सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका १७७ जनाको विदेशी भूमिमा मृत्यु

जिल्ला प्रशासन कार्यालय बाँकेमा रहेको आप्रवासी स्रोत केन्द्र ।

बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला छन् । आर्थिक वर्ष २०६८–०६९ देखि चालु आर्थिक वर्ष २०८०–०८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका १७७ नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको हो ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाँकेका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले नेपालमा सामी कार्यक्रम सञ्चालन भए यता आर्थिक वर्ष २०६८–०६९ देखि चालु आर्थिक वर्ष २०८०–०८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका नागरिकको विदेशी भूमिमा मृत्यु भएको बताए । यसवर्ष मात्र २३ जनाको मृत्यु भएको छ ।

अधिकृत वलीका अनुसार वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाको १८ जना, खजुरा गाउँपालिकाका २५, वैजनाथ गाउँपालिकाका १५, कोहलपुर नगरपालिकाका १८, राप्तीसोनारी गाउँपालिकाका ५, नरैनापुर गाउँपालिकाका ५, डुडुवा गाउँपालिकाका ६ र जानकी गाउँपालिकाका ६ गरी ९८ जनाको ठेगाना उल्लेख छ । बाँकी ७९ जना बाँकेकै भए पनि कुन पालिकाका हुन भन्ने उल्लेख नभएको जानकारी दिए ।

वैदेशिक रोजगार बोर्डमा आर्थिक सहायताका लागि बाँकेबाट उक्त सङ्ख्याका मृतकका परिवारले निवेदन दिएका छन् । सबैभन्दा बढी मलेसियामा ६१ जना नेपाली कामदारको मृत्यु भएको छ । त्यसपछि साउदी अरबमा ५४ जना, कतारमा ३० जना, युएईमा १४ जना, युनाइटेड अरब इमिरेट्समा ६ जना, कुवेतमा ४ जना, बहराइनमा ३ जना, नेपालमा २ जना, क्रोसियामा २ जना, र अफ्गानिस्तानमा १ जनाको मृत्यु भएको उनले बताए ।

नेपालमा मृत्यु भएका दुई जना भने श्रम स्वीकृतिभित्र नेपाल आएर मृत्यु भएका नागरिक हुन् । क्यान्सर, कोभिड लगायतका विभिन्न रोगबाट ४९ जना, प्राकृतिक मृत्यु भएका ४१ जना, हृदयघातबाट ३० जना, सडक दुर्घटनाबाट २३ जना, आत्महत्या गरेका १३ जना, अन्य कारणबाट ११ जना, कार्यस्थलमा दुर्घटनाबाट ८ जना र मृत्युको कारण थाहा नभएका २ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय आत्महत्या गर्ने सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको उनले बताए । फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा नेपालबाट विदेश काम गर्न गएका नेपाली दाजुभाइ र घरमा रहेका उनीहरुका परिवारका बारेमा नकारात्मक सन्देश फैलाउने भएकाले आत्महत्या गर्ने गरेको पाइएको उनको भनाइ छ । पर्याप्त सूचना अभावका कारण विदेशमा मृत्यु भएका, घाइते भएका तथा घरमा रहेका उनहिरुका घरपरिवारले प्राप्त गर्ने सेवा सुविधाबाट अधिकांश नागरिक वञ्चित छन् ।

सूचना पहुँच पुगेपछि सेवा सुविधा लिने नागरिकहरु बढ्दै गएको उनले बताए । वैधानिकरुपमा श्रम स्वीकृति लिएर विदेश गएका नेपाली नागरिकको मृत्यु भएमा सात लाख रुपियाँ वैदेशिक रोजगार बोर्ड र १४ लाख रुपैयाँ बिमा कम्पनीबाट उनका परिवारले क्षतिपूर्तिवापत पाउने व्यवस्था रेहेको वलीले जानकारी दिए । श्रम स्वीकृति लिएर गएका तर म्याद समाप्त भएकाको हकमा भने केवल २५ हजार रुपियाँ मात्र पाउने व्यवस्था रहेको उनले बताए । उनका अनुसार काम गर्ने क्रममा कामदारलाई कुनै रोग लागेर विरामी भएमा वा अन्य कारणबाट घाइते भएमा सात लाख रुपैयाँसम्म औषधि उपचार खर्च पाउने सुविधा छ ।

त्यसैगरी विदेश गएका नागरिकको नेपालमा रहेका घरका सदस्य बिरामी भएमा औषधी उपचार खर्च पाउने व्यवस्था छ । विदेश गएका नागरिकका नेपालमा रहेका घरपरिवारका सदस्यलाई क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर र पार्किन्सन गरी पाँच वटा रोग लागेमा ५० हजार रुपियाँसम्म उपचार खर्च उपलब्ध हुने व्यवस्था रहेको वलीले जानकारी दिए । सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराउने गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १५:०२

लोकप्रिय