२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday

मीनबहादुर गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० भदौ २४ गते आइतबार

ललिता निवासको सरकारी जग्गा हिनामिनामा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले दुई करोड ४६ लाख धरौटी माग गरेको गुरुङका तर्फबाट बहस गरेका कानून व्यवसायी ललितबहादुर बस्नेतले बताए ।

आइतबार भएको थुनछेकको बहसपछि जिल्ला अदालतले गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्नु आवश्यक नभएको ठहर गरेको हो । ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा लगेर हिनामिना गरेको भन्दै ३१० जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

त्यसको मुख्य योजनाकारमा रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङलाई असार १२ गते पक्राउ गरेको थियो । उनी बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले छोड्न अस्वीकार गरेको थियो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गुरुङसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा २०७६ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले गुरुङसँग दुई करोड धरौटी मागेको थियो । उनी दुई करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार