सूचनाको शक्ति - The Power Of Information

        

विचार

लामखुट्टेले निम्त्याउने स्वास्थ्य समस्या

मलेरिया लागेको व्यक्तिलाई उपचार गरेपछि लामखुट्टेले टोकेर अर्को व्यक्तिमा यो सर्दैन ।

लामखुट्टेले निकै खतरनाक रोगहरू जस्तैः मलेरिया, डेङ्गु र पहेँलो ज्वरो निम्त्याउँदछ । यी रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र चाँडै सर्दछ । लामखुट्टे नबग्ने पानी (स्थिर पानी) भएको ठाउँमा बढी प्रजनन् गर्दछ । कहिलेकहीँ यसलाई स्थिर पानी पनि भनिन्छ ।

द्रूत गतिमा भएको भू–उपयोगितामा परिवर्तन जस्तैः धेरैको संख्यामा रुखको कटानी गर्ने, बाँधको निर्माण गरी नदीको बहाव परिवर्तन गर्ने, ठूलो क्षेत्रको रुख विरुवा हटाउने आदिले लामखुट्टे प्रजनन्मा मद्दत पुर्याउँदछ ।

लामखुट्टेले फैलाउने बिरामी आपतकालीन समय जस्तै युद्ध, मानिसहरूको ठूलो आवतजावत र प्राकृतिक प्रकोप र जब मानिसलाई साधारण सावधानी अपनाउन कठिन भैरहेको बेला तब चाँडो फैलिन्छ ।

लामखुट्टेले कसरी बिरामी बनाउँछ ?

लामखुट्टेबाट मुख्यतया तीन किसिमको बिरामी हुन्छ । जस्तैः मलेरिया, डेङ्गु ज्वरो र पित्त ज्वरो । यी सबै विरामीको फरक फरक लक्षणहरू हुन्छन् र विभिन्न प्रजातिको लामखुट्टेहरूबाट सर्दछ । जसको प्रजनन् हुने ठाउँ फरक फरक हुन्छ । तर यी बिरामीहरूलाई एउटै तरीकाबाट रोकथाम गर्न सकिन्छ किनकी यी सबै बिरामी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ ।

लामखुट्टेको टोकाईबाट बच्ने

लामखुट्टेबाट लाग्ने हरेक किसिमको बिमारीलाई यसको टोकाईबाट बाचेर रोक्न सकिन्छ । लामखुट्टेको टोकाईबाट बँच्ने उपायहरू :

  • हात, बाहुला, खुट्टा, छाती र टाउको छोप्ने लुगा लगाउनुहोस् । जस्तै लामो बाहुला भएको सर्ट, पैन्ट, चोलो र कपाल छोप्ने कपडाहरू लगाउनु पर्दछ ।
  • लामखुट्टे धुप र अन्य धपाउने रसायन जस्तैः सिट्रोनेला, निमको तेल, तुलसीको पातको प्रयोग गरेर ।
  • धपाउने किसिमको रसायनहरू खासगरी बच्चा भएको घरमा राम्रो हुन्छ किनभने अन्य रोकथामको उपाय नअपनाउने घरहरूमा यसले लामखुट्टेको टोकाइलाई कम गर्न सकिन्छ ।
  • झ्याल र ढोकामा जाली लगाउनुहोस् ।
  • बच्चा सुतिरहेको बेला, रसायनद्वारा प्रशोधित लामखुट्टे झुलको प्रयोग गर्नुपर्दछ । झुलको छेउको भाग ओछ्यानको तल राखेमा लामखुट्टे पस्ने ठाउँ हुँदैन । धेरै जस्तो ठाउँहरूमा बच्चाको हेरचाह गर्ने कार्यक्रम अन्तर्गत महिला र बच्चालाई सुरक्षित राख्न निःशुल्क वा थोरै पैसामा झुल प्रदान गरिन्छ । रसायनबाट प्रशोधित झुलको असर कायम राखिराख्न हरेक ६ देखि १२ महिनामा यसलाई पुनः प्रशोधन गरिनुपर्दछ । घरबाहिर सुतने बेलामा पनि झुलको प्रयोग गर्नुपर्छ ।

मलेरिया

मलेरिया रगतमा हुने एउटा संक्रमण हो, जसले गर्दा विरामीलाई एकदमै बढी ज्वरो र जाडो हुन्छ । यो एउटा प्लाज्मोडियम नाम परजीवी, जुन मानिसमा खासगरी रातीको समयमा मात्र टोक्ने एक किसिमको लामखुट्टेको टोकाइबाट सर्दछ । मलेरियाको कारण लाखौं मानिसहरू वर्षमा मर्ने गरेको पाइन्छ र अन्य लाखौं मानिसहरू यसको टोकाईबाट विरामी भएर बाँच्ने गर्दछ । मलेरिया खासगरी पाँच वर्षमुनिका बालबालिकाहरूको लागि, गर्भवती महिला र एचआइभी तथा एड्सबाट संक्रमित मानिसहरूको लागि अति खतरनाक हुन्छ । गर्भधारण गरेकोले महिलाको विरामी वा संक्रमणविरुद्ध लड्ने क्षमतामा कमी ल्याउँदछ । मलेरियाबाट प्रभावित गर्भवती महिलामा रक्त अल्पता पनि हुने निकै बढी सम्भावना हुन्छ ।

जसको कारण बच्चा जन्मिनु पूर्व वा पछाडि मृत्यु हुने बढी सम्भावना हुन्छ । मलेरिया भएको महिलामा गर्भ तुहिने र छिटो बच्चा जन्मिने, सानो र मृत बच्चा जन्मिने पनि हुन्छ । मलेरिया विभिन्न थरिका हुन्छन् । कुनै प्रकारको मलेरिया लागेको व्यक्ति वर्षौसम्म पनि बाँच्न सक्दछ र अन्य धेरै प्रकारको मलेरियालाई रोकथाम पनि गर्न सक्दछ । तर सेरेवेरल मलेरियाले एक दुई दिनमै मृत्यु समेत गराउन सक्दछ ।

सेरेवेरेल मलेरिया लागेको ठाउँमा मान्छे विरामी हुने शंका लाग्ने वित्तिकै जचाउँने र उपरचार गरिहाल्नु पर्दछमलेरिया लागेको मानिसमा २ देखि ३ दिनसम्म ज्वरो आउँदछ तर शुरुमा हरेक दिन ज्वरो आउँछ, तर कोहीकोहीमा लामो समयसम्म बुझ्नै नसक्ने किसिमको ज्वरो आयो भने तुरुन्त रगत परीक्षण गराउनु पर्दछ । यो प्रायः प्रत्येक स्वास्थ्य केन्द्रमा गराउन मिल्दछ ।

मलेरियाको लक्षणहरू

मलेरियाको आक्रमण तीन चरणमा हुने गर्दछ ।

१. पहिलो लक्षणहरूमा निकै जाडो हुने र अक्सर टाउको दुख्ने गर्दछ । मानिस करिब १५ मिनेटदेखि लिएर एक घण्टासम्म थरथर काम्ने गर्दछ ।
२. निकै जाडोपछि एकदमै बढी ज्वरो आउँदछ । मानिस निकै कमजोरी महसुस गर्दछ र अचेत अवस्थामा रहन्छ । यस्तो ज्वरो केही घण्टादेखि दिनभरी नै लाग्ने गर्दछ ।
३. अन्तमा अत्यधिक पसिना आउँदछ र ज्वरो घटेर जान्छ । ज्वरो घटेपछि मानिसले कमजोरीको महसुस गर्दछ ।

उपचार

सम्भव भएमा रगत परीक्षण गर्नुहोस् । पहिलो लक्षण देखा पर्ने बित्तिकै उपचार गर्न थाल्नुहोस् । किनभने मलेरिया लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ । तसर्थ बिरामीलाई उपचार गर्नाले अन्यलाई पनि संक्रमित हुनबाट बचाउँदछ ।

मलेरिया लागेको व्यक्तिलाई उपचार गरेपछि लामखुट्टेले टोकेर अर्को व्यक्तिमा यो सर्दैन । धेरैजसो मुलुकहरूमा मलेरियाको परजीवि मा औषधी निरोधात्मक क्षमता विकास भैसकेको हुन्छ । यसको अर्थ भनेको औषधि जसले मलेरिया रोक्न प्रयोग गरिन्थ्यो, अब यसको कुनै असर हुँदैन ।

एक क्षेत्रमा मलेरियाको उपचारमा काम लाग्ने औषधी अर्को क्षेत्रमा यसको उपचारमा उपयोगी नहुन पनि सक्दछ । विभिन्न क्षेत्रमा नयाँ औषधी वा विभिन्न औषधीहरू मिलाएर अब मलेरियाको उपचार गर्नुपर्ने हुन्छ । त्यसमध्ये एउटा आरटेमिसिनिन (चीनमा धेरै वर्षदेखि उपभोगमा आएको), प्रायःजसो अर्को मलेरिया विरोधी औषधीसँग वा एउटा एन्टिबायोटिकसँग मिलाएर लिनु पर्दछ ।

केही ठाउँमा क्लोरोक्विन नामक औषधि (मलेरियामा उपयोग गरिने आम औषधी) अझै पनि प्रभावकारी देखिन्छ । तसर्थ तपाईको क्षत्रेमा मलेरियाको रोकथामको लागि कुन औषधीले राम्रो काम गर्दछ भनि जान्नलाई स्थानीय स्वास्थ्यकर्मीसँग सम्पर्क एवं सुझाव लिनुपर्दछ ।

मलेरियाबाट बच्ने उपाय

महत्वपूर्ण कुराः डाक्टरले सुझाएअनुरूपको सबै औषधीहरू नछुटाइकन पुरै अवधिभर निको भए पनि खानु पर्दछ । औषधी खान छोडेको खण्डमा मलेरिया पुनः फेरी दोहोरिन सक्दछ र खाएको औषधीले फेरी कुनै काम गर्दैन ।

मलेरिया प्रायःजसो गर्मीको बेला वा वर्षात्को बेला लाग्दछ । किनभने मलेरिया निम्त्याउने लामखुट्टे प्रायःजसो गर्मीमा वा स्थिर पानीमा अत्यधिक प्रजनन् हुने गर्दछ । तर संसारको केही भागहरूमा मलेरिया सुख्खा समयमा पनि लाग्ने गरेको पाइन्छ । जब लामखुट्टेले प्रजनन् गर्ने ठाउँ पाउँदछ । जस्तै स्थिर भएको सानो पानी पोखरी ।

डेङ्गु वा पहेंलो ज्वरो, मलेरियाबाट बाँच्ने उपाय चाहिँ लामखुट्टेको टोकाईबाट बाँच्नु हो र सामुदायिक लामखुट्टे नियन्त्रणका उपायहरूको उपयोग गर्नुपर्दछ । कीटनाशक विषादीबाट प्रशोधित झुल मलेरियालाई रोकथाम गर्ने एउटा राम्रो उपाय हुन सक्दछ । यो झुलहरू पाइरेथ्रीरिन नामक कीटनाशक विषादीबाट प्रशोधित हुन्छ जसलाई मलेरिया हुनुभन्दा सापेक्षिक रूपमा सुरक्षित मानिन्छ ।

कीटनाशक विषादीबाट प्रशोधित झुलको सबैभन्दा खतरा चाहिँ जब यसलाई विषादीमा डुबाइन्छ, छालाको माध्यमबाट शरीरमा प्रवेश गर्दछ । जब बच्चाले यसलाई मुखले तान्ने वा चपाउनाले यो बच्चाको शरीरभित्र जान्छ । जब यो विषादीयुक्त झुललाई धुँदा पानी प्रदूषित भई यसमा पाइने माछा, कीरा, जनावर र तलको भागको मानिसलाई समेत यसबाट प्रभावित गर्दछ ।

झुलमा कुनै किसिमको प्वाल वा च्यातेको छ भने तुरुन्तै टाल्नु पर्दछ अनिमात्र यसले बचाउन सक्दछ । साथै झुलमा लागेको रसायन विस्तारै ६ देखि १२ महिनामा ह्रास हुँदै जान्छ । छिटोछिटो धोएमा छिटो नै ह्रास हुन्छ । झुल राम्रै अवस्थामा छ भने नयाँ विषादीको झोलमा यसलाई चोपेर सुकाउनु पर्दछ । तर धेरै च्यातेको वा प्वाल परेको झुललाई हटाएर पुनः नयाँ झुल नै बनाउनु उपयुक्त हुन्छ ।

यसरी विषादीको पुनः प्रयोग गर्दा पञ्जा लगाउनु पर्दछ र दिएको निर्देशनमा उचित ध्यान पुर्याउनु पर्दछ । गरिब मानिसहरूमाझ मलेरिया एक सामान्य बिमारी हो र हरेक वर्ष यसबाट हुने गरेको मृत्यु बढ्दो छ । मानिसहरूले रगत परीक्षण एवं औषधीको खर्च जुटाउन नसकेपछि मलेरियाको विरामीबाट ग्रसित भएर बस्दछन् वा मृत्यु हुन्छ ।

जहाँसम्म एक जना मानिसमा मलेरिया छ भने यो अर्को मानिसमा सरेर जान्छ । मलेरिया प्रायःजसो गरिब समुदायमा र सामाजिक अन्याय परेको समुदायमा देखापर्दछ । तसर्थ यसको रोकथामको लागि यसको मूल कारण गरिबी र सामाजिक अन्यायलाई निर्मुल पार्नुको साथै सबैको लागि उपचारको व्यवस्था मिलाउनु पर्दछ ।

डेङ्गु ज्वरो

डेङ्गु ज्वरो एक किसिमको भाइरसबाट सर्ने गर्दछ जुन एउटा जिउमा सेतो टाटो भएको कालो, टाढाबाट हेर्दा झ्वाट्ट सेतो धर्को जस्तो देखिने लामखुट्टेको टोकाइबाट सर्दछ । यिनीहरूको खुट्टामा पनि सेतो धर्को देखिन्छ । यो लामखुट्टेलाई ‘पहेँलो ज्वरो लामखुट्टे’ पनि भनिन्छ । किनभने यसले पहेँलो ज्वरो पनि निम्त्याउँछ । डेङ्गु ज्वरो साधारणतया गर्मी र वर्षातको मौसममा सर्दछ ।

यो प्रायःजसो शहर बजारमा हुने गर्दछ । पानी जम्ने ठाउँहरूमा र ढल निकासको राम्रो व्यवस्था नभएको ठाउँमा यो ज्वरो लाग्ने गर्दछ । पहिलो पहिलो पटक डेङ्गु ज्वरो लागेको मानिस आराम गरेर र अत्यधिक झोल पदार्थ खाएर निको हुने गर्दछ । तर दोस्रो पटक जब यो ज्वरो दोहरिन्छ यो निकै खतरनाक हुन सक्दछ र मृत्यु समेत निम्त्याउन सक्दछ ।

लक्षणहरू

पहिलो पटक डेङ्गु ज्वरो लागेको मानिसमा एक्कासी अत्यधिक ज्वरो लाग्न सक्दछ र निकै जाडो समेत लाग्ने गर्दछ । जीउ हात निकै दुख्ने (डेङ्गु ज्वरोलाई कहिलेकहीँ हाड तोर्ने ज्वरो पनि भनिन्छ), टाउको दुख्ने र घाँटी दुख्ने हुन्छ । मानिस धेरै कमजोर तथा विरामी देखिन्छ । तीन चार दिनपछि, केही घण्टादेखि दुई दिनसम्म मानिस साधारणतया राम्रो अनुभव गर्दछ ।

त्यसपछि पुनः बिरामी १–२ दिन बढीसम्म लाग्छ । अक्सर हात र खुट्टामा घाउ हुन्छ र पछि पैतला, खुट्टा र शरीरभरी घाउ बढेर जान्छ तर अनुहारमा भने घाउ आउँदैन । बच्चा, स–साना उमेरका बालबालिका र बुढापाका वा यो रोगसँग लड्ने क्षमता नभएको व्यक्तिहरूमा पनि यो रोग धेरै हदसम्म लाग्दछ ।

जस्तै एचआइभी–एड्स लागेको व्यक्तिलाई यो रोग निकै प्रभावित गर्दछ । यसलाई हेमोराजिक डेङ्गु ज्वरो पनि भनिन्छ । यसलाई बेलैमा उपचार नगरेमा यसले छालामा रगत बग्न थाल्छ र पछि मान्छेको मृत्यु समेत गराउँदछ ।

उपचार

डेङ्गु ज्वरोलाई उपचारको लागि कुनै औषधी छैन र यसलाई रोक्न सक्ने कुनै खोपको विकास पनि भएको छैन । प्रायःजसो डेङ्गु ज्वरोको उपचार र दुखाई कम गर्न घरमै गरिन्छ । लामो समयसम्म आराम गरेर र अत्यधिक रूपमा झोल पदार्थ पिउनुको साथै, आइब्रुफेन, प्यारासिटामोल खाएर उपचार गरिन्छ ।

महत्वपूर्ण कुराः हेमोराजिक डेङ्गु ज्वरोलाई मानिसको शरीरमा भएको तरल पदार्थ एवं रगत बदलेर चाँडै निको पार्न सक्दछ । छालाबाट रगत निस्कने बेला, खान र पिउन कठिन भए, सुद्धिबुद्धि हराए (ज्वरो, दुर्वलता र छिनछिनमा उठ्ने कारणले) जस्ता लक्षणहरू देखा परेपछि तुरुन्त अस्पताल लग्नु पर्दछ ।

यस्ता विरामी भएको बच्चा साना केटाकेटी वा वृद्ध वा अन्य कुनै खतरनाक स्वास्थ्य समस्या जस्तैः सुगरको बिरामी, मुटुसम्बन्धी रोगी वा एचआइभी–एड्स लागेको भएमा ठीक तरीकाले सहयोग पुर्याउनु पर्दछ ।

रोकथाम

डेङ्गु ज्वरो निम्त्याउने लामखुट्टेले सफा जमेको पानीमा प्रजनन गर्दछ । मलेरिया सार्ने लामखुट्टे भन्दा फरक दिनको समयमा डेङ्गुको लामखुट्टेले टोक्दछ । तसर्थ झुलले दिउँसोको समयमा बच्चा र बुढो जसले दिनमा सुत्ने गर्छन्, उनीहरूलाई मात्र सहयोग पुर्याउँछ ।

डेङ्गुको लामखुट्टे प्रायः छाहारीमा, अँध्यारोमा जस्तै टेबुलको तल, खाटको तल र कोठाको अँध्यारो कुनामा बस्दछ । तसर्थ डेङ्गु ज्वरोको रोकथाम गर्न लामखुट्टेको टोकाईबाट बँच्नु पर्दछ र सामुदायिक स्तरमा लामखुट्टेको नियन्त्रण गर्नुपर्दछ ।

पहेंलो ज्वरो

अफ्रिका एवं दक्षिण अमेरिकाको केही भागमा पहेंलो ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । पहेंलो ज्वरो खासगरी दुई किसिमको हुन्छ र भिन्नाभिन्न तरीकाले सर्ने गर्दछ ।

जंगली पहेंलो ज्वरो – जंगली पहेंलो ज्वरो संक्रमित लामखुट्टेबाट बाँदरमा र फेरी बाँदरबाट लामखुट्टेमा सर्दछ । यसरी बाँदरबाट संक्रमित लामखुट्टेले मानिसलाई टोकेको खण्डमा मानिसमा यो पहेंलो ज्वरो लाग्दछ । जंगली पहेंलो ज्वरो एकदमै कम हुने गर्दछ र उष्ण जंगलहरूमा काम गर्ने मानिसहरूमा लाग्ने गर्दछ ।

शहरी पहेंलो ज्वरो – शहरी पहेंलो ज्वरो खासगरी धेरै पहेंलो ज्वरोको महामारीको कारण हो । मलेरिया र डेङ्गु ज्वरो जस्तैः शहरी पहेंलो ज्वरो पनि लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यसमा लामखुट्टे पहिले संक्रमित मानिसलाई टोक्दा रगत चुस्दछ र पछि अरु मानिसलाई टोकेर संक्रमित गर्दछ । शहरी पहेंलो ज्वरो डेङ्गु ज्वरो फैलाउने कालो लामखुट्टेले नै सार्दछ । जसको खुट्टा र पिठ्युँमा सेतो धब्बाहरू हुन्छ । यी लामखुट्टेहरू पनि शहर, बजार, गाउँमा जमिरहेको पानीमा बस्ने र प्रजनन् गर्ने गर्दछ ।

लक्षणहरू

पहेंलो ज्वरोमा ज्वरो, जाडो, मांसपेशी दुख्ने (खासगरी पिठ्युँको दुखाई), टाउको दुख्ने, भोक नलाग्ने, वाकवाक लाग्ने, वान्ता हुने, अत्यधिक ज्वरो र नाडी कम चल्ने हुन्छ । धेरै मानिसहरूमा यो बिरामी ३ देखि ४ दिनसम्म आफैं हराएर जान्छ । तर केही मानिसहरूमा भने हरेक ७ दिनमा एकपटक ज्वरो हराएर गएको २४ घण्टामा ज्वरो दोहरिन्छ ।

जण्डिस (पित्त ज्वरो), पेट दुख्ने र वान्ता हुन्छ । त्यसपछि मुख, नाक, आँखा र पेटबाट रगत बग्ने गर्दछ । १० देखि १४ दिनमा मृत्यु पनि हुन सक्दछ । तर यो पहेंलो ज्वरोबाट प्रभावित व्यक्तिमा ज्वरो दोहरिएको खण्डमा आधि जति मानिस विना कुनै स्वास्थ्यजन्य समस्या बाँच्न सक्दछन् ।

उपचार

पहेंलो ज्वरोको सबभन्दा राम्रो उपचार भनेको आराम गर्ने र अत्यधिक झोल पदार्थहरूको सेवन गर्नु हो । धेरै मानिसहरू केही समय पछि पूर्णयता ठीक भएर आउँदछ र त्यस रोगविरुद्ध प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । एकदमै थोरै मानिसहरूमा यो रोग एकपटक निको भैसकेपछि दोहरिने गर्दछ । तैपनि यो निको भएर जान्छ ।

रोकथाम

मलेरिया र डेङ्गु ज्वरो जस्तै पहेंलो ज्वरोको पनि राम्रो रोकथामको उपाय भनेको लामखुट्टेको टोकाइबाट बाँच्नु नै हो र लामखुट्टेको नियन्त्रण गर्नु हो । खोपको प्रयोगबाट पहेंलो ज्वरोलाई रोकथाम गर्न सकिन्छ तर यसको लागि चाहिने उपयुक्त खोप चाहिं सजिलै उपलब्ध नहुनुको साथै महङ्गो पनि पर्दछ ।

सामुदायिक रूपमा लामखुट्टे नियन्त्रण

लामखुट्टेले जमिरहेको पानीमा फूल पार्दछ । लामखुट्टेको फूलबाट बच्चा कोरल्न करिब ७ दिन लाग्दछ । तसर्थ जमिरहेको पानीबाट मुक्ति पाउने, साताको एकचोटी सरसफाई गर्नुपर्दछ र पानीलाई जम्न नदिई बग्ने बनाउनु पर्दछ । यसले लामखुट्टेको प्रजनन् दरलाई बाधा पुर्याउँदछ जसले गर्दा लामखुट्टेको वृद्धिमा रोकावट आउनुको साथै रोगहरू पनि फैलिन पाउँदैन ।

लामखुट्टेको प्रजनन् रोकथाम गर्ने तरीकाहरू

  • लामखुट्टे बस्न मन पराउने ठाउँहरू जस्तैः जमेको पानी, गाडीका पुराना पांग्राहरू राखेको ठाउँ, गमला, तेलको भाँडो, खाल्टोहरू, नछोपिएको पानीको भाँडो र घरभित्र जमिरहेको पानीबाट मुक्ति पाएर ।
  • जमीनलाई पानी नजम्ने ढङ्गले व्यवस्थापन गर्नुपर्दछ जसले गर्दा सबै पानी सोसेर जान्छ र जम्न पाउँदैन ।
  • जलाधार क्षेत्र संरक्षित बनाउनु पर्दछ, जसले गर्दा पानी सधैँभरी बगिरहने गर्दछ ।

सामुदायिक रूपमा लामखुट्टे रोकथाम कार्यक्रममा निम्नलिखित कुराहरू समावेश गराउन सकिन्छ,

  • जमेको पानीमा लामखुट्टेलाई खाने माछा पाल्ने – मध्य अमेरिकी लामखुट्टे माछा, दक्षिणी अमेरिकी गुपिज, अफ्रिकन तिलापीया, कार्प र अन्य माछाको प्रयोग गरी लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । यी माछाहरूको विभिन्न ठाउँमा विभिन्न सामान्य नामहरू छन् तर अक्सर लामखुट्टे माछा भनेर जानिन्छ ।
  • पानी बगिरहेने तथा खेत राम्ररी पानी सोस्ने बनाउने – प्राकृतिक पानीलाई व्यवस्थित, गल्छि बनाएर पानीलाई बग्ने बनाउने र काम नलाग्ने सिचाइँका कुलो एवं पोखरीहरूलाई पुरेर धानको खेतबाट २–३ दिनको फरकमा पानी बगाएर लामखुट्टेको नयाँ फूल एवं बच्चाहरूलाई मार्नु पर्दछ र साथै कुनै किसिमको वातावरणीय तथा धानको उत्पादनमा पनि ह्रास आउँदैन ।
  • वृक्षारोपण गरेर – लामखुट्टेको नियन्त्रणमा सहयोगी हुने चरा, चमेरो तथा अन्य प्राकृतिक सहयोगीहरूको बासस्थान उपलब्ध गराउन वृक्षारोपण गरिनु पर्दछ । इण्डिया र अफ्रिकामा पाइने निमको रुखले लामखुट्टे धपाउन र यसको पातलाई औषधीको रूपमा उपयोग गर्ने गरिन्छ ।

कीटनाशक विषादीको उपयोग

वर्षको केही महिनामात्र लामखुट्टेको प्रजनन् हुने ठाउँहरूमा कीटनाशक विषादीको उपयोग गरी छिट्टै नष्ट गर्न सकिन्छ । पहिलेपहिले डीडीटी नामक विषादीको उपयोग गरी मलेरियाको लामखुट्टे मार्न व्यापक उपयोग गरिन्थ्यो र लामखुट्टे प्रजनन् हुने ठाउँहरूमा बाहिर पनि छर्ने गरिन्थ्यो ।

तर डीडीटी एक प्रकारको दीर्घायी जहरीलो विष भएको कारण यसले मानिस, जनावरहरूमा क्यान्सर र जन्मसम्बन्धी विभिन्न रोगहरू निम्त्याउँछ । डीडीटी धेरै टाढासम्म पानी तथा धुवाँको माध्यमबाट फैलिन्छ र वातावरणमा धेरै वर्षसम्म रहिरहन्छ र अझै बढी खतरनाक रसायनमा परिणत हुन्छ ।

यसको कारणले अचेल कम खतरनाक कीटनाशक विषादीको उपयोग गर्न सुझाव दिने गरिन्छ । एउटा अर्को किसिमको विषादी जसलाई पाइरेथ्रिन भनिन्छ, कम समयसम्म मानिस, जनावर र जमीनमा असर गर्दछ । यस पाइरेथ्रिनको डीडीटी वा मालाथियन भन्दा अर्को फाइदा भनेको यो उस्तै खालको ठाउँमा प्रयोग गर्न निकै कम मात्रा चाहिन्छ ।

पाइरेथ्रिन वातावरणमा जम्मा पनि हुँदैन । तर मानिसहरू यसको सम्पर्कमा आएपछि खतरा हुन्छ र यसको उपयोग बडो सावधानीपूर्वक गरिनु पर्दछ । पाइरेथ्रिनले मानिसको आँखा, छाला चिलाउनुका साथै यसमा घाउहरू आउन र श्वासप्रश्वासमा पनि अप्ठ्यारो गराउँदछ ।

खासगरी बच्चा र गर्भवती महिलाहरू र बच्चालाई दूध खुवाउने महिलाहरूले यसको सिधा सम्पर्कमा आउनुबाट बच्नुपर्दछ । पाइरेथ्रिन पानीको स्रोतको लागि निकै विषाक्त हुन्छ । पाइरेथ्रिनको प्रयोग पानीको स्रोतको नजिकमा कहिले पनि गर्नुहुँदैन । हालैमा डीडीटीको प्रयोग पहिलेको भन्दा फरक रूपमा फेरी दोहरिन थालेको छ ।

यसलाई घरभित्रको उपयोगको लागि थोरै मात्रामा सिफारिस गरेको पाइन्छ । जुन तरीकालाई चाहिँ घरभित्रको अवशेषको रूपमा छर्ने एउटा तरीकाको रूपमा लिइन्छ । यसअन्तर्गत एकदमै थोरै मात्रामा डीडीटी घरभित्रको पर्खालमा छरिन्छ जसले त्यसमा बस्ने लामखुट्टे मर्छन् ।

यस तरीकाले थोरै विषको प्रयोग सानो क्षेत्रमा प्रयोग गर्नाले यसलाई पानीको स्रोतमा मिसिनबाट बचाउँदछ र यसबाट लामखुट्टेमा विषविरुद्धको प्रतिरोधात्मक क्षमताको विकास हुने सम्भावनालाई पनि रोक्दछ । सबै कीटनाशक विषादी विषालु हुन्छ । डीडीटी तथा पाइरेथ्रिन वा अन्य कुनै विषादीको उपयोग गर्दा निम्नलिखित कुरामा ध्यान दिनुपर्दछ,

  • दिएको उपयोग गर्ने तरीकालाई पूर्णरूपेन अनुसरण गर्नुपर्दछ ।
  • सधैँ सुरक्षा कवच लगाएर मात्र विषादी छर्कनु पर्दछ (अनुसूची १ हेर्नुहोस्) ।
  • सकेसम्म थोरैभन्दा थोरै रसायनको प्रयोग गर्नुहोस् । जहाँ लामखुट्टे घरभित्र बस्दछ र धेरैबेरसम्म लुकेर बसिरहन्छन् त्यहाँमात्र छर्किनुहोस् ।
  • बच्चाहरू भएको ठाउँ नजिकै वा गर्भधारण गरेको वा दूध खुवाउने गर्दै गरेको महिलाको नजिकै विषादी कहिल्यै पनि छर्कनु हुँदैन ।
  • कीटनाशक विषादीबाट संशोधित झुल बच्चाले चुस्न वा चपाउन नपाऊन् भनि सुनिश्चित गर्नुहोस् र साथै झुलको सम्पर्क वा कमभन्दा कम समयसम्म यसलाई छुन सक्ने बनाउनुपर्छ ।
  • कीटनाशक विषादीबाट प्रशोधित झुललाई धुँदा बाटाको उपयोग गर्नुपर्दछ र पानी सोकपिटमा फाल्ने गर्नाले अन्य पानीको स्रोतलाई र खानेपानीको स्रोतलाई बचाउन सकिन्छ ।

कीटनाशक विषादीको अत्यधिक प्रयोगबाट लामखुट्टेमा यसप्रतिको प्रतिरोधात्मक क्षमताको विकास हुन्छ र त्यसपछि यसको लामखुट्टेमाथि कुनै असर गर्दैन । लामखुट्टेको संख्या नियन्त्रण गर्न कीटनाशक विषादीको उपयोग गर्नु एउटा आकस्मिक उपायमात्र हो । तर कीटनाशक विषादीले खाली लामखुट्टेजन्य रोगलाई नियन्त्रण मात्र गर्दछ ।

लामखुट्टेबाट हुने रोग नियन्त्रण कार्यक्रममा सबैलाई उपचार, समुदाय स्तरमा लामखुट्टे प्रजनन केन्द्रहरूको रोकथाम र सामुदायिक शिक्षाको एउटा अभिन्न अंगको रूपमा प्रयोग गरिएमा यसले लामखुट्टेको टोकाइबाट हुने समस्याको रोकथाम गर्न मद्दत पु¥याउँदछ । साथै समुदायमा यसबारे शिक्षा पनि दिन्छ ।

लामखुट्टेबाट सर्ने रोगको रोकथाम गर्न

  • लामखुट्टेको टोकाईबाट बच्ने – झ्याल ढोकामा जाली, लामखुट्टे धपाउने सुरक्षित रसायन, लामखुट्टे धपाउने धुप, पुरै शरीर ढाक्ने लुगा र रसायनिक झुलको प्रयोग गरेर ।
  • रोग फैलिनबाट बचाउन उपचार – मानिसको पैसा तिर्ने क्षमता भए नभए पनि छिटा छरितो उपचार पाउने सुनिश्चितता गर्नुपर्छ ।
  • लामखुट्टे प्रजनन् हुने ठाउँहरूको विकासमा रोक – घरमा उपयोग हुने सामुदायिक उपभोग गरिने पानी छोपेर राख्नुहोस् । पानीको भाँडो, पाइप आदिलाई छोपेर राख्नु पर्दछ । धारा, इनार र वर्षातको भेलको पानी तर्काउने राम्रो राम्रो नालाको व्यवस्था हुनुपर्यो । सावधानी पूर्वक जग्गा एवं पानीको व्यवस्थापनबाट लामखुट्टेको वृद्धि विकास हुने नयाँ ठाउँको विकास हुन नदिने ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १६:१२

लोकप्रिय