रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाकेको राप्तीसोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ । पुसको चिसो बिहान, कुहिरो र सिरेटोबीच रामपति दैनिक जीवनको जिम्मेवारी बोकेर बगरमा आइपुग्छन् ।
छोराछोरीलाई खाना खुवाएर बिहान ८ बजेसम्म उनी सखरखण्ड खन्ने ठाउँमा पुग्छन् । बिहानदेखि बेलुकासम्म कठोर श्रम गरेर उनी दैनिक ६०० रुपैयाँ कमाउँछन् । ‘दिनभरिको कमाइले घर व्यवहार चलाउन सकेको छु,’ उनले भने । गाउँकै व्यक्तिले बगरमा सखरखण्ड लगाएका थारुले बताए ।
सखरखण्ड बालुवाबाट केलाएर झेउवामा हाल्ने र बिक्रीका लागि थुप्रो बनाउने काम रामपतिले दिनहुँ गर्छन् । रामपति जस्तै सोही पालिका वडा नम्बर ६ मेहमानपुरका वीरबहादुर थारुको पनि यही दैनिकी बनेको छ । उनी पनि राप्ती नदीको बगरमाथिको बालुवामा लगाइएको सखरखण्ड खन्न दिनहुँ आइपुग्छन् ।
दैनिक करिब १० घण्टा काम गरेर उनले पनि रामपतिले जस्तै ६०० कमाउँछन् । ‘घरमा पनि गर्ने खेती नै हो । अहिले खेतीको सिजन छैन । गाउँकै साथीले लगाएको हुनाले खाली समय काम गरेर कमाउन आएको हुँ,’ उनले भने, ‘दैनिकी ज्याला थोरै भयो । तर खाली बस्नुभन्दा त यही पनि ठूलो कुरो हो ।’
जाडो याममा धेरै व्यक्ति आगो तापेर घरभित्रै बस्न चाहन्छन् । तर डाँडाटपरीका नन्कु गदिया भने बिहानै सखरखण्ड खन्न बगरतर्फ लाग्छन् । उनी पनि रामपति र वीरबहादुर जस्तै दैनिक ज्यालामा काम गरेर परिवारको गुजारा चलाउँदै आएकाछन् । सखरखण्ड खनेर कमाएको पैसाले परिवार र घर खर्च जोहो गर्न सहज भएको उनी बताउँछन् ।
‘यो समय यसै पनि किसानहरू खाली बस्ने समय हो । तर यो समयमा सखरखण्ड खनेर भए पनि पैसा कमाउन पाएको छु,’ उनले भने, ‘यसले मेरो घर खर्च चल्न सजिलो बनाएको छ ।’ बिहानको चिसो सिरेटोसँगै रामपति, वीरबहादुर र नन्कु जस्तै अन्य कामदार पनि सखरखण्ड खन्न राप्ती नदीको बगरमा आइपुग्छन् ।
यही बगरमा डाँडाटपरीका ४५ वर्षीय फत्तेसिंह थारुले विगत ९ वर्षदेखि करिब २५ कठ्ठा क्षेत्रफल जग्गा भाडामा लिएर सखरखण्ड खेती गर्दै आएका छन् । ‘मैले २०७४ सालमा बगरमाथिको यो जग्गा भाडामा लिएर सकरखण्ड खेती गर्दै आएको छु,’ उनले भने, ‘सुरुआती वर्षहरूमा नदीले डुबान पारेर बगरमा लगाएको सखरखण्ड सबै डुबाइदियो । त्यतिबेला मलाई लगभग ६०–७० हजार रुपैयाँ जति घाटा लागेको थियो ।’
फत्तेसिंहका अनुसार उनी सखरखण्डसँगै तरबुजा खेती पनि गर्दै आएका छन् । सुरुआती वर्षहरूमा नदीको बहाव नियन्त्रण गर्न नसक्दा ठूलो घाटा बेहोर्नु परेको उनी बताउँछन् । ‘पहिला पहिला त खासै अनुभव थिएन । नदीको बगरमा लगाएको हुनाले नदीको बहावले मलाई धेरै घाटा बनायो । अहिले काम गर्दै जाँदा नदीको बहावलाई कसरी रोक्ने भन्ने कुराको अनुभव भयो र अहिले खासै घाटा भएको छैन,’ फत्तेसिंहले भने ।
४५ हजारको लगानीमा लगाएको सखरखण्ड फत्तेसिंहले यस वर्ष ६५ क्विन्टल उत्पादन गरिसकेका छन् । हाल सखरखण्ड प्रतिकिलो ६० का दरले किसानबाट खरिद भइरहेको छ भने बजारमा ८० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ ।
‘अरु खेतीको तुलनामा यो खेती गर्न धेरै सजिलो छ । तर नदीको बहावको धार फर्काउन सक्नुपर्दछ,’ उनले भने, ‘यसको बिरुवा उमार्न पनि खासै गाह्रो छैन । उम्रिसकेपछि फल्न फलाउन धेरै मिहिनेत गर्नुपर्दैन । तर यसलाई लगाउन कामदार धेरै चाहिन्छन र समय पनि धेरै खर्च हुन्छ ।’
फत्तेसिंहले फलाएको सखरखण्ड नेपालगन्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङ लगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिन्छ । सखरखण्ड खरिद गर्न अहिले व्यापारी राप्ती नदीको बगरमा आउने गरेका छन् । फत्तेसिंहले सखरखण्डका बिरुवा आफ्नै घरमा उमार्ने गर्छन् ।
