो व्यक्तिले यमलोक देख्नुपर्दैन (अल्पायुमा मृत्युवरण गर्नुपर्दैन) भन्ने विषयको वर्णन स्कन्दपुराणमा गरिएको छ ।
कार्तिक शुक्ल द्वितीयाका दिन ’किङ्कर’सहितले यमराजको पूजा गर्नेलाई यमराजले वाञ्छित (आवश्यक) फल दिने गरेको धर्मशास्त्रीय विश्वास रहेको छ । कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्ना दाजु यमराजलाई घरमा बोलाएर भोजन गराइ पूजा तथा सत्कार गरिन् । त्यसैले यो दिन पर्वका रूपमा तीनै लोकमा विख्यात भएको हो भन्ने वर्णन पौराणिक ग्रन्थमा छ । यस दिन यमराजका साथै अष्टचिरञ्जीवीहरूको पनि पूजा गरिन्छ ।
यसरी यमराजका साथै अष्टचिरञ्जीवीका प्रतीमामा पूजा गरेको अवस्थामा आयु बढ्ने विश्वास छ । अष्टचिरञ्जीवीहरू अश्वत्थामा, बलि, व्यास, हनूमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय मानिन्छन् । अष्टचिरञ्जीवीहरूमध्ये मार्कण्डेयलाई प्रार्थना गरिएको यो श्लोक भ्रातृद्वितीयाको दिन पढ्ने प्रचलन रहेको छ ।
‘मार्कण्डेय महाभाग सप्तकल्पान्तजीवित ।
चिरजीवी तथा त्वं हि तथा मे भ्रातरं कुरु ।।’
श्लोकको अर्थ हुन्छ, हे मार्कण्डेय हजुर सात–सात कल्पसम्म जीवित रहनुहुन्छ हजुरजस्तै मेरा दाजुभाइलाई पनि सात–सात कल्प जीवित रहने बनाउनुहोस् । मार्कण्डेयको प्रार्थना गरिएको यो श्लोक पद्मपुराणबाट लिइएको हो । द्वितीया तिथि यात्राका लागि, व्रतारम्भका लागि र शुभ तथा मङ्गल कार्यका लागि विशेष रूपले लिने गरिन्छ ।
यस दिन घरबाट टाढा निस्कने व्यक्तिका लागि उत्तम साइत हुने शास्त्रीय मान्यता तथा विश्वास छ । त्यसैगरी व्रत तथा यमपूजा गर्नाले अनन्त फल प्राप्त हुने कुराको उल्लेख धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ । यमुनालाई सूर्यनारायणकी पुत्रिका रूपमा पनि लिइन्छ । सूर्यनारायणकी पुत्री मान्नुको कारण गंगा नदी जसरी हिमनदी हुन् त्यसैगरी यमुना नदी पनि हिमनदी हुन् ।
सूर्यनारायणको स्पर्शबाट गङ्गा तथा यमुना हिमालयदेखि प्रवाहित हुन्छन् । यसको अर्थ उष्णताबिना हिउँ पग्लदैन र नदी पनि बन्न सक्दैन । सूर्यनारायणको उष्ण स्पर्शका कारण नै हिमालयदेखि नदीहरू बग्छन् यसैले नै यमुनालाई सूर्यनारायणकी पुत्री मानिएको हो । हिमालयबाट निष्कने जल सूर्यका किरणको तापबाट जलका रूपमा परिणत हुँदै दक्षिणतिर बगिरहेका छन् । यसरी बग्दै गरेको जल यमुना नदीका रूपमा आउँछ ।
वर्षाको भेलबाट सफा भएको शरदकालीन जल अत्यन्त स्वच्छ र सर्वरोग निवारक मानिएको छ । जसलाई यमुना सम्बन्धी भौतिक अर्थको (देखिने अर्थात् जस्तो देखिन्छ त्यस्तै) रूपमा पनि लिन सकिन्छ । वैदिक सनातन धर्मावलम्बी आस्तिकजनका लागि गङ्गा तथा यमुनाको महात्म्य अत्यन्त ठूलो छ । जसको वर्णन विभिन्न पुराणहरूमा गरिएको छ ।
गोवर्धन पर्वतको पूजा गरेपछिको अर्को दिन यमुनाको माहात्म्य आउनुको रोचक प्रसङ्ग छ । त्यो के भने भगवान् श्रीकृष्णको जन्मस्थल मथुरा हो । भगवान् श्रीकृष्णले बाललीला गरेको गोकुल हो भने श्रीकृष्णले गाई चराएर गोपिनीहरूसँग लीला गरेको स्थल वृन्दावन हो । श्रीकृष्णले गोवर्धन पर्वतलाई उठाएर गोकुलवासीको रक्षा गरेको पनि यही क्षेत्र हो । यही क्षेत्रलाई सिञ्चित गर्दै यमुना नदी पनि बग्ने गर्छिन् ।
गौपूजा, श्रीकृष्णले नरकासुरको वध गरेको प्रसङ्ग, गोवर्धन पर्वतको पूजासँग यम–यमुनाको पूजाको प्रसङ्ग आउनु र त्यसैसँग श्रीकृष्णको क्रीडाभूमिलाई सिञ्चित गर्दै बग्ने यमुनाको प्रसङ्ग आउनुलाई जोड्दा अत्युक्ति हुने छैन । हाडनातामा विवाह रोक्न भाइटीका लगाउन सुरु गरियो भन्नु गलत हो । कतिपयले तिहारको सन्दर्भमा नजिकको दाजु भाइ र दिदी बहिनीबीचको विवाह नहोस् भनेर भाइटीका लगाउन सुरु भएको भन्ने कुर्तक गरेको पनि सुनिन्छ ।
तर दाजु भाइ र दिदी बहिनीबीच हुने विवाहलाई रोक्नका लागि तिहारमा टीका तथा माला लगाउने चलनको सुरु भएको भन्नु गलत तर्क नै हो । किनभने हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार बुवापट्टिका सात पुस्ता र आमापट्टिका पाँच पुस्तासम्म विवाह गर्न बन्देज छ । विवाह गर्न मिल्दैन । सगोत्रसँग त विवाह गर्नै मिल्दैन ।
अनि के को आधारमा दाजु भाइ र दिदी बहिनीबीचको हुने विवाहलाई रोक्न तिहारमा दाजु भाइ र दिदीबहिनीबीच भाइटीका लगाउने चलन सुरु भयो भन्न मिल्छ ? अवश्य पनि मिल्दैन । बरू दाजु भाइ नभएकी कन्यालाई विवाह गर्न नहुने कुराको उल्लेख भने धर्मशास्त्रीय ग्रन्थहरूमा पाइन्छ । यसो भन्नुको कारण दाजुभाइ नभएकी कन्याबाट जन्मिएको पहिलो सन्तान कन्याका पिताको हुन्छ भन्ने धर्मशास्त्रीय वचन छ ।
जसले गर्दा भातृमती अर्थात् दाजुभाइ भएकी कन्या मात्र विवाह गर्नुपर्दछ भन्ने परम्परा रहेको देखिन्छ । कार्तिक शुक्ल द्वितीयाका दिन दिदी बहिनीले दाजु भाइलाई टीका लगाइदिएको अवस्थामा जन्म जन्मान्तरसम्म पनि दिदी बहिनीहरू दाजु भाइविहीन बन्नुपर्दैन भन्ने पौराणिक तथा धर्मशास्त्रीय वचन छ । (कुराकानीमा आधारित ।)
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
डा.वासुदेव खनाल । सह-प्राध्यापक, वाल्मीकि विद्यापीठ