२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

हुम्लाका निर्वाचन प्रहरी आन्दोलित, प्रशासन कार्यालय घेराउ

सत्यपाटीसत्यपाटी । हुम्ला । २०८२ फागुन ५ गते मंगलबार

सेवा सुविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीहरूले नाराबाजी गरेका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा सुविधाको कुरा उठाएर नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको बताए ।

‘म निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छु,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘निर्वाचन प्रहरीहरूको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको छ ।’ २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानसरह प्रतिदिन ८६९.४० रुपैयाँका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ रुपैयाँ पाउँछन् । उनीहरूले मतदानको दिनको अघिपछि गरेर चार दिनका निम्ति प्रतिव्यक्ति प्रतिदिन ३०० रुपैयाँका दरले एकमुष्ट एक हजार २०० रुपैयाँ खाजा खर्च समेत पाउँछन् ।

हिमाली क्षेत्रका म्यादी प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही रकम बढी पाउने गर्दछन् । फरक सुविधाका कारण हिमाली क्षेत्रको हकमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५७० रुपैयाँ हुन आउँछ भने पहाडी क्षेत्रमा सात हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा छ हजार १७० रुपैयाँ पाउँछन् ।

तर हुम्लाका निर्वाचन प्रहरीहरुले पहिले भनिएको भन्दा कम तलब दिन लागिएको भन्ने सुनेपछि आन्दोलनमा उत्रिएका हुन् । प्रमुख जिल्ला अधिकारी रेग्मीले भने नियम कानुन अनुसार नै उनीहरूले सेवा सुविधा पाउने बताउँदै भने, ‘केही मिसअन्डरस्ट्यान्डिङका कारण उनीहरू आन्दोलित भएका हुन सक्छन् ।’

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार