दोश्रो विश्वयुद्ध उत्कर्षमा थियो । भ्लादिमिर स्पिरिदोनोभिच पुटिन युद्ध मैदानको अग्रिम मोर्चामा थिए । एकदिन समय मिलाएर उनी आफ्नो घर लेनिनग्राड फर्के । जर्मनीले शहर ध्वस्त पारिसकेको थियो, जताततै लाशको थुप्रो । सैनिकहरू लाशलाई ट्रकमा हाल्दै थिए, ताकि कतै लगेर सामूहिक रूपमा गाड्न सकियोस् । स्पिरिदोनोभिच घरतर्फ भाग्नै लागेका थिए, आँखा ट्रकमा हालिएको एउटा लाशको खुट्टामा पर्यो । लाशको खुट्टामा जुन जुत्ता थियो, ठीक त्यस्तै केही समयअघि मात्र उनले पत्नीको लागि किनिदिएका थिए । दौडेर ट्रकनेर पुगे ।
उनले लाशलाई तानेर ट्रकबाट उतारे । लाश पत्नी मारियाको थियो । सैनिकहरूले मरिसकेको भन्ठानेर ट्रकमा लादिसकेको भए पनि मारियामा हल्का सास बाँकी थियो । स्पिरिदोनोभिच पत्नीलाई बोकेर दौडे । अस्पताल ध्वस्त भइसकेका थिए भने चिकित्सकहरू लाश बनिसकेका थिए । त्यसैले पुटिन घाइते पत्नीलाई बोकेर सग्लो अस्पताल खोज्दै हिँडे । बल्ल एउटा अस्पताल भेट्टाए । केही महिनाको अस्पताल बसाइपश्चात् मारिया स्वस्थ बनी घर फर्किन् । सन् १९४५ मा युद्ध समाप्त भयो । केही समय पश्चात् पुनः गर्भाधान गरिन् र सन् १९५२ को अक्टोबर ७ मा छोरा जन्माइन् । नाउँ राखियो, भ्लादिमिर पुटिन ।
चिहानमा गाड्न लैजानै लागिएकी उनै मारियाको छोरा हुन् जो आजका शक्तिशाली रुसी राष्ट्रपति । यो घटनाको बिवरण अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारीले आफ्नो पुस्तक ‘हार्ड च्वैसेस’मा उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, जो ब्यक्तिको जन्म असम्भवजस्तै थियो, उसले जन्म मात्र लिएनन् कि आज रुस जस्तो महाशक्ति देशको राष्ट्रपति बनेको छ । पुटिनको बाल्यकाल निकै कष्टदायी थियो । परिवार गरिब । पुटिन मारियाको तेश्रो सन्तान हुन् । दुई दाजुको मृत्यु पहिल्यै भइसकेको थियो । बुबा स्पिरिदोनोभिच पहिला सैन्य र पछि कारखाना मजदुर बने । बाजे स्पिरोदोन रुसी क्रान्ति नायक लेनिन र स्टालिनका निजी भान्छे थिए ।
सन् १९४१ मा लेनिनग्राडमाथि जर्मनीले नियन्त्रण जमाउँदा त्यहाँको तापक्रम माइनस ४० डिग्री फरेनहाइट थियो । उक्त शहर ८७२ दिन जर्मनीको नियन्त्रणमा गएको अवधिमा रुसी जनता चिसो र भोकमरीले आक्रान्त बन्न पुगे । दैनिक तीन टुक्रा पातलो पाउरोटीले गुजारा चलाउनुपरेको थियो । सन् १९४४ को जनवरी २७ मा जर्मनको हातबाट मुक्त गरिँदा ३५ लाख जनसंख्या भएको शहरमा सात लाख बाँकी थियो । तिनैमध्ये पुटिनकी आमा मारिया इभानोभ्ना पनि थिइन् । भोकले आक्रान्त भई सैनिकसँग खाना माग्न जाँदा त्यहीँ ढलेकी थिइन् र सैनिकले मर्यो भन्ठानेर ट्रकमा राखिसकेका थिए । कोडिन्ही, भारतीय दक्षिणी राज्य केरलाको एउटा गाउँ हो जसको जनसंख्या जम्माजम्मी दुई हजार छ ।
सबै सुन्नी मुसलमान हुन् । अचम्मको कुरा, तीमध्ये ४०० भन्दा बढी जुम्ल्याहा छन् । यो भारतको अन्य गाउँको तुलनामा बढी अन्न उब्जाउ हुनेमा पर्छ, यहाँका जनता बढी शिक्षित छन् । सफा गाउँमा पनि गनिन्छ । बाहिरका मानिस जाँदा अचम्ममा पर्छन् किनभने स्कूलमा हुलिया मिलेका छात्रछात्राहरू मात्र देखिन्छन्, अनुहार मिलेका महिला पुरुष उत्तिकै । प्रायः सबै घरमा जुम्ल्याहा छन् । धेरै बैज्ञानिकले यो गाउँमा जुम्ल्याहा सन्तान बढी जन्मिनुको कारण पत्ता लगाउन कोसिस नगरेका होइनन् तर सबै प्रयास बिफल । सबैभन्दा पाको उमेरका जुम्ल्याहा हुन् अब्दुल हमिद र बहिनी कुन्जी कादिया । उनीहरू जन्मेको बेलासम्म गाउँमा जुम्ल्याहा थोरै थिए, तर पछि यस्ता सन्तान जन्माउने महिलाको संख्या ह्वात्तै बढ्यो ।

पाँच वर्षका पुटिन आमा मारियाको काखमा ।
सन् २००८ सम्म पनि ३०० मध्ये ३० जना मात्र जुम्ल्याहा थिए, तर यो प्रतिशत बढ्दै गयो । जुम्ल्याहा जन्मिने यो प्रतिशत भारतको अन्य क्षेत्रभन्दा ६ गुणाले बढी छ । बितेको ५० वर्षभित्र यहाँ ३०० जुम्ल्याहा जन्मिसकेका छन् । त्यसैले यो गाउँलाई जुम्ल्याहाको गाउँ भनेर चिनिन्छ । चिकित्सकले यहाँका महिलामा मानसिक दोष र शारीरिक बिकार छ कि भनेर पटकपटक परीक्षण गरिसकेका छन्, तर त्यस्तो केही फेला परेन । जुम्ल्याहा सन्तान जन्माउने आमाहरू मात्र होइन जन्मिएका जुम्ल्याहा छोराछोरी पनि स्वस्थ छन् । विश्वमा सामान्यतया एक हजार शिशु जन्मिँदा चार जना जुम्ल्याहा हुने गर्छन् । भारतको अन्यत्र भागमा यो संख्या नौ छ ।
स्थानीय बासिन्दा भने यो गाउँका जनतामाथि भगवानको कृपा बढी भएको विश्वास गर्छन् । तर, बैज्ञानिकहरू यो भनाइलाई अन्धविश्वास मान्छन् । ब्राजिल, भियतनाम, केन्याजस्ता बढी जुम्ल्याहा जन्मिने मुलुकको अध्ययन अनुसन्धानमा जुटिसकेका वैज्ञानिकहरू कोडिन्हिमा पनि आउने जाने गरेका छन् । उनीहरूले अनुसन्धानार्थ यहाँका जुम्ल्याहाको र्याल र कपाल नमुना लिएर जाने गरेका छन् । यतिखेर प्राडा थिरुमालास्वामी भेलाभानको नेतृत्वमा चिकित्सक र बैज्ञानिकहरू रहस्य पत्ता लगाउन खोज्दैछन् । फेलिक्स फ्रान्सिसी फाउरे सन् १८९५ देखि १८९९ सम्म फ्रान्सको राष्ट्रपति थिए । सन् १८९९ फ्रेब्रुवरी १६ का दिन राष्ट्रपति निवासमै अकस्मात हृदयाघातले निधन भयो । उनी कार्यालयमा प्रेमिका मार्गुरेट स्टाइनहलसँग मैथुनरत थिए ।
त्यही बेला हृदयाघातका कारण निधन भयो । समाचार अनुसार उनी र मार्गुरेट कार्यालयको टेबुलमै मैथुनरत थिए । मार्गुरेट उनीभन्दा २८ वर्ष कान्छी थिइन् । त्यसबेला उनी चित्रकार एडोल्फ स्टाइनहलकी पत्नी थिइन् भने फाउरे पनि बेर्थे बेलुटका लोग्ने थिए । त्यो दिन बिहानै फाउरेले फोन गरेर मार्गुरेटलाई मध्याह्नपछि अफिसमा आउन भने । मार्गुरेट राष्ट्रपति भवनमा पुगेको एकछिनपछि कर्मचारीले फाउरेलाई सोफामा उत्तानो परेको देखे । उनीहरू भित्र गएपछि मार्गुरेटले बल्ल आफ्नो लुगा लगाइन् । कर्मचारीहरूको भनाइ थियो, मार्गुरेट फाउरेसँग मुखमैथुनमा थिइन् अनि सोही बेला हृदयाघात भयो ।
फाउरे सोफामा ढलिसक्दा पनि उनको हात मार्गुरेटको कपालमा अल्झिएको अवस्था थियो । फाउरे र मार्गुरेटको भेट सन् १८९७ मा भएको देखियो । पहिलो भेट नै उनीहरूले ‘सम्बन्ध’ बनाउन थालेका थिए । फाउरेले एउटै समयमा मार्गुरेट र अभिनेत्री सेसिल सोरेससित अन्तरंग सम्बन्ध राखे । फाउरेको निधनपश्चात् मार्गुरेटले थुप्रै गन्यमान्य ब्यक्तिसित सम्बन्ध जोडिन् । आत्मकथामा उनले फाउरेबाट मोतीको हार उपहार पाएको उल्लेख गरेकी छन् । उनको निधन उक्त घटनाको ५५ वर्षपछि सन् १९५४ मा भयो ।
अन्त्यमा, भारतकी फलामे लेडी इन्दिरा गान्धी बिहेपछि मेमुना बेगम बनेको धेरैले दावी गर्छन् । त्यसो भन्नेहरूका अनुसार फिरोज जहाँगिर गान्धीसँग सन् १९४२ मा बिहे गरेपछि इन्दिरा प्रियदर्शिनीबाट मेमुना बेगम बनेकी थिइन् । घान्दी पारसीहरूको थर हो, जसलाई पछि ‘गान्धी’ उच्चारण गर्न थालियो । त्यसैले महात्मा गान्धी र फिरोज गान्धीको ‘गान्धी’मा ठूलो अन्तर छ । उता, भारतीय कूटनीतिज्ञ तथा गान्धी र नेहरू परिवारसित घनिष्ट सम्बन्ध भएका मुहम्मद युनुसले सन् १९८० मा प्रकाशित आफ्नो पुस्तक व्यक्ति, जुनुन और राजनीतिमा सञ्जय गान्धीका पिता आफू भएको दावी गरेका छन् । के.एन.रावले पनि आफ्नो पुस्तक ‘नेहरू राजवंश’मा यसै कुरालाई दोहोर्याएका छन् ।
