सूचनाको शक्ति - The Power Of Information

        

सवारी दुर्घटनाको जोखिम

नेपालगन्जको ट्राफिक व्यवस्थापन अस्तव्यस्त, ट्राफिक प्रहरीको ध्यान असुलीतिर

गतिलो ट्राफिक व्यवस्थापन नहुँदा यतिबेला नेपालगन्ज उपमहानगरका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तव्यस्त हुँदै गएका छन् ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र रहेको नेपालगन्जको ट्राफिक व्यवस्थापन निकै कमजोर देखिएको छ । नेपालगन्जका मुख्य बजार क्षेत्रका सडकमा सवारी जाम बढ्न थालेपछि सवारी दुर्घटनाको जोखिम बढेको छ । नेपालगन्जका मुख्य बजारका सडकको दायाँबायाँ मनपरी गरिने पार्किङले ट्राफिक व्यवस्थापन निकै फितलो छ ।

नेपालगन्जको त्रिभुवन चोक, गणेशमान चोक, चारबाहिनी, भेरी अस्पताल चोक, विपी चोक, धम्बोझी चोक, घरबारी टोल, त्रिवेणी मोड लगायतका सडक क्षेत्रमा जथाभावी हुने पार्किङले ट्राफिक व्यवस्थापनलाई गिज्याइरहेको छ । बजार क्षेत्रमा किनमेल गर्नेदेखि सरकारी कार्यालयका सेवाग्राही हिँड्डुल गर्दा मुख्य सडक छेउमा सवारी पार्किङ गर्ने क्रम बढेको छ ।

पसल, अस्पताल, बैंक, विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयसमेत रहेको नेपालगन्जमा सडकसँग जोडिएका व्यावसायीक प्रतिष्ठान तथा अस्पतालले पार्किङ क्षेत्र नबनाएकोले सडक क्षेत्र अतिक्रमण भइरहेको छ । पछिल्लो समय अटोरिक्साले थप जटिलता निम्त्याएका छन् । नेपालगन्जमा ३० हजार बढी अटोरिक्सा सञ्चालनमा रहेको अनुमान छ ।

नेपालगन्जका मुख्य बजारमै केन्द्रित हुने भएकोले अटोरिक्साले सवारी चाप बढाएका छन् । मोटरसाइकल र साना सवारी पार्किङका लागि स्थान छुट्टयाए पनि कार्यान्वयन नहुँदा समस्या भएको छ । अटोरिक्साको वृद्धिसँगै कमजोर ट्राफिक व्यवस्थापनले समस्या थपिएको छ । अधिकांश अटोरिक्सा चालकसँग चालक अनुमति पत्र पनि छैन ।

निजी प्रयोजनका लागि भन्दै लिएका अटोरिक्साहरुले समेत धमाधम यात्रु बोक्न थालेका छन् । मापदण्ड बिनै चलेका अटोरिक्साका कारण सडक दुर्घटनाको जोखिम उच्च छ । नेपालगन्जमा जहाँ पायो त्यहीँ यात्रु चढाउने र ओराल्ने गरेका छन् । नेपालगन्जको ट्राफिक अव्यवस्थित हुने गरी रिक्साहरु पार्किङ्ग गरिन्छ ।

सवारी चालक अनुमपति पत्र लिनुपर्ने, यात्रु दुर्घटना बिमा हुनुपर्ने, ट्राफिक नियम पालना गर्नुपर्ने, जहाँ पायो त्यहीँ रोकेर यात्रु भर्ना नपाइने लगायतका मापदण्डहरु अधिकांश अटोरिक्सा व्यवसायी तथा चालकहरुले पालना गरेका हुँदैनन् । ट्राफिक प्रहरीको निगरानी अभावले यहाँ ट्राफिक नियम पालना गर्ने चालकको संख्या निकै कम देखिन्छ ।

ट्राफिक निगरानी कमजोर हुँदा सडक दुर्घटनासमेत बढिरहेको नेपालगन्ज–१० का जनक बुढा बताउँछन् । ट्राफिकले कडा निगरानी नराखेकै कारण दुर्घटना बढिरहेको उनको आरोप छ । पछिल्लो समयमा अटोरिक्सा यात्रुका लागि सजिलो यातायातको साधन बनेको छ । यात्रुलाई सहज भए पनि अटोरिक्साले दुर्घटनाको जोखिम बढाएको छ ।

दुर्घटना बिमा नै नभएका अटोरिक्सा, लाइसेन्स नभएका चालक र अन्य सवारी साधनले मुख्य सडक क्षेत्रमै जथाभावी पार्किङ्ग गर्दासमेत ट्राफिक प्रहरीले नजर पुर्याउन नसक्दा जिल्लाकै ट्राफिक व्यवस्थापन कमजोर देखिएको छ । ट्राफिक प्रहरी पोष्ट नेपालगन्जको इन्चार्ज पाएका प्रविण आचार्यले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सकेका छैनन् ।

इन्चार्जको जिम्मेवारी पाएसँगै उनी असुली र सेटिङ्गमा माहिर देखिएका छन् । इन्चार्ज आचार्यले नेपालगन्जमा ट्राफिक व्यवस्थापनमा भन्दा टिप्पर, ट्रक तथा भारतीय नम्बर प्लेटका सवारीबाट रकम असुली गर्नेतर्फ बढी ध्यान दिएको स्रोत बताउँछ । गतिलो ट्राफिक व्यवस्थापन नहुँदा यतिबेला नगरका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तव्यस्त हुँदै गएका छन् ।

नेपालगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापन दिनप्रतिदिन अस्तव्यस्त भइरहेको छ । पैदल यात्रीलाई हिँडडुल गर्नसमेत अप्ठेरो छ । विशेषगरी नेपालगन्जको सदरलाइन, त्रिभुवन चोक, सेतु विक चोकदेखि सुर्खेतरोड जाने बाटो, भेरी अस्पताल लगायतका क्षेत्रमा उचितरुपमा ट्राफिक व्यवस्थापन हुन सकेको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १७:०७

लोकप्रिय