दाङमा तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।
यहाँको तोरीको माग काठमाडौँ, पोखरा, चितवन, नेपालगन्ज लगायत जिल्लामा धेरै छ । ‘उत्पादन भएको तोरी कुनै पनि किसानलाई बजारको समयस्या नभएकाले पनि खेती गर्ने किसानको संख्या तथा क्षेत्रफल बढेको हो,’ उनले भने ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइ दाङका तोरी जोन अनुसार क्षेत्रफलसँगै उत्पादन वृद्धि भएको हो । आर्थिक वर्ष २०७९–०८० मा तोरी जोन अन्तर्गतको क्षेत्रमा एक हजार २०० हेक्टरमा खेती गरिएको थियो ।
जसमा एक हजार ९३२ मेट्रिक टन तोरी उत्पादन भएको तोरी जोनका प्रास सूर्यज्योति केसीले जानकारी दिए । आव २०८०–०८१ मा एक हजार २०० हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार चार मेट्रिक टन तोरी उत्पादन भएको थियो ।
आव २०८१–०८२ मा एक हजार २४२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १२३.८२ मेट्रिक टन उत्पादन भएको हो । आव २०८२–०८३ मा एक हजार २७८.०२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १९८.१९ मेट्रिक टन उत्पादन भएको छ । प्रतिहेक्टर १.७२ उत्पादकत्व रहेको छ ।
तोरी जोनले किसानलाई प्राविधिक, बीउ तथा प्रविधिमा सहयोग गर्दै आएको परियोजनाका प्रास केसीले बताए । तोरी जोन पश्चिम क्षेत्रको दंगीशरण, शान्तिनगर, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरको केही वडामा सञ्चालनमा छ । तोरीखेती गर्ने किसानले क्षेत्रफलसमेत विस्तार गर्दै गएका छन् ।
किसानले प्रतिक्विन्टल १४ हजार रुपैयाँमा तोरी बिक्री गरेको बताएका छन् । पश्चिम क्षेत्रमा उन्नत जातका तोरीखेती गर्दै आएको केसीले बताए । किसानलाई तोरी जोनले बीउमा ५० प्रतिशत अनुदान, प्राविधिक सहयोग तथा प्रविधिमासमेत अनुदान दिँदै आएको छ ।
तोरीखेती छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको संख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सत्यपाटी