२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

कोदो र मकै फल्ने बारीभरि लटरम्म सुन्तला, तर भाउ छैन

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ पुस ७ गते सोमबार

पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिँदैछ । गाउँमा भएकाहरू पनि शहर झर्ने मिति जुराउँदै छन् । जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुन् । १३ वर्षअघि सुविधा खोज्दै बागलुङ बजार झरेका उनी अहिले पनि प्रायः गाउँमै भेटिन्छन् । कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला । जिल्लामै अगुवा किसानका रूपमा परिचित कँडेलले बसाइँ सरे पनि जग्गा जमिन र घर छाडेका छैनन् ।

किमबोट गाउँमा उनको ३२० बोट सुन्तला छन् । यसमध्ये २५० बोटले फल दिइरहेका छन् । सुन्तलाको स्याहारसुसारका लागि उनी हरेक हप्ता गाउँ पुग्छन् । कँडेलले सुन्तला खेती गर्न थालेको साढे तीन दशक बढी भयो । २०४७ मा ३५ हजार रुपैयाँ लगानी गरेर सुरु गरेको सुन्तला खेती अहिले फस्टाएको छ । हरेक वर्ष आम्दानी बढ्दै गइरहेको छ । २०४७ सालमा कँडेलले सुन्तलाखेती शुरु गर्दा बागलुङ जिल्लामै सडक आएको थिएन ।

स्थानीय काशीराम कँडेलले बिहुँ क्षेत्रमा सुन्तला खेतीको शुरुआत गरेका छन् । उनीसँगै सिकेर कँडेलले सुन्तला लगाएका छन् । ६० वर्षीय कँडेलले १४ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । गाउँको माया र सुन्तला खेतीप्रतिको मोहले गर्दा बागलुङ छोडेर टाढा बसाइँ नसरेको उनी बताउँछन् । वरपरका छिमेकीले धमाधम गाउँ छोडेपछि आफूले पनि परिवार लिएर बागलुङ बजार आएको उनले बताए ।

बिरामी पर्दा नजिक उपचार गर्न आशले मात्रै आफू बजार झरेको र भएभरको सम्पत्ति गाउँमै रहेको कँडेलले बताए । अहिले पनि सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने आफू भएको दाबी गर्दै उनले भने, ‘औषधि पानी खाने अस्पतालको नजिक भनेर बजार झरेको, हाम्रो नातागोता र छरछिमेकी सबै तराईतिर गए, हामीहरु चाँही घर पायक पर्छ भनेर बागलुङ आयौं, यहाँबाट गाउँ नजिक छ, हरेक साता गाउँ जाने सुन्तलामा मल पानी लगाउने, गोडमेल गर्ने काम गर्छु ।’
उनका अनुसार बजारमा बस्ने भन्ने मात्रै मन दिनहुँ गाउँमा हुन्छ, गाउँमा धेरै सुन्तला छ, अझ यो बेला टिप्नका लागि तयार हुँदैछ, चोर लाग्ने डर हुन्छ । अहिले लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो, मकै उत्पादन गरेर जीविकोपार्जन गरेको कँडेलले स्मरण गरे । मकै र कोदो उत्पादन गर्दा वर्षभर खान नपुग्ने जनाउँदै अहिले सुन्तलाले जीवनस्तरनै परिवर्तन भएको कँडेल बताउँछन् ।

सुन्तला खेतीबाट छोराहरु पढाएको सुनाउँदै अहिले सबै जापान, अमेरिका र पोर्चुगल रहेको उनको भनाइ छ । सुन्तला खेती गर्न थालेपछि कुनै पनि जग्गा बाँझो राख्न नपरेको कँडेलले बताए । सुन्तलाखेती गर्दाका बखत सडकले गाउँ नजोडिएको भन्दै डोकोमा बोकेर बागलुङ बजार ल्याएर बिक्री गरेको स्मरण गर्दै उनले अहिले त्यस्तो अवस्था नरहेको बताए । बसाइँ सरेर तराई झरेकाहरुले पनि सुन्तलाको मायाले जग्गा जमिन नबेचेको उनले सुनाए ।

सुन्तला प्रशस्त फल्यो, तर भाउ छैन

बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । तर किसानले उचित मूल्य पाएका छैनन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०–५० मै ल्याउने गरेका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले व्यापारीका कारण किसान र उपभोक्ता मारमा परेको बताए । किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउँछन् । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उनले बताए । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउँछन् ।

उनले भने, ‘सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादन अनुसारको मूल्य पाउने हो भने यो क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०–५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।’ व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको उनले बताए ।

किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको अर्का किसान हरिप्रसाद कँडेलको भनाइ छ । किसानबाट प्रतिकिलो सुन्तला ८० मा खरिद गरेर बजारमा १०० रुपैयाँमा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उनी बताउँछन् । कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१.६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्याङ्क आउन बाँकी छ ।

प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार