सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीको १०औँ महाधिवेशन

कसको विचार, कसको नेतृत्व ?

जसको नीति उसको नेतृत्व अपनाउने हो भने कमरेड घनश्याम भूसाललाई नै नेतृत्वमा स्थापित गर्नुको विकल्प छैन ।

कम्युनिस्ट पार्टीहरुमा ‘जसको विचार, उसकै नेतृत्व’ निकै चर्चित भनाइ हो । हुनपनि कम्युनिस्ट पार्टीहरु विचारलाई प्रधान मान्दछन्, व्यक्तिलाई गौण । कम्युनिस्ट आन्दोलनका मुख्य विचारक कार्ल माक्र्स बितेको करिब डेढ सताब्दी बितिसक्दा पनि माक्र्सको विचार अनुसरण गर्ने र समाज परिवर्तनको लक्ष्य बोकेर क्रान्तिको लागि बलिदान दिन तयार हुने करोडौं मान्छेहरुको लामबद्धता यो धर्तीमा अझै जारी छ ।

विचार अनुसारको नेता भएन भने आन्दोलनले अनेकौं संकटहरु व्यहोनुपर्ने हुन्छ । जस्तो कि, नेकपाको दोस्रो महाधिवेशनले विचार पुष्पलालको पारित गर्यो भने नेतामा केशरजंग रायमाझीलाई निर्वाचित गर्यो । जसको कारण, पछि गएर नेता केशरजंग रायमाझीले कम्युनिस्ट आन्दोलनलाई दरबारमा लगेर बुझाएको,कम्युनिस्ट आन्दोलन ध्वस्त बनाएको इतिहास छ । इतिहास भनेको घटिसकेको घटना मात्रै हैन बरु यो त भविष्यको लागि शिक्षा समेत हो । किनकि, ठीक त्यस्तै घटना नेकपा एमालेको नवौं महाधिवेशनमा फेरि पर्दार्पण भयो ।

महाधिवेशनमा कमरेड झलनाथ खनाल नेतृत्वको दस्तावेज कमिटीमा कमरेड केपी ओली भन्दा फरक समूहको विचार पारित भयो भने नेतृत्वमा चाहिँ केपी ओली निर्वाचित हुनुभयो । अनि, पछि गएर ओलीले महाधिवेशनको विचार अनुसार पार्टी चलाउने हैन बरु उहाँले संसद विघटन गर्ने, पार्टीलाई हुल्लडबाजहरुको क्लब बनाउने, कम्युनिस्ट आन्दोलनलाई तितरबितर पार्ने र आफ्नो मनमौजी पूरा गर्ने यन्त्रको रुपमा पार्टीलाई कब्जा गर्नुभयो । किनकि, पार्टीको विचार उहाँको थिएन नेतृत्व मात्रै उहाँको थियो ।

नवौं महाधिवेशनमा विचार ओलीको थिएन भने विचार कसको थियो ? नेतृत्वमा माधव नेपाल पराजित हुनुभएको थियो भने त्यो विचार उहाँको थियो त ? दस्तावेज कमिटीको नेतृत्व झलनाथ खनालले गरेका थिए भने के त्यो विचार झलनाथको थियो त ? त्यसो भए झलनाथ आफ्नो विचार पारित भएपछि नेतृत्वमा किन उठेनन् ? यस्ता प्रश्नको सही उत्तर खोज्न वा जान्न सकिएन भने अलमल हुन्छ र जसले जे भन्यो त्यही ठीक हो कि जस्तो भान पर्न थाल्छ ।

नवौं महाधिवेशनको विचारको मूल विषय केवल नवौं महाधिवेशनमा उठेका विचारहरु थिएनन् बरु त्यो त आठौं महाधिवेशन ‘पूरक प्रस्ताव’को निरन्रता थियो । जुन पूरक प्रस्तावको जननी मूख्यतः घनश्याम भूसाल र उनको समूह थियो । घनश्याम भूसालको समूहमा केन्द्रीय सदस्य पनि नरहेकाहरुको बाहुल्यता थियो, त्यसैले त्यो समूहले उठाएको विषय महाधिवेशनमा धेरै चर्चापरिचर्चाको विषय बन्न सकेन । बरु त्यो दस्तावेजको विचारहरुले नवौं महाधिवेशनमा फेरि टाउको उठाएको थियो, ठाउँ पाएको थियो ।

के थियो त्यो दस्तावेजको विचार ? नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नो स्थापनाकालदेखि भन्दै आएको के थियो भने, नेपाली समाज अर्धसामन्ती अर्ध औपनिवेशिक समाज हो, यस्तो समाजमा अर्धसामन्ती शोषण–दमनको विरुद्धमा गरिने क्रान्ति भनेको जनवादी क्रान्ति हो । जनवादी क्रान्तिले नेपाली समाजको अन्तरविरोध रहेको सामन्तवादको अन्त्य गरेर जनवादी सत्ता स्थापना गर्ने हो । कम्युनिस्ट आन्दोलनले स्थापनाकाल देखि भन्दै आएको कुरामा अब फेरबदल आएको छ, त्यस अनुसार हामीले फेरिएको अवस्था अनुसारको क्रान्तिको बाटो बनाउनुपर्छ भन्ने घनश्याम भूसालहरुको त्यो दस्तावेजको मूल विषय थियो ।

फेरिएको अवस्था के थियो ? र बनाउनुपर्ने क्रान्तिको बाटो के हो ? उक्त दस्तावेजको मूल विचार के थियो भने २०६२–०६३ को जनक्रान्तिले आधारभूत रुपमा कम्युनिस्टहरुले भन्दै आएको ‘जनवादी क्रान्ति’को कार्यभार पूरा गरेको छ । नेपाली समाज पनि अब स्थापनाकालमा भने जस्तो ‘अर्धसामन्ती’ रहेन, बरु यो बदलिएर ‘दलाल पूँजीवादी’ चरित्रको भएको छ । त्यसो हुँदा अब नेपाली समाजको अन्तरविरोध समेत बदलिएको छ । त्यसकारण दलाल पूँजीवादको विरुद्धमा ‘समाजवादी क्रान्ति’ नै आजको कम्युनिस्ट आन्दोलनको मूल बाटो हो ।

त्यसकारणले, जनवादी क्रान्तिको कार्यदिशा र कार्यक्रम बोकेको ‘जनताको बहुदलीय जनवाद’ले आफ्नो कोर्स पूरा गरेको हुनाले यसको च्याप्टर क्लोज भयो । त्यसकारण, अब हामीले समाजवादी क्रान्तिको कार्यदिशा र कार्यक्रम बनाएर मात्रै कम्युनिस्ट आन्दोलन अघि बढ्न सम्भव छ । नवौं महाधिवेशनले नेपाली समाजको अन्तरविरोध अब अर्धसामन्ती नरहेर दलाल पूँजीवाद हो भन्ने विचारलाई पारित गर्यो । अब जनवादी क्रान्ति नभएर समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने विचारलाई पारित गर्यो । तर, समाजवादी क्रान्तिको कार्यदिशालाई प्रष्ट बनाउँदै बृहत कार्यक्रम भने निर्माण गर्न सकेन ।

नवौं महाधिवेशनमा बाँकी रहेको त्यो कामलाई दशौं महाधिवेशनबाट पूरा गर्दै एकीकृत समाजवादीले आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्नुपर्नेछ । एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गरिने चार वटा दस्तावेजहरु, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादी कार्यक्रम र पार्टी विधानमा उल्लेख गरिएको मूल विषय र कार्यदिशा भनेकै घनश्याम भूसालहरुले आठौंमा पेश गरेको दस्तावेजका मूल विचारहरुको निरन्तरता हो जून नवौं महाधिवेशनबाट पारित गरिएको थियो तर केही पूर्णता बाँकी थियो ।

यसर्थ, आजको नेकपा एकीकृत समाजवादीको मूल विचार भनेको कमरेड घनश्याम भूसालकै विचारहरु हुन् । जसलाई पूर्णतासहित अघि बढाउने र पारित गर्नुपर्नेछ । त्यसो हुँदा दशौं महाधिवेशनमा, कसको विचार ? कसको नेतृत्व ? भन्ने मूल प्रश्नलाई निराकरण गर्न सकेनौं भने एकथान महाधिवेशन गर्ने र एकथान नेता चुन्ने कर्मकाण्डीय महाधिवेशन न ऐतिहासिक हुनेछ न विशेष हुनेछ । यसले, आज नेपाली समाजमा व्याप्त रहेको राजनीतिक निराशालाई चिर्न सक्दैन, बाटो दिन सक्दैन । कतिपयले, नवौं महाधिवेशनमा केपी ओली विरुद्ध माधव नेपाल अध्यक्षमा उठ्नु भएको थियो त्यसैले नवौंको विचार माधव कै हो, त्यसको निरन्तरता नै दशौंको विचार हो भन्ने उरन्ठेउला तर्क गर्दछन् ।

वस्तुतः अवस्था त्यस्तो थिएन, होइन । नवौंको दस्तावेज कमिटीको प्रमुख तत्कालीन पार्टी अध्यक्षको रुपमा झलनाथ खनाल हुनुहुन्थ्यो भने घनश्याम भूसाल सदस्य हुनुहुन्थ्यो । सदस्य घनश्याम भूसालले आठौं महाधिवेशनमा पूरक प्रस्तावमा उठाउनुभएको विचारलाई नै उहाँले दस्तावेज कमिटीमा राख्दा त्यो विचारमा बहुमत पुग्ने भएपछि केपी समूहले समेत आत्मसमर्पण गर्नुपरेको थियो । किनकि, दस्तावेज कमिटीको सदस्य वामदेव गौतम घनश्यामको विचारसँग सहमत थिए तर नेतृत्वमा केपीले वामदेवको समर्थन चाहेका थिए । त्यसैले ओली समूहले वामदेवलाई नचिढ्याउने रणनीति अनुरुप दस्तावेजमा खासै रस्साकस्सी नगर्ने नीति लिएको थियो ।

तदनुरुप, घनश्याम भूसालको विचार पारित भयो भने, नेतृत्व चाहिँ घनश्यामहरुले उठाएका माधव नेपाललाई हराउँदै वामदेवको सहयोगमा ओलीले हत्याउन सफल समेत भए । वस्तुतः माधव नेपाललाई घनश्यामहरुको विचार के हो ? त्यो सँग खास चासो पनि थिएन । उहाँले नै प्रकाशित गर्नुभएको घोषणापत्रमा समेत नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने एजेन्डालाई अघि सार्नुभएको थियो । बरु उहाँ त ‘जबज’ नै गजब भन्दै थिए । जुन सिलसिला केही अघि अनेम संघ (समाजवादी)को मूखपत्र विमोचनमा समेत जारी थियो, माधव नेपाल भन्दै हुनुहुन्थ्यो, जबजको हामी प्याटेन्ट राइट हौं, जबजको औचित्य सकिएको छैन ।

तर, नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा प्रस्तुत हुने चार वटै दस्तावेज मध्ये पनि, पार्टी अध्यक्ष माधवकुमार नेपालले नै प्रस्तुत गर्नुभएको ‘राजनीतिक दस्तावेज’मा समेत– नेपाली समाजको अन्तरविरोध दलाल पूँजीवादसँग रहेको र समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने निश्कर्ष निकालिएको छ । यतिमात्रै हैन, उक्त दस्तावेजको पाचौं बुँदामा–नवौं महाधिवेशनको निश्कर्ष र कार्यान्वयनको समीक्षामा समेत कतै ‘जनताको बहुदलीय जनवाद’को उल्लेख समेत छैन । वस्तुतः कमरेड माधव नेपालले बोले अनुसारको दस्तावेज नै छैन ।

उहाँले पनि विचारको पक्षमा भने नवौं महाधिवेशनमा केपी ओलीले जस्तै आत्मसमर्पण गर्नुभएको मात्रै हो । तथ्यहरुले यी सब चीज देखाइसकेपछि, कसैले ‘जसको नीति उसकै नेतृत्व’भन्छ भने त सिधा कुरा हो घनश्याम भूसालको नीति रहेछ उसकै नेतृत्व हुनुपर्दछ । किनकि, आजको नेकपा एकीकृत समाजवादीको नीतिको मूल स्रोत भनेको त घनश्याम भूसालहरुले आठौं महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेजको मूल विचार नै हो । यसर्थ, जसको नीति उसको नेतृत्व अपनाउने हो भने कमरेड घनश्याम भूसाललाई नै नेतृत्वमा स्थापित गर्नुको विकल्प छैन ।

अन्यथा, कम्युनिस्ट आन्दोलनमा नीति बिना नेता भएका केशरजंग र केपी ओलीको पुनरावृत्ति नहोला भन्न सकिन्न । जसलाई नीतिको बाल मतलब हुन्न तर पार्टीलाई सत्ता स्वार्थपूर्तिको साधन मात्रै बनाउने खेल मात्रै खेलिरहन्छ । यसर्थ, दुनियाँले नियालिरहेको नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रुपमा भव्य र सभ्य बनाउन, सिंगो कम्युनिस्ट आन्दोलनलाई मार्गदर्शन गर्ने महाधिवेशन बनाउन ‘जसको नीति उसको नेतृत्व’ स्थापित गर्न कमरेड घनश्याम भूसाललाई नै नेतृत्वमा स्थापित गर्नुको विकल्प छैन । सिंगो समाजवादीले यो ऐतिहासिक दायित्व पूरा गर्नुपर्नेछ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतवार १२:१२

लोकप्रिय