सूचनाको शक्ति - The Power Of Information

        

विज्ञान र प्रविधि

७० लाखमा एप बेच्ने बर्दियाका २२ वर्षीय कर्ण, एप बनाएपछि आफैं चकित

जाभा प्रोग्रामिङमा बनाएको ‘पिकअप लाइन्स’ एक वर्षमा पाँच लाखभन्दा बढी डाउनलोड भइसकेको छ ।

बर्दियाको बाँसगढी नगरपालिका–५ का २२ वर्षीय कर्णबहादुर बुढाक्षेत्री । तस्वीरहरू : गोपेन राई

एसईईपछि कम्प्युटरतिर लागेका बर्दियाका २२ वर्षीय कर्णबहादुर बुढाक्षेत्रीले विदेशी कम्पनीलाई ७० लाखमा एप बेचेर परिवारलाई चकित पारेका छन् । मोबाइल वा ट्याब देखाउँदै स–साना बालबालिकालाई भात खुवाइरहेको दृश्य गाउँ–शहर जताततै देखिन्छ । स्क्रीनमा अभ्यस्त हुन थालेका बालबालिका कक्षा १–२ मा पढ्दै गर्दा मोबाइलका अम्मली बनिसकेका हुन्छन् ।

डेढ दशकअघि मात्रै पनि स्मार्टफोन सबैको पहुँचमा नहुँदा मोबाइलको दुनियाँ अहिले जस्तो रंगीन थिएन, श्यामश्वेत थियो । त्यति वेला नेपाली समाजमा नोकियाको ११०० सिरिजको ‘टुकटुके’ मोबाइलकै बोलबाला थियो । त्यही टुकटुके मोबाइल चलाउथे बर्दियाको बाँसगढी नगरपालिका–५ का कर्णबहादुर बुढाक्षेत्रीका बुवा भीमबहादुर बुढाक्षेत्री ।

‘केटाकेटी उमेरमा खेल्न पाएको बुवाको त्यही मोबाइलसँग हो,’ २२ वर्षीय कर्ण सम्झिन्छन्, ‘सधैं त खेल्न पाउँदैनथे, पाएको वेला सर्प दौडाउने खेल खेल्थें ।’ उनको जन्म हुँदा नेपालमा मोबाइल भित्रिएको दुई वर्ष मात्र भएको थियो । नेपाल टेलिकमले २०५६ सालदेखि पोस्टपेड सिमकार्ड वितरण थाल्यो भने २०६० सालदेखि प्रिपेड सिम ।

त्यसपछि भने मोबाइल व्यापक हुने थालेको हो । त्यही वेला कर्णका बुवाले टुकटुके मोबाइल भित्र्याएका थिए । स्कूल पढ्दै गरेका बालबालिकाले मोबाइल पाउने कुरा थिएन । कोभिड–१९ महामारीले व्यापक बनाइदिएको भर्चुअल कक्षाले गर्दा अहिले स्कूले बालबालिकासम्म मोबाइल पुगेको छ । कर्णले पनि एसईई सकेपछि मात्रै बुवाको पुरानो ‘सामसुङ–जे’ सिरिजको मोबाइल पाए ।

स्कूल सकेपछि उनी नेपालगन्ज हानिए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको तीन वर्षे कोर्सका लागि नेपालगन्ज टेक्निकल कलेजमा भर्ना भए । त्यसपछि डेल कम्पनीको आई–५ सिरिजको ल्यापटप पनि पाए । अनि शुरू भयो कर्णको आईटी दुनियाँसँग साक्षात्कार ।

कम्प्युटरमा घोत्लिन थालेको केही वर्षमै मोबाइल एप बनाउन थाले । ‘गुगल प्ले स्टोर’मा राखेका उनका एप केहीले डाउनलोड पनि गर्थे । पछिल्लो पटक बनाएको एपले त उनलाई नै चकित बनायो । ‘मैले बनाएको मोबाइल एप विदेशी कम्पनीले ७० लाखमा किन्यो,’ कर्ण सुनाउँछन् । कम्प्युटर प्रोग्रामिङमा रुचि राख्ने उनले एक वर्षअघि मोबाइल एप ‘पिकअप लाइन्स’ बनाएका थिए ।

