सूचनाको शक्ति - The Power Of Information

        

मोफसलमै रहेर कलम चलाउने स्रष्टा ‘कल्पना’ सम्मानित

मोफसलमै रहेर कलम चलाउने साधनारत स्रष्टा आख्यानकार कल्पना खरेललाई नेपालगन्जमा सम्मान तथा पुरस्कृत गरिएको छ । शाश्वत आचार्य स्मृति प्रतिष्ठानद्वारा नेपालगन्जमा आयोजित शाश्वत स्रष्टा सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी समारोहका अवसरमा उनलाई सम्मान गरिएको हो ।

सम्मानका अवसरमा शाश्वत आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा.जनार्दन आचार्यले शाश्वत आचार्यको सम्झनामा मोफसलमै लुकेका प्रतिभा र योगदानलाई प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, ‘आफ्नै ठाउँमा केहि गरौ भन्ने सोचले यस सस्थाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।’

समाजमा रहेका अनेकौँ विकृति र विसङ्गतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाजको बाटो देखाउन सक्षम खरेलले २०८० मा अन्तराष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित कार्यक्रममा उनको रानीतलाउ उपन्याले सर्वउत्कृट पुरस्कार जित्न सफल भएको थियो । उपन्यासकार खरेलले आफ्ना कृतिहरुमा विवेक र नैतिकतालाई हतियार बनाउँदै आएकी छिन् ।

उनले उपन्यासमार्फत समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको स्पष्ट हुन्छ । सामाजिक अन्तर्विरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर उपन्यासको विषयवस्तु बुनिएको पाइन्छ । जी नेपाल फोरके टेलिभिजनको भावसरोवर साहित्यिक कार्यक्रमको प्रस्तोता समेत रहेकी खरेलका सात कृतिहरू प्रकाशित भएर बजारमा उपलब्ध छन् ।

उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् । २०० भन्दा बढी लेख रचना पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । खरेलको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचना लगायत दुई दर्जन गीतहरु समेत रेकर्ड भइसकेका छन् ।

खरेलका कृति अर्थात् उपन्यासहरुमा जीवन र जगत, मानव संवेदनशीलता, सामाजिक बिकृति जातीय विभेद, वैदेशिक रोजगारका पीडाहरु लिङ्ग वर्गमा हुने असमानतालाई उजागर गरिएको पाइन्छ । साहित्यको मार्गदर्शनबाटै समाजको समृद्धि, दिगो विकासकोबारे त्यसले निर्धारण गर्दछ । जब समाजमा बसोबास गर्नेमानिसहरू सचेत, अनुशासित हुन्छन्, त्यतिबेला उसले रचना गरेका आफ्ना सिर्जनाहरू बौद्धिक रूपले विकसित र उत्कृष्ट हुँदै अघि बढ्दछ ।

भाषा साहित्यले मानब संवेदना र संवादलाई जोड्छ । भाषा साहित्य राष्ट्रको अमुल्य सम्पत्ति हो । समाजको मूल अस्तित्व नै साहित्य हो । ‘समाज र साहित्य’ एउटा सिक्काका दुईवटा पाटाहरू हुन् । समाज र साहित्यको नङ्ग रमासुको जस्तो सम्बन्ध रहेको हुन्छ । कार्यक्रममा कथाकार गणेश जिसी र लोक गायक भीमबहादुर शाहीलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।

शाश्वत आचार्य स्मृति प्रतिष्ठान डा.जनार्दन आचार्य र वरिष्ठ साहित्यकार किरण आचार्यले आफ्नो कान्छो छोरा स्वर्गीय शाश्वत आचार्यको नामबाट स्थापना गरिएको संस्था हो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतवार ०८:३९

लोकप्रिय