संसारको आधा आकाश ओगटेको नारीले इतिहासभर धेरै संघर्ष सहेर आफ्ना अधिकार प्राप्त गरेकी हुन् । एक समय यस्तो पनि थियो, जब महिलालाई घरको चौघेराभन्दा बाहिर सोच्न पनि दिइँदैनथ्यो । काम धेरै, तर अधिकार थोरै, यही अन्यायका विरुद्ध आवाज उठाउँदै सन् १९०८ तिर अमेरिकाका महिलाहरू सडकमा उत्रिए ।
त्यसै आन्दोलनको चेतनाबाट पछि सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा भएको महिला सम्मेलनमा जर्मन अधिकारकर्मी Clara Zetkin ले महिलाको अधिकारका लागि विशेष दिन मनाउने प्रस्ताव राखिन् । त्यही प्रस्तावको आधारमा ८ मार्चलाई अन्तर्राष्ट्रिय रूपमा नारीको संघर्ष, सम्मान र समानताको प्रतीक दिवस बनाइयो । पछि संयुक्त राष्ट्रसंघले सन् १९७५ देखि यसलाई औपचारिक रूपमा मान्यता दिएपछि आज संसारका धेरै देशहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउन थालेका छन् ।
नारी दिवस मनाउनुको उद्देश्य केवल उत्सव गर्नु मात्र होइन, महिलामाथि हुने भेदभाव, हिंसा र अन्यायविरुद्ध चेतना जगाउनु हो । शिक्षा, स्वास्थ्य, रोजगारी, नेतृत्व र निर्णय प्रक्रियामा महिलालाई समान अवसर दिलाउनु पनि यसको मुख्य लक्ष्य हो । आजको नारी केवल घरको जिम्मेवारी सम्हाल्ने मात्र होइन; उनी आमा, छोरी, दिदी, पत्नीका साथै शिक्षक, डाक्टर, वैज्ञानिक, नेता र समाज परिवर्तनको शक्तिशाली आधार पनि हुन् ।
त्यसैले नारी दिवसले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ, नारीलाई सम्मान, अवसर र स्वतन्त्रता दिएर मात्र समाज साँचो अर्थमा समृद्ध र सभ्य बन्न सक्छ । हरेक वर्ष मार्च ८ का दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । यो दिवस केवल उत्सव मनाउने दिन मात्र होइन, नारीको अधिकार, सम्मान, सुरक्षा र समानताको लागि विश्वले गरेको प्रतिबद्धताको प्रतीक पनि हो ।
समाजको विकास, परिवारको समृद्धि र मानव सभ्यताको निरन्तरता कायम राख्न नारीको योगदान अपरिहार्य छ । त्यसैले आजको दिन नारीको संघर्ष, बलिदान, शक्ति र महत्वलाई सम्झने तथा सम्मान गर्ने दिन हो । इतिहासमा हेर्दा धेरै समयसम्म नारीलाई समाजमा दोस्रो दर्जाको स्थानमा राखिएको पाइन्छ । धेरै ठाउँमा उनीहरूलाई शिक्षा, अवसर र स्वतन्त्रताबाट वञ्चित गरियो ।
पुरुष प्रधान सोच, अहंकार र सामाजिक परम्पराका कारण नारीलाई पछाडि पार्ने प्रयास भयो । आज पनि कतिपय स्थानमा नारीहरू विभेद, हिंसा र अन्यायको सामना गरिरहेका छन् । तर यथार्थमा नारी कमजोर होइनन्, उनीहरू आदि शक्ति हुन्, जीवनको मूल स्रोत हुन् । हाम्रो संस्कृतिमा पनि नारीलाई अत्यन्त उच्च स्थान दिइएको छ ।
प्राचीन संस्कृत श्लोकमा भनिएको छ, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।’
अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताहरू पनि प्रसन्न भएर बस्छन् । यसको अर्थ स्पष्ट छ, नारीको सम्मान भएको समाज नै सुखी र समृद्ध हुन्छ । नारी केवल घरको सदस्य मात्र होइनन्, उनी माया, करुणा र स्नेहको खानी हुन् । आमा, दिदी, बहिनी, पत्नी वा छोरीका रूपमा नारीले परिवारलाई प्रेमले बाँधेर राख्ने काम गर्छिन् । संसारको प्रत्येक महान व्यक्तित्वको सफलताको पछाडि कुनै न कुनै नारीको प्रेरणा र त्याग रहेको हुन्छ ।
आमा बिना जीवनको कल्पना नै सम्भव छैन । आमा नै सन्तानको पहिलो गुरु हुन्, जसले सन्तानलाई संस्कार, नैतिकता र जीवनको बाटो देखाउँछिन् । नारीले चहिन भने घरलाई खुशीको गुलदस्ता बनाएर सजाउन सक्छिन् । उनको माया, सहनशीलता र समर्पणले घरलाई स्वर्ग जस्तै सुन्दर बनाउन सक्छ । तर यदि नारीको सम्मान, माया र भावना बुझिएन भने त्यही घरमा अशान्ति र पीडाको वातावरण पनि बन्न सक्छ । त्यसैले परिवारमा नारीको सम्मान र उनको भावनाको कदर हुनु अत्यन्त आवश्यक छ ।
आजको युग परिवर्तनको युग हो । शिक्षा, विज्ञान, राजनीति, व्यापार, खेलकुद, कला र साहित्य—हरेक क्षेत्रमा नारीहरूले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् । संसारका धेरै देशहरूमा महिलाहरू राष्ट्रप्रमुख, वैज्ञानिक, डाक्टर, इन्जिनियर, शिक्षक र सफल उद्यमी बनेका छन् । यसले प्रमाणित गर्छ कि अवसर पाए नारी पनि पुरुष जत्तिकै सक्षम र सफल हुन सक्छिन् ।
अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ, ‘Behind every successful man, there is a woman.’
अर्थात् प्रत्येक सफल पुरुषको पछाडि कुनै न कुनै महिलाको प्रेरणा हुन्छ । यो भनाइले नारीको योगदानलाई स्पष्ट रूपमा देखाउँछ । वास्तवमा सफल समाज निर्माण गर्न पुरुष र नारी दुबैको समान सहभागिता आवश्यक हुन्छ । तर समानता भनेको प्रतिस्पर्धा होइन, सहकार्य हो । पुरुष र नारी दुबै एकअर्काका पूरक हुन् । एकले अर्काको सम्मान गर्दै हातेमालो गरे मात्र परिवार, समाज र राष्ट्रको समृद्धि सम्भव हुन्छ ।
यदि पुरुषले आफ्नो अहंकार त्यागेर नारीको सम्मान गरे र नारीले पनि आफ्नो शक्ति र सकारात्मक सोचलाई समाज निर्माणमा प्रयोग गरिन् भने संसार अझ सुन्दर बन्न सक्छ । आजको दिनले हामी सबैलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ, नारीलाई केवल एक दिन सम्मान गरेर पुग्दैन, हरेक दिन उनको सम्मान र अधिकार सुनिश्चित हुनुपर्छ । छोरीलाई शिक्षा, अवसर र स्वतन्त्रता दिनुपर्छ ।
महिलालाई सुरक्षित वातावरण, निर्णय गर्ने अधिकार र समान अवसर उपलब्ध गराउनु समाजको कर्तव्य हो । हाम्रो समाजमा अझै पनि कतिपय मानिसहरू नारीलाई कमजोर ठान्छन् । तर वास्तविकता के हो भने नारी जीवनको सृष्टिकर्ता हुन् । उनी बिना संसारको अस्तित्व नै सम्भव छैन । नारीले सन्तान जन्माउँछिन्, परिवार सम्हाल्छिन्, समाजलाई संस्कार दिन्छिन् । त्यसैले नारीलाई कमजोर होइन, सृष्टिको शक्ति भनेर सम्मान गर्नुपर्छ ।
संस्कृतमा अर्को सुन्दर वाक्य छ, ‘नारी शक्तिः परमा शक्तिः ।’
अर्थात् नारी सबैभन्दा महान शक्ति हुन् । जब नारी शिक्षित, आत्मविश्वासी र सम्मानित हुन्छिन्, तब परिवारमा शान्ति, समाजमा समृद्धि र राष्ट्रमा प्रगति आउँछ । त्यसैले आजको दिन केवल नारीका लागि होइन, सम्पूर्ण मानव समाजका लागि प्रेरणाको दिन हो ।
