सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मौलाउँदै तस्करी

प्रहरी संरक्षणमा लसुन तस्करी, असुली धन्दामा ‘अदृष्य घुमुवा’

बाँकेका साना ठूला सबै नाकाबाट तस्करसँग सशस्त्र र जनपद प्रहरीका घुमुवाले लाइन मिलाएर नेपाल र भारत दुवैतर्फ तस्करी गराउँदै आएका छन् ।

भारतसँग सीमा जोडिएका बाँकेका विभिन्न क्षेत्रमा लसुन तस्करी मौलाएको छ । भारतमा चिनियाँ लसुन मँहगिएपछि सीमावर्ती क्षेत्रमा तस्करी बढेको हो । भारतले तेस्रो मुलुकबाट लसुन आयातमा प्रतिबन्ध लगाएको छ । जसका कारण लसुनको भाउ आकाशिएपछि नेपाली तस्करसँग मिलेर त्यहाँका व्यापारीले अवैध ढंगबाट संगठित कारोबार गरिरहेका छन् ।

मुख्यतः बाँकेका बेलडाँडा, बढैया र शिवपुरी नाकाबाट लसुन तस्करी गरेर भारत पठाउन तस्करहरु सक्रिय रहेको बताइन्छ । सीमा नजिकैका बजारमा व्यापारीहरुले लसुन गोदाम बनाएर तस्करी गरिरहेको स्रोतको भनाइ छ । नेपालमा चिनियाँ लसुनको भाउ प्रतिकिलो ३०० रुपैयाँसम्म छ । भारतीय लसुन प्रतिकिलो भारु ४०० सम्म पर्छ ।

नेपाली र भारतीय मूल्यको तुलना गर्दा किलोमै नेपाली ३४० रुपैयाँ नाफा हुने भएपछि सीमा क्षेत्रमा लसुन तस्करहरुको सरगर्मी बढेको हो । स्रोतका अनुसार राति त्यहाँबाट दशगजा पारी लसुन पुर्याइन्छ । जानकी गाउँपालिका–१ मा पर्ने पचपोखरिया निवासी शोहिद आलम कबडियाले लसुन तस्करी गरिरहेको स्थानीयहरु बताउँछन् ।

बेलडाँडा, बढैया र शिवपुरी नाकाबाट लसुन निकासी गरिरहेका छन् । रातको मौका छोपेर उनले दैनिक २ ट्रक लसुन सिमापारि पुर्याउँछन् । आलम चरेस काण्डमा चार बर्ष भारतीय जेलमा बिताएर एक महिनाअघि मात्रै घर फर्किएका हुन् । उनीसँगै साही गाउँपालिकाको साइगाउँका नसुरुद्दिन कबडिया र बन्जारेगाउँका बिजय कुर्मी पनि तस्करीमा संलग्न छन् ।

जनपथ र शसस्त्र प्रहरीको पहरामा बेलडाँडा, बढैया र शिवपुरी नाका हुँदै दैनिक लसुन नेपालबाट भारततर्फ तस्कर भैरहेको छ । तस्करहरुले यताबाट लसुन र भारतबाट कपडा, पटाका, हार्डवेयरका सामानको तस्करी गरिरहेका छन् । नेपाल तस्करी भएर आउने सामान नेपालगन्जको घरबारी टोलका केही पसलहरुमा पुग्ने गरेको स्रोतले बताएको छ ।

‘घरबारी टोलका कपडा र पाट्र्सका पसलहरुमा तस्करीको सामान पुग्ने गरेको छ । रातिको समयमा इन्द्रपुरबाट साइगाउँ हुँदै बेलडाँडा, बढैया र शिवपुरी नाकाबाट तस्करहरुले लसुन तस्करी गर्ने गरेका छन्,’ स्रोतले भन्यो । तस्करहरुले ती नाकामा रहेको सशस्त्र प्रहरीका सीमा सुरक्षा पोष्ट नजिकै लसुन झारेर गोदाम गरिन्छ ।

त्यसरी गोदाममा राखेका लसुनलाई कारोबारीहरूले रातको समयमा करिब १०० मिटर दुरीमा रहेको दसगजा पार गराएर भारततर्फ पठाउने गरेको बताइएको छ । उनीहरुले चाइनिज लसुन साइकल, मोटरसाइकल र भरियामार्फत भारतमा निकासी गर्ने गरेका छन् । नेपालमा भन्दा भारतीय बजारमा चाइनिज लसुन महंगो हुँदा नेपालबाट भारततर्फ तस्करी बढेको हो ।

मुख्य भन्सार नाकामा कडाइ हुन थालेपछि छोटी भन्सार नाकाहरुमा तस्कर गिरोह सक्रिय भएको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन् । बाँकेमा रहेका ‘छोटी भन्सार नाका’हरू अहिले अवैधरुपमा मालवस्तु ओसारपसार गर्ने सहजमार्ग बनेका छन् । सामान्य समयमा समेत तस्करीका कारण चुनौती बन्ने गरेका यी नाकाबाट अहिले खुलेआम तस्करी भरहेको छ ।

‘हामीले गनेर बस्ने कुरा त हुँदैन,’ उनले भने, ‘सशस्त्र प्रहरीकै मिलेमतोमा नाकामा यताबाट दैनिक लसुन निर्यात भइरहेको छ भने उताबाट कपडा, पटाका, हार्डवेयरका सामानको रात भित्रिरहेको छ ।’ अझ चाडपर्व नजिकिएसँगै सीमावर्ती क्षेत्रमा तस्करहरुको चहलपहल निकै बढे पनि दुवैतर्फका सुरक्षाकर्मीलकै मिलेमतोमा तस्करी भइरहेको छ ।

आँखैअघि तस्करी भइरहे पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले वास्ता नगरेको सीमाक्षेत्र जानकी गाउँपालिका–१, साइगाउँका एक जना स्थानीयले नाम नलेख्न आग्रह गर्दै भने, ‘तेल र उपभोग्य सामान तस्करीको त कुरै नगरौं, अहिले लसुन मुख्य तस्करी बनेको छ । ‘तस्करहरूले दुवैतर्फ ‘सेटिङ’ मिलाएकाले निर्बाध सामान ओसारिरहेका छन् ।’

लसुन तस्करी नियन्त्रण गर्न नसकेको भन्दै प्रहरी चौकी साइगाउँ र राधापुर प्रहरी चौकीका इन्चार्जलाई नै तानेर नयाँ इन्चार्ज खटाएको छ । यद्यपी नेपाल प्रहरीले लसुन तस्करीका विषयमा जानकारी नभएको भन्दै अनविज्ञता प्रकट गरिरहेको छ । नयाँ इन्चार्ज फेरिए पनि लसुन तस्करी अहिले पनि ज्यूँका त्यूँ निर्वाध रुपमा चलिरहेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीका घुमुवाको मिलेमतोमा बाँके तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । बाँके जिल्लाका साना ठूला सबै नाकाबाट तस्करसँग सशस्त्र र जनपद प्रहरीका घुमुवाले लाइन मिलाएर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् । चाडपर्व नजिकिँएसँगै जिल्लामा तस्करी अचाक्ली बढेको छ ।

तस्करहरुसँग असुलीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घुमुवा टोली नै परिचालन गरेका छन् । कानूनतः घुमुवा प्रहरी परिचालन गर्न पाइँदैन । तर, बाँकेमा सशस्त्र र नेपाल प्रहरीले सूचना संकलनका नाममा घुमुवा प्रहरी परिचालन गरी असुली गर्दै आएका छन् । भन्सार क्षेत्रमा नेपाल प्रहरीका सहायक हवल्दार भीम थारु असुली सक्रिय छन् ।

जयसपुरका भुरे भनिने खसी तस्कर, दुब्बर भनिने खसी र कुखुरा तस्कर लगायतसँग हिमचिम बढाउँदै कमाउधन्दामा उनी केन्द्रीत भएको प्रहरी स्रोत बताउँछ । ‘भुरे र दुब्बर भनिने तस्करहरुलाई साथ दिँदै असुली धन्दामा संलग्न छन् । भीमले दुब्बर, भुरे, मामा भनिने तस्करसँग खसी मागेको चर्चा प्रहरी कर्मचारीहरुबीच फैलिएको छ ।’

चाडपर्वका बेला खसी मागेर जिल्लासम्म पठाउँदै आएका उनी जिल्लाकै एक जना प्रहरी अधिकृतको संरक्षणमा रहेको बुझिएको छ । मामा भनिने भारतीय खसी तस्करसँग पनि ‘नजराना’ उठाउँदै आएका प्रहरी सहायक हवल्दार भीम कोहलपुर र नेपालगन्ज महिला तस्करहरुको सामान बोर्डर पास गराउन पनि सक्रिय हुँदै आएको खुलेको छ ।

भीमले हरेक चाडपर्वका बेला खसी, कुखुरा, माछा माग्ने उपल्ला तहका अधिकृतहरुसम्म पुर्याउँदै आएको पनि प्रहरी स्रोतले बतायो । सशस्त्रका घुमुवाले तस्करीसँग असुल्न्छन् भने नेपाल प्रहरीका घुमुवाले यौनधन्दा चलाउने होटलदेखि तस्करहरुसँग असुली गर्छन् । सही कामका लागि गोप्य सूचना संकलन गर्ने घुमुवाले जिल्लामा तस्करी र असुली मच्चाएका छन् ।

वडा प्रहरी कार्यालय नेपालगन्जमा पनि घुमुवा प्रहरीको आतंक बढिरहेको छ । चार–पाँच बर्षदेखि वडा प्रहरी कार्यालय नेपालगन्ज मातहत घुमुवा प्रहरीका रुपमा काम गरिरहेका हुसेन नाम गरेका प्रहरी हवल्दार र प्रहरी जवानद्वय पुष्प भुजेल र मञ्जु यादवको कार्यशैली पनि घुमुवा प्रहरीको उद्देश्यभन्दा ठीक विपरित रहेको कार्यालय स्रोतको भनाई छ ।

उनीहरुको जिम्मेवारी नै सूचना संकलनभन्दा हाकिमलाई रिझाएर असुलीमा केन्द्रीत हुनु हो । घुमुवाहरु तस्करी चोरी तस्करी र अपराध नियन्त्रणका लागि नभई उनीहरु उपले दर्जाका हाकिमहरुको सुसारेका रुपमा बढी केन्द्रीत छन् । वडा प्रहरी कार्यालयमा जति हाकिम फेरिए पनि उनीहरु फेरिँदैनन् । ‘बरु हाकिम फेरिएलान्, घुमुवा फेरिँदैनन्,’ प्रहरी स्रोतले भन्यो ।

अचम्म त के छ भने, सीमा सुरक्षामा खटिने सशस्त्रका वीओपीहरुले समेत घुमुवा राखेका छन् । प्रहरीको त कुरै छाडौं, गाउँमा रहेका चौकीदेखि इलाका र जिल्लासम्मै घुमुवा परिचालित छन् र उनीहरुकै असुली धन्दा विगविगी छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

यता सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणका गणपति विमल डाँगीले तस्करीबारे अनभिज्ञता प्रकट गर्दै तस्करी भइरहेको हल्ला सुनिए पनि हालसम्म लसुन तस्करी भएको फेला नपरेको बताए । सो गण अन्तरगत दुई वटा गुल्म, नौं वटा बोर्डर आउट पोष्ट (विओपी) र विभिन्न कार्यालय, भन्सार, कारागार, आयल निगम लगायतमा पाँच वटा सुरक्षा वेश रहेका छन् ।

असुली धन्दामा अदृष्य ‘घुमुवा’

सशस्त्रका वीओपीदेखि प्रहरीका चौकीसम्म घुमुवा प्रहरी असुलीमा मस्त छन् । उनीहरुले जिल्लाको सबै नाकाबाट हुने तस्करीमा साथ दिएका छन् । माथिल्लो निकायमा लाइन मिलाएर लामो समयदेखि एकै ठाउँमा बसेर हाकिमको मात्रै नभएर माथिल्लो निकायका अधिकृतको स्याहार गर्ने जिम्मेवारी पाएका घुमुवाहरु सशस्त्र र नेपाल प्रहरीभित्रका ‘अदृष्य डन’ हुन् ।

सशस्त्र र नेपाल प्रहरीमा यीनै ‘अदृष्य डन’हरुको असुली धन्दा अचाक्ली छ । उनीहरुले जिल्लाका सबै ठाउँबाट असुली गरिरहेका छन् । उनीहरुले सीमा क्षेत्रमा हुने तस्करी, काठ, गिटी, बालुवा, यौनधन्दा हुने होटल लगायत तस्करहरुसँग मिलेर असुली गर्छन् । तस्करहरुले साइकल, मोटरसाइकल, ट्याक्टर, मिनीट्रकमै तस्करी गर्दै आएको प्रत्यक्षदर्शी बताउँछन् ।

तस्करहरुले सशस्त्र र नेपाल प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन् । भारतसँग सीमा जोडिएका बाँकेका सबैजसो नाकाबाट तस्करी हुने गरेको छ । अहिले सबैभन्दा बढी बेलडाँडा, बढैया र शिवपुरी नाकाबाट लसुन तस्करी भइरहेको छ । उताबाट मोबाइल, कपडा र हार्डवेयर बढी मात्रामा तस्करी हुने गरेको छ ।

यस्तै, सीमावर्ती भारतीय बजार अलिगवासँग जोडिएको कटकुइँयाको सुइया बघौडा, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहसँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निमियासँग जोडिएको हिरमिनियाको भङ्घोटन र रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर क्षेत्रमा रहेका नाकाहरुबाट तस्करी धेरै हुन्छ ।

बाँकेमा भारतबाट नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर, सूर्ती हो । यस्तै, मोटर पार्टस्, ब्याट्री, खसीबोका, भैंसी, काजु किसमिस, चिनी, किराना समान लगायत तस्करी हुन्छ । सीमा क्षेत्रमा तस्करहरुले गोदाम बनाएका छन् । नेपाली भित्रिने तस्करीको सामान नेपालगन्ज बाहिरका शहरसम्म पनि पुग्ने गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १२:२४

लोकप्रिय