२०८२ फागुन ६ , बुधबार 18, February 2026, Wednesday

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत खत्रीले भने, ‘द्वेषपूर्ण अभिव्यक्ति नदिनुहोला’

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ फागुन ६ गते बुधबार

बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचनको आचारसंहिताविरुद्ध कसैले द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह गरेका छन् । नेपालगन्जमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै आचारसंहिता अनुगमन अधिकृत खत्रीले बाँकेमा फागुन ४ गतेसम्मको अवस्था हेर्दा र समीक्षा गर्दा आचारसंहिता पालना सन्तोषजनक नै देखिएको बताए ।

उनले भने, ‘केही उम्मेदवारले अन्य उम्मेदवारप्रति द्वेषपूर्ण अभिव्यक्ति दिएको र ती अभिव्यक्तिलाई मिडियाहरूले प्रसारण गरेको पाइएको छ, उम्मेदवारहरू मात्र नभएर हरेक व्यक्तिले आचारसंहिता विरुद्ध हुने गरी अभिव्यक्ति नदिनुहोला ।’ उनले अनुगमन अधिकृतलाई आचारसंहिता उल्लङ्घन गर्ने र पालना नगर्नेलाई निर्वाचन आयोगले जरिवाना गराउन सक्ने र कारबाहीसम्म गर्न सक्ने अधिकार दिएको बताए ।

आचारसंहिता अनुगमन अधिकृत खत्रीले पहिलो पटक सम्झाउने, बुझाउने, विभिन्न सामाजिक सञ्जालमार्फत गरिएका द्वेषपूर्ण अभिव्यक्तिलाई हटाउन लगाउने गरिरहेको र पटक–पटक त्यस प्रकारका घटना दोहोरिएको पाइएमा कानुनी दायरामा ल्याइने उल्लेख गरे । उनले विगत वर्षहरू भन्दा यसवर्ष आयोगले नै उम्मेदवारको प्रचारप्रसार खर्चमा न्यून खर्च गर्न पाउने व्यवस्था गरेका कारण केही आर्थिक अनुशासन देखिएको उल्लेख गर्दै हरेक उम्मेदवार आर्थिक अनुशासन पालना गर्दै पारदर्शीता देखाउनुपर्नेमा जोड दिए ।

अनुगमन अधिकृत खत्रीले बाँकेका केही छापाखानाले आचारसंहिता विपरीत टोपी, झण्डा, टिसर्ट लगायतका निर्वाचन सामग्रीहरू छापिरहेको भन्ने सूचना आएको पनि जानकारी दिए । ‘जिल्लाका केही छापाखानाहरूले आचारसंहिता विपरीत उम्मेदवारका निर्वाचन सामग्रीहरू छापेको भन्ने सूचना प्राप्त भएको छ, उनीहरूलाई एकपटकलाई सम्झाएका छौँ, फेरि पनि दोहोरिएमा प्रहरीलाई स्पष्टसँग छापा हान्न र कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छौँ,’ आचारसंहिता अनुगमन अधिकृत खत्रीले भने ।

निर्वाचनलाई मध्यनजर गरी जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम गराउन र निर्वाचनलाई प्रतिकूल असर पार्ने गरी हुने क्रियाकलापलाई निस्तेज पार्नका लागि थप सुरक्षाकर्मीसहित आवश्यक सुरक्षा व्यवस्थाको बन्दोबस्त गरिएको जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले पर्यवेक्षक, सञ्चार क्षेत्र, राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायलाई आचारसंहिता विपरीतका गतिविधिहरू नगर्न आग्रह गरे ।

उनले जिल्लामा मतदाता शिक्षा अभियान पनि सञ्चालन भइसकेको जानकारी दिँदै आम जनतासम्म सकारात्मक सन्देश फैलाउन मिडियाको प्रमुख भूमिका हुने हुँदा मिडियालाई संयमित भएर निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न आग्रह गरे । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले आचारसंहिता पालना गरे–नगरेको अवस्था तथा पालना गरे के हुने र नगरे के हुने भन्ने विषयमा स्पष्ट हुन जरुरी रहेका कारण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

उनले सम्पूर्ण नागरिक लगायतका सरोकारवाला पक्षले आचारसंहिताका बारेमा जानकारी पाउनुपर्ने बताउँदै सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने उल्लेख गरे । उनले आचारसंहिताको कार्यान्वयनको अवस्थाका बारेमा पनि जनतालाई सुसूचित बनाउँदै अनुगमन तथा कारबाहीको दायरामा ल्याउन सरोकारवालालाई आग्रह गरे । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले सबै सरोकारवालाले आचारसंंहिता अध्ययन गरेर पूर्णरूपमा पालना गरे उल्लङ्घनका घटनाहरू नहुने बताइन् ।

उनले हरेक व्यक्तिले आफ्ना विचार धारणा राख्न पाउने तर विचारलाई दूरुपयोग गर्न नपाइने भन्दै कसैको पनि गोपनीयतालाई भङ्ग हुने खालका कार्यहरू हुन नहुने बताइन् । उनले आयोगले देशभरमा अनुगमन कार्य सुरु गरिसकेको तथा जिल्लागत रिपोर्टहरू केन्द्रमा पठाउने कार्य गरिरहेको जानकारी दिइन् । कार्यक्रममा निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, भयरहित स्वच्छ वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार