हिमालयको काखमा रहेको हाम्रो देश नेपाल सुन्दर प्रकृति र मनमोहक परिदृश्यका लागि मात्र होइन, समृद्ध सांस्कृतिक सम्पदाका लागि पनि प्रख्यात छ । चाडपर्व भनेको कुनै ठाउँको विविध समुदाय, परम्परा र धार्मिक विश्वासहरूको जीवन्त प्रतिबिम्ब हुन् । यिनले मानिसहरूलाई आनन्द र आध्यात्मिकताको वातावरणमा एकसाथ ल्याउँछन् । चाडपर्व भनेको आनन्द, सद्भाव र एकताको समय पनि हो ।
यस समयमा परिवार र साथीभाइहरू जम्मा भएर विशेष क्षणहरू सँगै बिताउँदै उपहारहरू आदानप्रदान गर्दै स्वादिष्ट भोजनको आनन्द समेत एकैसाथ लिन्छन् । चाडपर्व भन्नेबित्तिकै खानपिनको कुरा आउँछ । खानपिन भन्नेबित्तिकै पोषण र स्वास्थ्यको कुरा आउँछ । यसबाट चाडपर्वले हाम्रो स्वास्थ्यमा गहिरो प्रभाव पार्ने देखिन्छ । परम्परागत चाडपर्वका खानेकुराहरूमा प्रायः क्यालोरी, चिनीजन्य पदार्थ र चिल्लो पदार्थको मात्रा बढी हुन्छ, जसले तौल बढाउने र अन्य स्वास्थ्य समस्याहरू समेत निम्त्याउन सक्छ । धेरै पटक पकाएको खाना, तीजको दर खाँदा झाडापखाला लागेको घटना पनि बिर्सन सकिन्न ।
खाद्य पदार्थले व्यक्तिहरुलाई एक प्रकारको बन्धनमा बाँध्ने गर्छ । तिनको उत्पादन, वितरणदेखि उपभोगसम्मको खाद्य श्रृंखलाको समयमा तिनले थुप्रै कुराहरुलाई जोडिरहेको हुन्छ । चाडपर्व विशेषमा विविध र विशिष्ट परम्परागत खानाहरू हुन्छन्, जुन सांस्कृतिक र धार्मिक परम्पराहरूको मर्यादा कायम राख्नकै लागि मात्र पनि तयार गरी उपभोग गरिन्छ ।
यस्ता खानाहरूको प्रायः प्रतीकात्मक अर्थ हुन्छ र यिनले उत्सवको समयमा छुट्टै महत्व राख्छन् । जस्तै, क्वाँटी पूर्णिमामा क्वाँटी खाने, माघे संक्रान्तिमा तिलको लड्डु, कन्दमूल, तरुलहरु, तिहारमा सेलरोटी, मिठाई आदि । चाडपर्वहरूले प्रायः स्थानीय अर्थतन्त्रलाई समेत प्रभाव पारिरहेको हुन्छ, तिनीहरूले कच्चा पदार्थ र तयारी सामग्रीहरू दुवैको सन्दर्भमा विभिन्न खाद्य वस्तुहरूको मागलाई बढाउँछन् ।
यो खाद्य बिक्रेता र व्यवसायीको लागि आयश्रोतको एक महत्वपूर्ण पाटो पनि बन्न सक्छ र यसले अर्थतन्त्र चलायमान बनाउन पनि मद्दत गर्छ । चाडपर्वका सांस्कृतिक, सामाजिक र धार्मिक पक्षहरूमा खाद्य सामग्रीको मुख्य भूमिका हुन्छ । तिनीहरू पोषणको स्रोतमा मात्र सीमित नभई, सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने, एकता र सद्भावको भावना सिर्जना गर्ने र प्रत्येक चाडसँग सम्बन्धित अनौठो परम्पराहरू मनाउने माध्यम पनि हुन् ।
चाडबाडको समयमा खाद्य पदार्थ सेवन गर्दा निकै ख्याल पुर्याउनुपर्ने हुन्छ । अन्य समयको भन्दा यतिबेला मानिसहरुले आफ्नो दैनिक खानपान शैलीलाई बेवास्ता गरिरहेका हुन्छन् । अर्कोतर्फ यो समयमा प्रायः क्यालोरी, चिनीजन्य र चिल्लो पदार्थको मात्रा बढी हुने खाद्य पदार्थहरु हामीले सेवन गरिरहेका हुन्छौं । यस्ता खानेकुराको अत्यधिक सेवनले तौल बढ्ने र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ । चाडपर्वको समयमा खानामा अनुशासन कायम राख्दा स्वस्थ जीवनशैली कायम राख्न मद्दत मिल्छ ।
खाद्य पदार्थ स्वच्छ भएमा मात्रै त्यसले प्रदान गर्ने पोषण पनि स्वस्थकर हुन्छ । सोही अनुसार उपभोग गर्ने व्यक्ति पनि स्वस्थ रहन्छ । चाडवाडको समय भनेको घरमा धेरै व्यक्तिहरुको जमघट हुने समय हो । यस्तो बेलामा सरसफाइ र स्वच्छतामा विशेष ध्यान दिनु जरुरी हुन्छ । खानेकुराको तयारी गर्दा, त्यसलाई भण्डारण गर्दा वा पुनः प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । चाडवाडको समयमा उपभोग गरिने खाद्य पदार्थलाई तयारी गर्ने स्थानको आधारमा दुई प्रकारमा विभाजन गर्न सकिन्छ,
१. प्रशोधित खाद्य पदार्थ
२. घरमा तयार गरिएका खाद्य पदार्थ
यी दुवै खालका सामग्री उपभोग गर्दा उचित सावधानी अपनाउन आवश्यक हुन्छ । कारखाना, उद्योग एवं होटल–रेष्टुरेन्टमा उत्पादित खाद्य सामग्रीहरु एउटा निश्चित मापदण्ड अपनाएर बनाइएका हुन्छन्, तिनको तयारी सैद्धान्तिक रुपमा सुरक्षित नै हुन्छन् । तिनको उपभोग गर्दा भने लेबल हेरी म्याद गुज्रेको वा अन्य प्याकेजिङ समस्याहरुको जाँच गरेर उपभोग गर्न सकिन्छ ।
अर्कोतर्फ घरमै तयार गरिएका खानेकुरामा भने तयारीकर्ता आफैंले विशेष ध्यान दिनुपर्छ । कच्चा पदार्थको गुणस्तर, तिनको भण्डारण, तयारीकर्ताको स्वास्थ्य अवस्था, शारीरिक सरसफाइजस्ता कुराहरुमा ध्यान दिनुपर्छ । घरेलु स्तरमा तयार गरिने परिकारहरुमा सकेसम्म अप्राकृतिक रंग, योगशीलहरुको प्रयोग गर्नु हुँदैन; सकेसम्म ताजा नै बनाएर खाने बानी बसाल्नुपर्छ ।
पाकेका र काँचो खानेकुराहरुलाई सकभर छुट्टै भण्डारण गर्नु उपयुक्त हुन्छ । फ्रिजमा भण्डारण गरिने पदार्थहरु पनि डिब्बा बन्द गर्न मिल्ने बट्टामा राख्नुपर्छ । सम्भव नभएमा छोप्न मिल्ने भाँडोमा ढाकेर भण्डारण गर्नुपर्छ । तेल सकभर वनस्पतिजन्य श्रोतको प्रयोग गर्नुपर्छ । एउटा तेलमा धेरै पटक तारेर खानेकुराहरु पकाउनु हुँदैन । सजिलै नाश हुने (पेरिसेबल) खानेकुरालाई तुरुन्तै फ्रिजमा राख्ने ।
फ्रिजको तापक्रम ४ डिग्री सेल्सियस र फ्रिजरलाई –१८ डिग्री सेल्सियस मा वा तल सेट गर्नु उपयक्त हुन्छ । फ्रोजन खाद्य पदार्थलाई फ्रिजमै वा रनिङ ट्याप वाटर (बग्ने धाराको पानी) वा माइक्रोवेभमा पगाल्ने र पकाउनुपर्छ । पग्लिहाल्छ भनेर लामो अवधिको लागि यस्ता खानेकुरालाई कोठाको तापक्रममा बाहिर नछोड्ने ।
खानेकुरा पकाउँदा उपयुक्त तापक्रममा पकाउन जरुरी हुन्छ । कुखुराको मासुलाई कम्तिमा ७५ डिग्री सेल्सियसमा पकाउनुपर्छ । बाँकी रहेको खाना पाकेको दुई घण्टाभित्रै फ्रिजमा राखिसक्नु पर्छ । कुनै पनि सम्भावित जीवाणुलाई मार्नको लागि कम्तिमा ७५ डिग्री सेल्सियसको आन्तरिक तापक्रममा यस्ता खानेकुरालाई पुनः तताउने गर्नुपर्छ ।
खाना तयारी गर्ने व्यक्तिले पनि आफ्नो कपाल, मुख ढाकेर मात्रै खानेकुराको तयारी गर्नुपर्छ । खाना ह्यान्डल गर्नुअघि कम्तिमा २० सेकेन्डसम्म साबुन र सफा पानीले राम्ररी हात धुनुपर्छ । काँचो मासु वा समुद्री खाना ह्यान्डल गरेपछि; साथै शौचालय प्रयोग गरेपछि, घरपालुवा जनावरहरू छोएपछि वा फोहोर ह्यान्डल गरेपछि आफ्नो हातहरू फेरि धुने । क्रस कन्टामिनेसन रोक्न मासु, तरकारी र अन्य सामग्री तयार गर्दा छुट्टै काट्ने बोर्ड र भाँडाहरू प्रयोग गर्ने ।
काट्ने सामग्री, राख्ने भाँडा र काउन्टरटपहरू प्रत्येक पटकको प्रयोगपछि सफा गरी सेनिटाइज गर्ने । कृत्रिम रंगको तुलनामा प्राकृतिक रंगको प्रयोग बढी गर्नुपर्छ; बजारमा उपलब्ध हुने सबै रंगहरु खाद्य नै हुन्छ भन्ने छैनन् । लेबलमा प्रस्ट लेखिएको हुन्छ, हेर्ने बानी बसाल्नुपर्छ । अखाद्य सामग्रीहरुले स्वास्थ्यमा विभिन्न नकारात्मक असरहरु पार्छन् । त्यस्ता असरहरु न्यूनीकरण गर्नको लागि उपभोक्ता आफैं उद्धत बन्नुपर्छ । केही अस्वाभाविक रंग, स्वाद वा बनावट देखिएमा त्यसबारे खोजीनिती गर्न हिच्किचाउनु हुन्न ।
खाद्य स्वच्छता कायम गर्नु सबैको साझा दायित्व हो । उत्पादकदेखि तयारीकर्ता, ढुवानीकर्ता र उपभोगकर्तासम्म सबै आफ्नो आफ्नो ठाउँमा जिम्मेवार बनेमा मात्र खाद्य स्वच्छता कायम हुन सक्छ । अन्य समयभन्दा चाडवाडको समयमा सबैजना खानेकुरामा बढी केन्द्रित हुने भएकाले खाद्य स्वच्छता कायम गर्न यसबेला बढी आवश्यक हुन्छ । व्यक्तिको स्वास्थ्यदेखि लिएर वातावरणको स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने अवस्था हो चाडवाडको समय भनेको ।
हाम्रो नजिकै आइपुगेको चाडवाडमध्येको एक हो तिहार । यो पर्वमा पनि माथि भनिएजस्तै विभिन्न खाले खाद्य सामग्रीहरुको व्यापक प्रयोग हुन्छ । मुख्यतया यो बेलामा मिठाई, सेलरोटी, फलफूल, ड्राइ फ्रुट्स, मसलाजन्य सामग्रीको खपत बढी मात्रामा हुन्छ ।
आँखालाई लोभ्याउने खालको मिठाईहरुमा कृत्रिम रंगको प्रयोग व्यापक हुन्छ । ती रंगहरु खाद्य हुन् वा होइनन् छुट्याउन प्रयोगशालामा विश्लेषण गर्नुपर्ने हुन्छ । तयारीकर्ताले अखाद्य रंग प्रयोग गरेको धेरै सुन्नमा आउँछ । यस्ता सामग्री प्रयोग गरिएका सामग्री उपभोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ ।
यसमा तयारीकर्ता जिम्मेवार बनी आफैंले खाद्य रंग मात्र प्रयोग गरेको हुनुपर्छ । नियामक संस्थाले राम्रै चेकजाँच नगरी यो समस्या सुल्झाउन गाह्रो छ । घरमै तयार गर्ने मिठाईहरुमा तोकिएको मात्राभन्दा बढी नहुने गरी खाद्य रंगहरु प्रयोग गर्न सकिन्छ । अझ राम्रोचाहिँ रंगको प्रयोग नै नगर्ने र गर्नैपरे प्राकृतिक तरिकाबाट बनेका रंगको प्रयोग गर्न सकिन्छ ।
मासुको छनोट गर्दा छाला र बोसोरहित (लीन पार्ट)को छनोट गर्नु उपयुक्त हुन्छ । स्वास्थ्यको हिसाबले पनि छालामा सबैभन्दा बढी मात्रामा जीवाणुहरु हुने हुँदा यसलाई छुट्याउनु नै राम्रो हुन्छ । साथै, छाला नभएको मासुमा स्याचुरेटेड फ्याट कम हुन्छ र स्वास्थ्यलाई हानी नपुर्याउने खालका हुन्छन् ।
मासु तयारीको विधिले पनि स्वास्थ्यमा असर पर्न सक्छ । डिप फ्राइको सट्टा ग्रिलिङ, बेकिङ वा बोइलिङजस्ता विधिहरू छनौट गर्न सकिन्छ । यी विधिहरूमा कम चिल्लो पदार्थको प्रयोग हुन्छ । मासु र माछामा स्वाद थप्न स्वाद र आवश्यकता अनुसारको जडीबुटी, मसलाको प्रयोग गर्न सकिन्छ । यसले अत्यधिक नुन वा अस्वस्थ खालका ससको प्रयोगलाई कम गर्छ ।
माछा कम चिल्लो पदार्थ भएको, उच्च कोटिको प्रोटिन, भिटामिन डी, भिटामिन बी–१२ जस्ता पोषणको उपयुक्त स्रोत हो । ओमेगा–३ फ्याटी एसिडले भरिपूर्ण माछा छनोट गर्नुपर्छ । अनि स्वास्थ्यका हिसाबले एकचोटीमा ८०–९० ग्राममात्र माछा वा मासुको सेवन गर्न लाभदायक हुन्छ ।
दुग्ध पदार्थ पनि तिहारको समयमा धेरै मात्रामा खपत हुने गरेको छ । दूध, दही, घ्यु, पनीरजस्ता पदार्थ धेरै उपभोग हुने पदार्थमा पर्छन् । यिनको गुणस्तरले पनि हाम्रो स्वास्थ्यमा असर पर्छ । सकेसम्म प्याकेटको दूध, दही, घ्युको सेवन गर्नुपर्छ । खुल्ला रुपमा बिक्रीवितरण गरिएको दुग्ध पदार्थमा संक्रमणको जोखिम बढी मात्रामा हुन्छ । घरमा ल्याएपछि पनि फ्रिजमा भण्डारण गर्ने बानी बसाल्नुपर्छ । दहीमा प्रोबायोटिक्स प्रशस्त हुने भएकाले यो अति नै स्वस्थकर हुन्छ । आफूलाई सुहाउँदो समयमा यसको उपभोग गर्न सकिन्छ ।
ड्राइ फ्रुट्समा समस्या छ–छैन भनी राम्रोसँग हेरेर खरिद गर्नु उपयुक्त हुन्छ । प्याकेज्ड ड्राइ फ्रुट्सभन्दा खुल्ला रुपमा बेचिने ड्राइ फ्रुट्स तुलनात्मक रुपमा असुरक्षित हुन्छन् । धुलो, किराको आक्रमण जस्ता समस्या यिनमा देखिन्छन्, जसको एउटै समाधान भनेको प्याकेज्ड ड्राइ फ्रुट्सको खरिद हो ।
प्याकेज्ड खरिद गर्दा पनि पारदर्शी प्याकेजिङ सामग्री भएको खरिद गर्नु उपयुक्त हुन्छ । ड्राइ फ्रुट्समा हुने अर्को समस्या भनेको ढुसी हो । पानीको मात्रा एकदमै कम र पोषणको मात्रा बढी हुने भएकाले यस्ता पदार्थमा ढुसीको संक्रमण हुन सक्छ । यसको पहिचान सामान्य आँखाले वा गन्धबाट गर्न सकिन्छ ।
फलफूल पनि तिहारमा नछुट्ने एक प्रकारको सामग्री हो । चोटपटक नलागेको र पूर्ण रुपमा स्वस्थ, सफा भए–नभएको ख्याल राख्नुपर्छ । सकेसम्म अर्गानिक वा घरमै फलाएको फलफूलको प्रयोग गर्नु राम्रो; नसकेमा बजारबाट खरिद गर्दा खुल्ला रुपमा बिक्री गर्नेभन्दा पसलबाट खरिद गर्नु उपयुक्त हुन्छ । बाहिर डुलाउँदै हिँड्नेसँग खरिद गर्दा बाहिरको धुलो–धुँवा पनि त्योसँगै आउँछ; यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ ।
घरमै तयार गरिने सेलरोटी, अनरसाजस्ता डिप–फ्राइड सामग्रीहरु तयार गर्दा पनि विशेष ध्यान दिनुपर्छ । डिप फ्राइ गर्न प्रयोग गरिने तेलको गुणस्तरले पनि खाद्य पदार्थमा असर पर्न सक्छ । धेरैचोटी प्रयोग गरिएको तेल छ भने सकेसम्म त्यसलाई प्रयोग गर्नु हुँदैन । तार्ने तेलको प्रयोग दुई चोटीभन्दा बढी गर्नु हुँदैन ।
मसलाजन्य सामग्रीको खरिदमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । मिसावट र इसेन्सियल ओयल निकालेर समेत केही व्यापारीहरुले बेचिरहेका हुन्छन् । यस्ता सामग्री फेला परेमा सम्बन्धित निकायमा तुरुन्त खबर गर्नुपर्छ ।
प्याक गरेका, उपभोग्य मिति बाँकी भएको मसलाजन्य तथा अन्य खाद्य पदार्थ मात्र खरिद र उपभोग गर्ने बानी बसाल्नुपर्छ । पान मसलाजन्य सामग्रीको पनि ख्याल राख्नुपर्छ । तिनको तयारीमा प्रयोग हुने सामग्रीको गुणस्तर, भण्डारण र तयारी विधिको पनि ख्याल गर्नुपर्छ । तयारीकर्ताको व्यक्तिगत सरसफाइ र स्वास्थ्यले पनि यस्ता पदार्थको स्वच्छतामा सिधै असर परिरहेको हुन्छ ।
खाद्य पदार्थ स्वस्थ मात्र भएर हुँदैन; तिनको उचित र सन्तुलित प्रयोगले मात्र हाम्रो शरीरले भनेजस्तो फाइदा लिन सक्छ । चाडपर्वको सिजनमा सबैभन्दा ठूलो चुनौती भनेको अत्यधिक क्यालोरी भएका खानेकुराहरूको प्रशस्तता हो । सन्तुलित पोषणलाई प्राथमिकता दिँदै संयमपूर्वक यी खानेकुराहरुको आनन्द लिनु उचित हुन्छ ।
आफ्नो खानामा प्रशस्त मात्रामा फलफूल, तरकारी, लिन प्रोटिन र होल ग्रेन्सजस्ता फाइवरयुक्त सामग्रीहरु समावेश गर्नुपर्छ । मनमोहक, आकर्षक र स्वादिला व्यञ्जनको एकदमै सानो भागमात्रै सेवन गर्नुपर्छ । यसको साटो अन्य स्वस्थ विकल्पहरूको सेवन गर्ने बानी बसाल्नुपर्छ । यस तरिकाबाट आफ्नो आहारलाई नियन्त्रण गर्दै चाडपर्वको स्वाद मज्जाले लिन सकिन्छ ।
समय अगावै नै आफ्नो खानाको उपयुक्त योजना बनाउनाले आफ्नो शरीरको नियमितता कायम गर्न मद्दत पुग्छ । कुनै ठूलो उत्सव वा भोजमा जानुपर्ने छ भने दिनको सुरुमा हल्का र सन्तुलित खाना खाने गर्नुपर्छ । यसले अत्यधिक खानालाई रोक्न र हाम्रो समग्र स्वास्थ्यमा व्यञ्जनहरूको प्रभावलाई कम गर्न मद्दत गर्ने गर्छ । अनि, सधैं आफ्नो शरीरको क्षमता हेरेर मात्रै खानेकुराहरुको सेवन गर्ने गर्नुपर्छ ।
धेरै व्यक्तिहरुले चाडपर्वको मौसममा उपलब्ध खाद्य पदार्थहरूसँगै पर्याप्त पानी पिउन बिर्सने गरेका हुन्छन् । शरीरमा पानीको कमी भएमा थकान, टाउको दुख्ने र अस्वस्थताको अनुभूति हुन सक्छ । त्यसकारण नियमित पानी पिएर हाइड्रेटेड रहने प्रयास गर्नुपर्छ । शरीरमा अतिरिक्त स्फूर्तिको लागि पानीको मात्रा बढी हुने सिट्रस फ्रुट्स, काँक्रो वा पुदिनाको टुक्रा मिसाएर तयार पारेको पेय पदार्थ पिउन सकिन्छ ।
सकेसम्म मदिराजन्य सामग्रीहरुको सेवन नै नगर्ने; गर्नैपर्ने अवस्थामा थोरै मात्रामा गर्ने । कतिपय संस्कृतिमा मादक पेय पदार्थहरू प्रायः चाडपर्वको एक हिस्सा नै हुन्छन् । यदि रक्सी पिउनैपर्ने छ भने थोरै मात्रामा पिउने । तर, अत्यधिक मदिरा सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । हाइड्रेटेड रहन र अतिभोगबाट बच्नको लागि पानी वा अन्य नन–अल्कोहलिक विकल्पहरू सेवन गर्न सकिन्छ ।
चाडपर्व वा जमघटहरूमा ध्यान दिएर खाने अभ्यास गर्नुपर्छ । विभिन्न प्रकारका खानेकुराको स्वादको मजा लिँदै, प्रत्येक गाँसको स्वाद लिनको लागि समय दिने गर्नुपर्छ । ध्यानपूर्वक खानाले पेट भरिएको बेला आवश्यक संकेत दिन्छ र अतिभोग हुनबाट बचाउँछ । शरीरले मागेपछि मात्रै खाने बानी बसाल्नुपर्छ । धेरै वा अपच हुने गरी कहिल्यै खानु हुँदैन । पेटमा केही भाग खाली राख्नाले समग्र स्वास्थ्य नै बलियो हुन आउँछ ।
चाडपर्वको समयमा सक्रिय जीवनशैली कायम राख्नु स्वास्थ्यको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ । दैनिक दिनचर्यामा शारीरिक गतिविधि समावेश गर्ने गर्नुपर्छ । चाहे त्यो बिहानीको पैदल यात्रा होस्, घरको कसरत होस्, वा आफूलाई मन पर्ने उत्सव धुनहरूमा नाच्ने क्रियाकलाप नै किन नहोस् । नियमित व्यायामले हाम्रो शरीरबाट अतिरिक्त क्यालोरीहरू घटाउन, मुड राम्रो बनाउन र तनाव कम गर्न मद्दत गर्छ ।
हाम्रो संस्कृतिहरुमा मिठाई उत्सवको एक महत्वपूर्ण भाग नै हुन आउँछ । तिनीहरूलाई पूर्ण रूपमा बेवास्ता गर्नुको सट्टा, विशेष ध्यान पुर्याएर सेवन गरेको खण्डमा अधिक लाभ पाउन सकिन्छ । स्वस्थ मिठाईका विकल्पमा फ्रुट सलाद, लस्सी, वा नट्स, ड्राइ फ्रुट्स, डार्क चकलेटजस्ता फङ्शनल खाद्य पदार्थ लिन सकिन्छ ।
घरेलु डेजर्टहरूमा चिनीको मात्रा घटाउने वा कम चिनी भएका अन्य वैकल्पिक कुराहरुको छनौट गर्नुपर्छ । चिया–कफी सेवन गर्नुपर्ने अवस्थामा कम क्याफिनयुक्त सेवन गर्ने; अझ जडिबुटीजन्य चिया कफी सेवन गरेमा शरीरलाई अतिरिक्त लाभ मिल्न जान्छ ।
समग्र स्वास्थ्यको लागि पर्याप्त निद्रा पनि आवश्यक छ । अबेर रातिसम्म पार्टी वा चाडपर्व मनाउने गर्नाले निद्रामा बाधा पर्न सक्छ, जसले थकान र चिडचिडापन निम्त्याउँछ । आफ्नो शारीरिक र मानसिक रिचार्ज गर्न हरेक रात ७–९ घण्टा आरामदायी निद्राको लागि समय छुट्याउने गर्नुपर्छ ।
चाडपर्वको मौसम व्यस्त र तनावपूर्ण हुन सक्छ । आत्म–हेरचाहको लागि समय दिने, चाहे त्यो ध्यान, गहिरो सास फेर्ने अभ्यास, वा रमाइलो गतिविधिहरू नै किन नहोस् । स्वास्थ्य र वेलनेस कायम राख्नको लागि तनाव व्यवस्थापन महत्वपूर्ण छ । आफ्ना प्रियजनहरूसँग समय बिताउने, आनन्द र जीवन ध्यानमा केन्द्रित गर्न सकिन्छ । सकारात्मक सोचले हाम्रो समग्र स्वास्थ्य र खुशीमा सहायता पुर्याउँछ ।
चाडपर्वको सिजन उत्सवको समय हो । यसमा आफ्नो र आफूले सेवन गर्ने खाद्य पदार्थको स्वच्छता र गुणस्तरलाई प्राथमिकता दिन आवश्यक छ । स्वस्थ, स्वच्छ, मिसावट रहित खाद्य पदार्थको सेवनले हाम्रो स्वास्थ्य तन्दुरुस्त रही हाम्रा सबै खाले उत्सवहरुको भरपुर आनन्द लिन सकिन्छ । सबैलाई धन ऐश्वर्य र स्वास्थ्यले सम्पन्न हुने सुअवसर प्राप्त होस्, लक्ष्मी माताले हामी सबैको कल्याण गरुन् । दिपावलीको सबैमा हार्दिक मंगलमय शुभकामना !
लेखक लामा काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमको
विशेषज्ञ सल्लाहकार र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्व महानिर्देशक हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
जीवनप्रभा लामा । काठमाडौं