२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

निर्वाचन नजिकिँदै गर्दा साढे ७० हजारले लिए श्रम स्वीकृति

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन ५ गते मंगलबार

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन दुई साता पनि छैन । मतदान गर्ने दिन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जान साढे ७० हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । उनीहरूले माघमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार २०८२ माघमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७० हजार ५०३ छ ।

माघमा १०७ देशमा जान श्रम स्वीकृति लिनेमा ६२ हजार १६२ जना पुरुष र आठ हजार ३४१ जना महिला छन् । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ सुरु भए यताको सात महिना (साउनदेखि माघसम्म)मा वैदेशिक रोजगारीमा जान कुल चार लाख ७२ हजार ५७७ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जान विभागबाट चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्ष पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या सात हजार ६९ ले बढी छ । अर्थात् अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा श्रम स्वीकृति लिनेको संख्या १.५१ प्रतिशतले बढेको छ ।

विभागको तथ्यांक अनुसार ०८२ साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार ५५९ र माघ ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् । माघमा युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, रोमानिया, जापान, साइप्रस, ओमान, बहराइन र क्रोएसिया जान सबैभन्दा ठूलो संख्याले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

माघमा यूएई जान १५ हजार १३७, साउदी जान ११ हजार ५९२, कतार जान ११ हजार ५८०, मलेसिया जान १० हजार ३४१, कुवेत जान ५ हजार ४४३, रोमानिया जान ३ हजार ९४०, जापान जान एक हजार ७६०, साइप्रस जान एक हजार २५५, ओमान जान एक हजार २०५, बहराइन जान एक हजार १२७ जना र क्रोएसिया जान ८४८ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१–०८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार