देशका अधिकांश ठाउँमा शुक्रवार रातीबाट जारी अविरल वर्षका कारण शनिवार मध्यान्हसम्म दुई जनाको बेपत्ता भएको र कैयौँ ठाउँमा घर, पूर्वाधार तथा राजमार्गहरूमा क्षति भएको अधिकारीहरूले बताएका छन् ।
प्रहरीका अनुसार दोलखा र दाङमा बाढीमा परेर दुईजना बेपत्ता भएका छन् । दाङको लमहीस्थित राप्ती नदीमा बगेर एकजना बेपत्ता भएको र दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । लमही बजारमा बिहान दूध बेचेर फर्किएका राजपुरका तीनजना कृषक राप्ती नदी तर्ने क्रममा बाढीमा फसेका थिए ।
नदीको बीचमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरे तापनि एक जनालाई बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले शनिवार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
बाँकेमा राप्ती नदीमा पानीको सतह उच्च तहमा पुगेको भन्दै चेतावनी जारी गरिएको छ । गएराति दाङ र प्युठान जिल्लामा परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढिरहेकोले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।
यता दोलखाको गौरिशङ्खर हिमालको फेदबाट गएको पहिरोले स्थानीय खोला थुनेपछि आएको बाढीमा एकजना स्थानीय बेपत्ता भएका छन् । प्रहरीका अनुसार तटीय क्षेत्रमा पानीको वहाव बढेपछि होटेलको सामान सार्ने क्रममा स्थानीय ६४ वर्षीय महिलालाई खोलाले बगाएको थियो ।
बाढीले गौरीशङ्कर गाउँपालिकामा तीनवटा घर बगाएको र खोला छेउका मानिसहरू घर छोडेर सुरक्षित ठाउँमा बसिरहेको प्रहरीले जनाएको छ । काठमाडौंको नागार्जुन नगरपालिका सिङ्गल ट्री नजिक एउटा रेस्टुराँको भान्सा कोठा पहिरोले पुरिँदा हेल्परको काम गर्ने एकजना गम्भीर घाइते भएका छन् ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार राजधानी काठमाण्डूमा पनि बाढीका कारण नदीका तटीय क्षेत्रमा जोखिम देखिएको छ । ‘नदी किनारमा पर्खाल नलगाइएका ठाउँहरूमा राजधानीमा पनि कटान र डुबानको समस्या देखिएको छ,’ उनले भने ।
भक्तपुरमा हनुमन्ते खोला र काठमाण्डूको दक्षिणी क्षेत्रमा बागमती खोला आसपासका बस्तीसम्म पुगेको विवरण आएका छन् । जल तथा मौसम विज्ञान विभागले हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको, बढ्दो क्रममा रहेको र सो जलाधारमा थप वर्षा हुने सम्भावना रहेको भन्दै हनुमन्ते खोला र यसका सहायक नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ ।
गृह मन्त्रालयका भुसालले देशभरका कैयौँ राजमार्ग र स्थानीय सडकहरूमा अवरोध हुने र खुल्ने क्रम चलिरहेको बताए । राष्ट्रिय समाचार समितिका अनुसार पहिरोका कारण सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग आंशिक रूपमा मात्रै सञ्चालनमा छ ।
त्यस्तै सिन्धुलीमा गएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ भने मध्यपहाडी राजमार्गमा पनि विभिन्न स्थानमा पहिरोले आवतजावत प्रभावित भएको छ । ‘राष्ट्रिय र प्रदेश स्तरका राजमार्गहरूमा अवरोध खुलाउन उपकरण सहितको टोलीहरू ठाउँ ठाउँमा तयारी अवस्थामा राखिएका छन्,’ गृह मन्त्रालयका सहसचिव भुसालले भने ।
निरन्तरको वर्षाका कारण कतिपय ठाउँमा सडक खुलाउने कामहरू पनि प्रभावित भएका छन् । राससका अनुसार हेटौँडाबाट काठमाण्डू जोड्ने सडक मार्गहरू पनि अवरुद्ध बनेका छन् । सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था नरहेको प्रशासनले जनाएको छ ।
त्यस्तै महालक्ष्मी खोलामा पहिरो गएका कारण भीम फेदी–फाखेल–माता तीर्थ सडक खण्ड र ललितपुरको भट्टेडाँडा नजिक गएको पहिरो गएका कारण कान्ति राजपथ पनि शनिवार बिहानैदेखि अवरुद्ध रहेको राससले जनाएको छ । त्यस्तै पहिरोका कारण बेँसी सहर–चामे सडक र बाढीका कारण घोराही–तुलसीपुर सडक सडक पनि अवरुद्ध भएको छ ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भुसालले पछिल्लो सुख्खा याममा सडकहरू खोलिएका कैयौँ ठाउँमा पहिरो गएको विवरण आएको बीबीसीसँग बताए । राससले कर्णाली राजमार्गको कालिकोट सडक खण्डमा पहिरो खस्दा सुर्खेतबाट जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएको जनाएको छ ।
त्यस्तै बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो खसेका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको र गाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन बाटोमै रोकिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले संवेदनशीलताका आधारमा सतर्क रहन देशभरका प्रहरी एकाइहरूलाई निर्देशन दिइएको बताए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ । यो क्षेत्रमा जल सतह बढ्दो क्रममा रहेकोले बाँके जिल्लाको नदी तटीय क्षेत्रमा शनिवार साँझसम्म उच्च सतर्कता अपनाउन विभागले अलर्ट गरेको छ ।
त्यस्तै नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । यहाँ पनि बाढी बढ्दो क्रममा रहेको र थप बढ्ने देखिएको भन्दै नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम औँल्याइएको छ । चितवनस्थित बीबीसी संवाददाता इश्वर जोशीले नारायणी नदीको जल सतह निरन्तर बढिरहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बहने नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी जारी गरेको छ ।
त्यस्तै शनिवार र आइतवार बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अधिकारीहरूले सूचना जारी गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं