काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन् ।
सो जहाजमा रहेका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका बताए । एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए ।
उक्त जहाज धनगढीका लागि काठमाडौँबाट ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ः०० बजे जहाज काठमाडौं फिर्ता भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।
प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार
सत्यपाटी