गत वर्षको माघ महिनायता पश्चिम नेपालका तीन जिल्लामा केन्द्रबिन्दु भएर ठुला भूकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बाजुरा, बझाङ र जाजरकोट केन्द्रबिन्दु भएर ५ वा सोभन्दा माथिका भूकम्पहरू गएका हुन् ।
गत २०७९ माघ १० गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने २०८० वैशाख १४ गते पुनः सोही जिल्लामा ५.९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । त्यसपछि बझाङ केन्द्रबिन्दु भएर लगातार ठुला भूकम्पहरू गए ।
२०८० असोज १६ गते एकै दिन ६.३ म्याग्निच्युड र ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको चार दिनपछि पुनः ५.३ म्याग्निच्युडको अर्को भूकम्प गयो । यसबिचमा ५ वा सोभन्दा बढीका थप परकम्पहरू गएका थिए । कार्तिक ५ गते मध्य नेपालको धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सोही दिन ५.१ म्याग्निच्युडको अर्को भूकम्प गयो । त्यसपछि यस क्षेत्रमा लगातार परकम्पहरू गएका थिए । हिजो शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर अर्को ठुलो भूकम्प गएको छ । हिजोको भूकम्पको तीव्रता ६.४ म्याग्निच्युडको रहेको थियो । ठुलो भूकम्पपछि त्यहाँ पनि लगातार परकम्पहरू गइरहेका छन् ।
पश्चिम नेपालमा लामो समयदेखि भूकम्प नगएका कारण त्यहाँ भूकम्पको ठुलो जोखिम रहेको विज्ञहरूले बताउँदै आएका थिए । भूकम्प मापन केन्द्रको तथ्याङ्क अनुसार पछिल्लो समय धेरै भूकम्पहरू सोही क्षेत्रमा केन्द्रित रहेको देखिन्छ ।
यी ठुला भूकम्पबाहेक पश्चिम नेपालका अन्य जिल्लाहरूमा ४ देखि ५ म्याग्निच्युडबीचका भूकम्पहरू गएको देखिन्छ । दार्चुला, बाग्लुङ, कास्की, हुम्ला, लम्जुङ, रुकुम पूर्व, गोरखा, मुगु, दैलेख र अछाममा स–साना भूकम्पहरू गइरहेको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं