सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

पीडितको खोजी र उद्धार सकियो, अब ‘राहतपछि अस्थायी आवास निर्माण’

कतिपय भूकम्प पीडितले लगातार तेस्रो रात खुला आकाशमुनि बिताउनुपरेको छ ।

जाजरकोट भूकम्पपछि शुक्रवार रातियता जारी खोजी तथा उद्धार कार्य अब सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ‘अब हामी राहत पु¥याउनमा केन्द्रित भएका छौँ । हिजोबाटै केही स्तरमा सुरु भएको त्यो काम तीन दिनसम्म चल्ने छ,’ प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले भने ।

‘चाहिने जति राहत सामग्री उपलब्ध भइसकेको छ । केही सामान पुग्न थालेको छ भने केही हिँडिसकेका अवस्था छ ।’ राहत सामग्री पुर्याउने काममा तीनवटै सुरक्षा बल (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) परिचालन गरिएको छ । ‘स्थल र हवाई मार्ग दुवैबाट हामीले राहत पुर्याइरहेका छौँ,’ प्रवक्ता खड्काले थपे । ठ्याक्कै कुन सामान कति पुग्यो भन्नेबारे चाहिँ उनले केही बताएनन् ।

राहत एकद्वार प्रणालीमार्फत्

सरकारले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने निर्णय गरिसकेको छ । त्यसो गर्दा विगतको भूकम्पमा जस्तो राहत सामग्रीको दुरुपयोग रोकिने अधिकारीहरूको तर्क छ । तर सरकारी निकायहरू मात्र संलग्न हुँदा पीडितसम्म अत्यावश्यक राहत सामग्री पुग्न ढिलाइ हुन सक्ने भन्दै कतिपयले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

कतिपय भूकम्प पीडितले लगातार तेस्रो रात खुला आकाशमुनि बिताउनुपरेको गुनासो गरेका छन् । चिसो बढिरहेकोले अस्थायी आवासको भए पनि छिटो व्यवस्था नगरिए बाँचेका व्यक्तिहरूलाई समेत बचाउन गाह्रो हुने केही पीडितले बताएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पीडितसम्म पर्याप्त त्रिपाल तथा न्याना कपडारू छिटै पुर्याउनु मुख्य चुनौती रहेको बताए ।

‘यो चिसो मौसममा पीडित सबैलाई सुरक्षित राख्नुपर्ने चुनौती रहेको छ,’ उनले भने । सरकारी योजना अनुसार तीन दिनभित्र राहत पुर्याउने काम सकेपछि भूकम्पले पुर्याएको क्षतिको आँकलन सुरु गरिने प्राधिकरणले जनाएको छ । ‘त्यसपछि पीडितका लागि अस्थायी आवास निर्माण गरिने छ,’ प्राधिकरणका प्रवक्ता खड्काले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र पुनर्निर्माणको काम सकिने बताएका छन् ।

प्रधानमन्त्रीले बझाङमा आइतवार गरेको घोषणा अनुसार भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । त्यसैगरी भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहत स्वरूप परिवार सङ्ख्याका आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गरिने छ ।

क्षतिको पछिल्लो विवरण के छ ?

शुक्रवारको भूकम्पमा परेर कुल १५३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् । कुल ३३८ जना घाइते भएकामा २४३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने ९५ जना अझै उपचाररत छन् । यसअघि सरकारले भूकम्पमा परी १५७ जनाको ज्यान गएको बताएको थियो ।

तर केही मृतकको सङ्ख्या दोहोरिन गएकोले सच्याउँदा १५३ देखिएको थियो । भूकम्पबाट भएको भौतिक क्षतिको वास्तविक विवरण आउन अझै केही समय लाग्ने प्राधिकरणका प्रवक्ता खड्काले बताए । नेपाल प्रहरीले आइतवार साँझ उपलब्ध गराएको विवरण अनुसार करिब एक हजार घर पूर्णरूपमा क्षतिग्रस्त छन् भने करिब २९ सय घरमा आंशिक क्षति पुगेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १४:११

लोकप्रिय