सूचनाको शक्ति - The Power Of Information

        

पर्वतीय पर्यटनका ७० वर्ष

नेपालमा महँगा पर्यटक भित्र्याउने माध्यम ‘हिमाल र हेलिकप्टर’

प्रायः हेलिकप्टर पहाडी तथा हिमाली क्षेत्रमा नै उडान गरिरहेका छन् । हिमालबिना हेलिकप्टर सर्भाइभ हुन नसक्ने र हेलिकप्टर बिना हिमालको पनि विकास हुन नसक्ने भएको छ ।

नेपालको पर्वतीय पर्यटन सुरु भएको ७० वर्ष पुग्दै गर्दा वर्तमान फेरिँदो छ । भविष्यका लागि नयाँ–नयाँ आयामहरू पनि अगाडि आइरहेका छन् । पछिल्लो समय नेपालको पर्वतीय पर्यटनमा हेलिकप्टरको भूमिका पनि बढिरहेको छ । नेपालमा पर्वतीय पर्यटन सुरु हुँदा एभिएसन थिएन । पैदलकै सहारामा अघि बढिरहेको पर्वतीय पर्यटनका साथै हिमाल आरोहीहरू आउने क्रमले नेपाल हिमालयको देशका रूपमा विश्वभर चिनियो ।

नेपालको हिमशृंखलाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै प्रमुख चिनारीको रुपमा रह्यो । हिमाली पर्यटनको विकास क्रममा हिमाल चढ्न र दृश्यावलोकनका लागि आउने पर्यटको संख्या बढ्दै गयो । यही क्रममा गएको १५–२० वर्ष अगाडिबाट नेपालमा हेलिकप्टर व्यवसाय पनि सुरु भयो । हेलिकप्टरको उद्देश्य पनि हिमाली भेगहरूमा सेवा गर्नु नै थियो । अहिले हेलिकप्टरको उद्देश्य दुईवटा छ । पहिलो त हिमाली रेन्जमा जान चाहने पर्यटकका लागि यातायातको साधनका रूपमा ।

हिमाली क्षेत्रमा हिँडेर जान सबैका लागि सम्भव हुँदैन । त्यो कार्य सामान्यका लागि पनि कठीन नै हुन्छ । त्यस्तो ठाउँमा गएर दृश्यावलोकन गर्न हेलिकप्टर नहुँदा पर्यटकहरू आएका थिएनन् । त्यसको प्रचार पनि भएको थिएन । अहिले त्यस्तो ठाउँमा विविध प्रचार पनि भइरहेको छ । त्यस्तो ठाउँमा जान चाहने पर्यटकले जान सक्ने तथा थाहा पाउने अवस्था बनेको छ । यसको एउटै माध्यम हो, हेलिकप्टर ।

नेपालका दुर्गम ठाउँमा रहेका विमानस्थलहरूमा पनि मौसमको प्रतिकुलताका कारण जहाजहरू उडान समयमै हुन नसक्ने तथा नजाने अवस्था थियो । त्यस्तो ठाउँमा पर्यटक लैजाने माध्यम हेलिकप्टर बन्यो । विदेशी पर्यटकहरू केही एकदमै सीमित समय लिएर आउने पनि हुन्थे । नेपाल आएपछि धेरै ठाउँ जान चाहनेहरूले हेलिकप्टर नै प्रयोग गर्न थाले । त्योभन्दा पनि ठूलो विषय त हिमालको काखमै गएर रमाइलो गर्न सक्ने माध्यम हेलिकप्टर बन्यो ।

धेरै खर्च गर्न चाहने पर्यटकलाई सेवा सुविधा पहिलो विषय हुन्छ । उनीहरूका लागि पैसा दोस्रो विषय हो । नेपालमा अहिले बढी खर्चालु पर्यटक हिमालमा जानेहरू नै छन् । यसको सुरुवात हेलिकप्टरबाट नै भएको हो । हेलिकप्टर नभएको भए लुक्ला, जोमसोम, डोल्पा लगायतका गन्तव्यमा बढी खर्चालु पर्यटक जान सक्ने अवस्था थिएन । हेलिकप्टरका कारण बढी खर्चालु पर्यटकका लागि नेपालको हिमाल लगायतका गन्तव्य रोजाइमा परेको छ ।

मुख्य रूपमा यो सम्भव भएको हिमालकै प्रचार भएपछि हो । यसले गर्दा नेपालको पर्यटनको विकास बढ्दो छ । ठूलो संख्यामा बढी खर्चालु पर्यटक हिमालसम्म पुग्ने माध्यम हेलिकप्टर भएका कारण उनीहरू नेपाल आइरहेका छन् । केही वर्ष अगाडिसम्म ५–७ वटा हेलिकप्टर पनि मुस्किलले चलेका थिए । अहिले नेपालमा ३०–३५ वटा हेलिकप्टर छन । सबैले नै यात्रु पाएका छन् । सहज रुपमा नै चलेका छन् । यसको पछाडिको पहिलो कारण हिमाल नै हो ।

त्यही भएर हिमाल र हेलिकप्टर सँगसँगै भनिँदै आइएको छ । यसैगरी नेपाल हिमाली पर्यटकीय हव हो र त्यो अझै विकास हुन्छ । यसमा नेपालका लागि राम्रो पक्ष के छ भने देशको सीमासँगै जोडिएका दुई छिमिकी राष्ट्र भारत तथा चीन आर्थिक हिसाबमा समृद्धिको उच्च बाटोमा छन् । युरोप अमेरिकनभन्दा पनि भारत र चीनका नागरिकहरू बढी खर्च गर्न सक्ने अवस्थामा पुगेका छन् । उनीहरूका लागि नेपाल आउनु भनेको एउटा मात्रै ढोका हो ।

चीन तथा भारतका ठाउँबाट एक–दुई घण्टामा त अहिले काठमाडौं आउन सकिने भएको छ । काठमाडौं आएको एक–दुई दिनमै हिमाल जान सक्छन् । जसका कारण पनि बढी खर्चालु पर्यटका लागि नेपाल राम्रो गन्तव्य बन्दै गएको छ । अब गन्तव्यको विकाससँगै पर्यटक बढीभन्दा बढी भित्र्याउनका लागि सरकारी तवरबाट पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्छ । नेपालले आफ्नो दुई छिमेकी देशबाट नै पर्याप्त पर्यटक भित्र्याउन सक्छ ।

यसका लागि राज्यले पनि सहज नीतिगत व्यवस्था गर्नुपर्छ । पर्यटकसँगै नेपालीकै कारण पनि हेलिकप्टर व्यवसाय फस्टाउँदो छ । सहज यातायातको साधन नभएको ठाउँमा दुर्घटना भयो, तत्काल अस्पताल लैजानु पर्ने भयो, त्यस्तो बेलामा हेलिकप्टर नै प्रयोग भएको छ । हिमाली क्षेत्रको अधिकांश क्षेत्र भिरालो नै भएको ठाउँ हो । पहिरो गएर बाटो बन्द हुने । बाटो खोलाले बगाइदिने जस्ता समस्यामा हेलिकप्टर नै काम लागेको छ ।

धेरै अप्ठ्यारो ठाउँमा यातायातको साधन पनि हेलिकप्टर नै बनेको छ । हामीलाई एउटा के अनुभव भएको छ भने कोभिडको समयमा विदेशी पर्यटक नेपाल आएका थिएनन् । यो बेलामा पनि हेलिकप्टर व्यवसायीले केही न केही व्यापार गरेका थिए । कोभिडको समयमा बिरामी उद्धार गर्ने काममा समेत हेलिकप्टर नै प्रयोग भएका थिए । जसका कारण व्यवसायलाई जीवित राख्न सहयोग नेपालीबाट नै भएको थियो ।

व्यवसायीले नाफा गर्न नसके पनि व्यवसायलाई त निरन्तरता दिएका थिए । यसको अर्थ नेपालीको खर्च गर्न सक्ने क्षमता बढेको छ । यी दुईवटा कारणले नेपालमा हेलिकप्टर लोकप्रिय भएको हो । हिमाली भेगका लागि र हिमालका लागि हेलिकप्टर अनिवार्य यातायातको साधन भएको छ । जहाजहरूले पनि काम त गरेका छन् तर त्योभन्दा पनि बढी चाहिँ हेलिकप्टरले काम गरेको छ । प्रायः हेलिकप्टर पहाडी तथा हिमाली क्षेत्रमा नै उडान गरिरहेका छन् ।

हिमालबिना हेलिकप्टर सर्भाइभ हुन नसक्ने र हेलिकप्टर बिना हिमालको पनि विकास हुन नसक्ने भएको छ । हिमाली तथा पहाडी भेगको विकासका लागि हेलिकप्टर नै चाहिएको छ । पछिल्लो समय स्टल उडान कम हुँदै जानाले पनि हेलिकप्टरको माग बढेको छ र आगामी दिनमा झन बढ्ने अवस्था छ । हेलिकप्टरसँग हिमाली तथा पहाडी क्षेत्रको विकास र पर्वतीय पर्यटन प्रवर्द्धनका लागि राज्यको तवरबाट केही गर्नुपर्नेछ ।

यसका लागि सबैभन्दा पहिले त सहज र एकरुपता हुने नीतिको आवश्यकता छ । तर हिजोका दिनमा भन्दा त राम्रो भएको छ । यसलाई थप सुधार गर्दै जाने हो । अहिले विस्तारै समयसापेक्षिक नीतिगत सुधार गरिरहेको छ । जस्तै हिजोको दिनमा जब दुर्घटना हुन्थ्यो तबमात्रै सुधारको कुरा राज्यबाट भएको थियो । अहिले त पहिले नै जोखिमको निर्क्यौल गरी काम गर्न परिपाटी पनि विकास भएको छ ।

अहिले नेपाल नागरिक उड्डयनमा योग्य कर्मचारी राखेर सुरक्षा लगातयको विषयमा पनि काम गर्ने परिपाटी विकास भइरहेको छ । प्राधिरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ लगायतका संस्थाहरूसँग सहकार्य गरेर सुरक्षा लगातयको विषयमा काम गरिरहेको छ । सेफ्टीलाई पहिलो प्राथमिकतामा राखेर अहिले प्राधिकरणले काम गरिरहेको छ । यसले पनि हेलिकप्टरको विकासमा सहयोग पुगेको छ ।

प्राधिकरणले हेलिकप्टर व्यवसायलाई हेरेर सुविधासम्पन्न हेलिप्याड निर्माणको काम पनि गरिरहेको छ । जसरी पछिल्लो समय हेलिकप्टर व्यवसायीलाई फेक रेस्क्यूमा जोडिएको छ । हेलिकप्टर व्यवसायबाट फेक रेस्क्यू भएको जस्तो मलाई लाग्दैन । काहिँकतैबाट भएको अवस्थामा राज्यले गलत गर्नेलाई कारबाही गर्नुपर्छ । गल्ती गर्नेलाई कारबाही गर्दा अरुलाई पनि सचेत हुने अवसर मिल्छ ।

नेपालमा आउने पर्यटकहरूलाई पनि नेपालमा गल्ती गर्नेलाई सरकारले कारबाही गर्छ भन्ने सन्देश जाँदा राम्रो नै हुन्छ । पर्यटन व्यवसायसँग जोडिएका कसैले पनि एकै पटकमा ठूलो लाभ लिन्छु भनेर हाम्रो प्रोडक्ट नै बदनाम गर्नतिर लाग्नु हुँदैन । प्रोडक्ट जति सुरक्षित छ भनेर विश्वभरी चिनाउन सकिन्छ त्यसबाट नै दीर्घकालसम्म फाइदा लिन सकिन्छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार ११:१२

लोकप्रिय