एपमा चिजी, रोमान्टिक, क्युट, फन्नी आदि क्याटगोरीका ‘पिकअप लाइन’ रहेको उनी बताउँछन् । ‘जसलाई सजिलै कपी गरेर एसएमएस, इमेल वा मेसेन्जरमा प्रयोग गर्न सकिन्छ,’ कर्ण भन्छन् । एनरोइड ५.१ भन्दा पछिल्ला भर्सनमा चल्ने यो एपलाई सन् २०२२ नोभेम्बरमा ‘गुगल प्ले स्टोर’मा अपलोड गरेका थिए ।

शुरुआती दिनमा साथीभाइलाई एप डाउनलोड गरिदिन आग्रह गरेका थिए । चार महीनासम्म त खासै डाउनलोड भएन । अलिकति डाउनलोड भएबापत आउने रकम महीनाको ७०–८० डलर मात्रै आउने गरेको उनी सुनाउँछन् । पाँचौं महीनादेखि डाउनलोड दर बढ्न थाल्यो । महीनाको १० हजार पुग्न थाल्यो । केही महीनामै ५० हजार पुग्यो ।

पछि त दिनकै पाँच हजारसम्म डाउनलोड हुन थाल्यो । विशेष गरेर अफ्रिका र युरोपमा प्रयोगकर्ता बढ्दै गए । डाउनलोड बढ्दै जाँदा आम्दानी पनि विस्तारै बढिरहेको थियो । ‘जब डाउनलोडको दर महीनाकै दुई लाख पुग्यो, तब इजरायली कम्पनीले किन्ने रुचि देखायो,’ उनी भन्छन् । त्यतिन्जेल डाउनलोडबाटै दुई हजार डलर कमाइसकेका थिए ।

त्यसपछि आएको हो, इजरायली कम्पनी राउन्ड एआई लिमिटेडको ‘पिकअप लाइन्स’ एप खरीदको प्रस्ताव । दुई महीनाअघि मंसीर ७ मा राउन्ड एआईले २५ हजार डलरमा एप किन्न प्रस्ताव गर्यो । यो रकम उनको लागि थोरै त होइन, तैपनि विज्ञहरूसँग सल्लाह गरे । चिनजानका मान्छेले ‘बार्गेनिङ’ गर्न सल्लाह दिए, उनले त्यसै गरे ।

अन्ततः ५३ हजार डलरमा सम्झौता तय भयो । जस अनुसार, उनले ६७ लाख रुपैयाँ पाए । तीन लाख ५० हजार त सरकारलाई कर नै बुझाए । उनले जाभा प्रोग्रामिङमा बनाएको ‘पिकअप लाइन्स’ एक वर्षमा पाँच लाखभन्दा बढी डाउनलोड भइसकेको छ । जब आफ्नो एप विदेशीले किन्न लागेको आमाबुवालाई सुनाए, उनीहरूले पत्याएनन् ।

‘शुरूमा त उहाँहरूलाई लाग्यो, यसले ठट्टा गर्दैछ,’ उनी भन्छन्, ‘पछि जब साँच्चै हो भन्ने यकिन भयो, अनि छक्क पर्नुभयो ।’ हुन त उनले सानोतिनो कमाइ गर्न थालेको दुई–तीन वर्ष भइसक्यो । ‘पिकअप लाइन्स’ बनाउनुअघि यस्तै प्रकृतिका अन्य एप बनाएका थिए । जुन १० हजारदेखि ५० हजारसम्म डाउनलोड भएका थिए । एप बनाउनअघि पनि कम्प्युटरको काम गरेका थिए । जसबाट कमाइ भएको उनी सुनाउँछन् ।

‘मैले पहिलो पटक कम्प्युटरको काम गरेर १८ हजार कमाएको थिएँ,’ उनी भन्छन् । कोभिड–१९ को महामारीले बन्दाबन्दी भएका वेला उनले कक्षा ८ र ९ का विद्यार्थीलाई लक्ष्यित नेपाली विषयको एप बनाए । उनले बनाएका धेरै एपमा सबैभन्दा बढी डाउनलोड भएको कक्षा ९ को नेपाली विषयको गाइड हो । ‘त्यो एप बनाउँदा मलाई बडो आनन्द लागेको थियो र थप काम गर्न हौस्याएको पनि थियो,’ कर्ण भन्छन् ।

खाताको पैसा झिक्नै सकस

इजरायली कम्पनीलाई एप बेचेपछि उनको खातामा पैसा आयो । इस्क्रो डटकम मार्फत भएको कारोबारबाट ठूलो रकम आएपछि निकाल्न झन् सकस भयो । ‘विदेशबाट ठूलो रकम आएको देखेर ब्यांकले रोकिदियो,’ उनी भन्छन् । ब्यांंकका अधिकारीलाई कम्पनीसँग भएको सम्झौता लगायतको कागजात देखाउँदै असली कामको पैसा आएको हो भन्ने बुझाउनु समय लागेको उनी सुनाउँछन् ।

‘कतै गैरकानूनी सट्टेबाजीको पैसा हो कि भन्ने शंका हुँदोरहेछ । त्यो कुरा स्पष्ट पार्न एक साता लाग्यो,’ उनी भन्छन् । गुगल प्ले स्टोरमा रहेको उनको ‘काकी डेभलपर्स’ एकाउन्टमा एक दर्जनभन्दा बढी एप उपलब्ध छन् । उनले बनाएका एप्स् ५० हजारभन्दा बढी पटक डाउनलोड भएका पनि छन् । उनका केही चर्चित एपमा कक्षा ९ र कक्षा ८ को नेपाली गाइड बुक, नेपाली व्याकरण, नेपाली सामान्य ज्ञान लगायत छन् । जुन डाउनलोड भए अनुसार, उनको खातामा पैसा आइरहन्छ ।

देशमै केही गर्ने धोको

कर्णले आफ्नै मोबाइल र ल्यापटप पाएको एसईईपछि हो । दुई दिदीका भाइ उनको काम नै कम्प्युटरको सफ्टवेयर र एपमा घोत्लिने भयो । सधैं कम्प्युटरमै घोत्लिएर बसेको देख्दा के गरेको होला भनेर आमाले चिन्ता गर्थिन् । ‘आज मैले आफ्नो क्षमता प्रमाणित गर्न सकें जस्तो लाग्छ,’ उनी भन्छन् । गणित मन पराउने कर्णले राम्रा विद्यार्थीमा पर्थे । नेपालगन्ज टेक्निकल कलेजमा अध्ययन गर्दा पनि उनको पढाइ राम्रो थियो ।

कलेजका प्रधानाध्यापक छिनिङलाल थापा मगर कलेजमा पढ्दा कम्प्युटरमा रुचि राख्ने टाठो विद्यार्थी भएको सुनाउँछन् । ‘कम्प्युटरमा तीक्ष्ण थिए । उनको यो सफलताले हामी सबै खुशी भएका छौं,’ थापा मगर भन्छन् । उनी धेरै जसो समय त युट्युब र सामाजिक सञ्जालमा विभिन्न जानकारी बटुलिरहेका हुन्छन् । फुर्सद पाउँदा फूटबल हेर्छन् । ब्राजिलको खेल पछ्याइरहने उनी नेयमार जुनियरलाई मन पराउँछन् । पीएसजी मन पर्ने क्लब हो ।

फुर्सदमा सिनेमा हेर्न पनि छुटाउँदैनन् । खेलकूद र सिनेमाले थकान भुलाउने उनको अनुभव छ । प्रायः युवा विदेशको सपना देख्छन् । हाल ललितपुरको युनिभर्सल इन्जिनीयरिङ एन्ड साइन्स कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत कर्ण भने विदेशको सपना नदेखेको सुनाउँछन् । त्यसको एउटा कारण बुवा पनि हुन् । बुवा भक्तबहादुर वैदेशिक रोजगारीमा साउदी अरबमा छन् ।

१० वर्षदेखि विदेश रहेका बुवाको अभाव र गाह्रोसाह्रो भागेर होला उनीसँग विदेश मोह छैन । उनी नेपालमै राम्रो गर्ने सोचमा छन् । अहिले पाइरहेको सफलताले भविष्यमा अरू काम गर्ने वातावरण बन्ने उनको आशा छ । कर्ण भन्छन्, ‘भोलिका दिनमा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा स्वतन्त्रतापूर्वक केही नयाँ काम गर्ने धोको छ ।’

स्रोत : हिमालखबर
प्रकाशित मिति : १५ पुष २०८०, आइतवार ०७:४५

लोकप्रिय