२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday
बलात्कार मुद्दामा सफाइ

सन्दीप लामिछाने निर्दोष ठहरिए, जिल्ला अदालतको फैसला उल्टियो

उच्च अदालतको फैसलापछि क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ जेठ २ गते बुधबार

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन पाउनेछन् ।

जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्च अदालतको फैसलापछि उनको टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ । फैसला गर्नुअघि न्यायाधीशहरुले काठमाडौँको होटलको सीसीटीभी फुटेज हेरेका थिए ।

प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार