२०८२ फागुन ६ , बुधबार 18, February 2026, Wednesday

सिलिगुडीमा गुञ्जिँदै नेपाली सांगीतिक व्याण्ड ‘नेपथ्य’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ७ गते बुधबार

नेपाली सांगीतिक व्याण्ड ‘नेपथ्य’ पहिलोपटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ । भारतमा दर्ता भएको नेपाली कम्पनी पीभीई नेटवर्कले आउँदो फेब्रअुरी २८ मा आयोजना गर्न लागेको ‘नेपथ्य लाइभ सिलिगुडी’ मा नेपथ्यले गीत प्रस्तुत गर्न लागेको हो । कन्सर्ट उत्सोधारा टिष्टा टाउनशिप, कावाखली ग्राउन्डको पछाडिको क्षेत्रमा हुनेछ ।

उत्तर बंगालको प्रवेशद्वारका रूपमा परिचित सिलिगुडीमा पूर्वी भारत र हिमालयन क्षेत्रका नेपाली संगीतप्रेमीहरूमाझ सांस्कृतिक आदानप्रदानका रूपमा स्थापित गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको आयोजकको भनाइ छ । सिलिगुडी कन्सर्ट पीभीई नेटवर्कले यस क्षेत्रमा गर्न लागेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रत्यक्ष कन्सर्ट हो ।

पीभीई नेटवर्कका संस्थापक विकेश कायस्थले सिलिगुडीमा नेपथ्य ल्याउनु संस्थाको विश्वासको प्रतिबिम्ब रहेको बताए । ‘यस क्षेत्रमा दर्शकहरूले ठूला कन्सर्टको अनुभव लिन पाउनुपर्छ । हाम्रो उद्देश्य विश्वस्तरीय कन्सर्ट अनुभव प्रदान गर्नु हो र नेपथ्यको सांगीतिक सांस्कृतिक धरोहरको सम्मान गर्नु हो,’ उनले भने ।

कायस्थका अनुसार नेपाल र भुटानका दर्शकहरू कार्यक्रममा सहभागी हुने अपेक्षा छ । त्यस्तै भारतका मुम्बई, बेंगलुरु, नयाँ दिल्ली र पूर्वोत्तर क्षेत्रबाट दर्शकले पनि कन्सर्टबारे चासो देखाएका छन् । नेपथ्यको कार्यक्रमका लागि आयोजकले अर्ली बर्ड टिकटहरू अनलाइनमा उपलब्ध गराएका छन् र ती बिक्री पनि भइसकेका छन् ।

आयोजकका अनुसार हाल सीमित टिकटहरू मात्र बाँकी छन् । नेपालमा खल्ती बाई आइएमई टिकेटिङ साझेदारको रूपमा टिकटहरू उपलब्ध छन् । तीन दशकअघि स्थापित नेपथ्य दक्षिण एसियाका प्रभावशाली ब्यान्डहरूमध्येमा पर्छ । जसको संगीत सामाजिक जनजीवन, आप्रवासन, पहिचान र साझा स्मृतिमा आधारित छ ।

यसअघि पनि उनीहरूको गीतहरू उत्तर बंगल, सिक्किम, नेपाल र छिमेकी क्षेत्रहरूमा लोकप्रिय भइसकेका छन् । नेपथ्यको यो कन्सर्ट सिलिगुडी संस्करणको इतिहासमा दोस्रो ठूलो टिकटसहितको कन्सर्ट हो । जहाँ यसअघि यस्तै कन्सर्ट अरिजित सिंहले गरेका थिए ।

यसअघि यसको प्रोपाइटरी आइपी कन्सर्ट ‘लेट्स गेट लाउड–इण्डिया सिरिज’ले सज्जन राज वैद्य लाई प्रस्तुत गरेको थियो । ‘लेट्स गेट लाउड–इण्डिया सिरिज’ गत वर्षको नोभेम्बरमा सिलिगुडी र सिक्किमको गान्तोकमा १२ हजारभन्दा बढी दर्शकको उपस्थितमा भएको थियो । गान्तोक शो सिक्किमको सबैभन्दा सफल टिकटसहितको प्रत्यक्ष कन्सर्टको रुपमा चित्रित छ ।

नेपथ्यले नेपालसहित युएई, अस्ट्रेलिया, युरोप, जापान, र अमेरिकामा सयौँ कन्सर्ट गरिसकेको छ । पीभीई नेटवर्क दक्षिण एसियाको प्रमुख मनोरञ्जन प्लेटफर्मको रूपमा स्थापित भइसकेको छ । यसले ४० भन्दा बढी शहरमा ३०० इभेन्ट सञ्चालन गरेको छ भने ५० नेपाली कलाकारसँग सहकार्य गरिसकेको छ ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार