२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

कमैया हुँदै करोडको मालिक बनेका केशवको ‘चमत्कारिक’ कथा

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ मंसिर १९ गते शुक्रबार

२० वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उनले पक्की घरमात्र ठड्याएका छैनन्, मासिक रु एक लाखसम्म कमाउने हैसियत बनाएका छन् । सामान्य संघर्ष मात्रले त्यो हैसियत बनेको होइन ।

बाल्यकालदेखि नै गरिबी, कमैया प्रथा र श्रमको बेडामा बाँधिएका डगौराको संघर्षमय यात्रा अहिले गाउँकै लागि प्रेरणादायी बनेको छ । उनी भन्छन्, ‘दुःख त धेरै भोगियो, तर मिहिनेत गरेको मान्छेलाई ईश्वरले हात समाइदिँदो रहेछ ।’ डगौराका बुवा वर्षौंसम्म जमिनदारको घरमा कमैया थिए । आमाको मृत्यु हुँदा उनी छ महिनाका मात्र थिए । बाल्यकालदेखि नै जमिनदारको घरमै हुर्कनुपरेका उनले १० वर्षको उमेरमा गोरु चराउने जिम्मेवारी पाए ।

१५ वर्ष पुग्दा बुवासँगै हलो जोत्ने काममा संलग्न भए । त्यसको केही समयमै ‘सौंकी हालेर’ कमैया बस्न बाध्य भए । घरजग्गा केही थिएन, आश्रय पनि जमिनदारकै ठाउँ थियो । ‘कमैया बस्नुबाहेक कुनै विकल्प थिएन,’ डगौराले सम्झे । कमैयाको दिनचर्या अत्यन्त कठोर थियो । बिहान सबेरै हलो जोत्ने, गोरुका लागि घाँस काट्ने र फुर्सदमा जमिनदारका भैँसी चराउने उनको दैनिकी थियो ।

चाडपर्वका दिन पनि गोरु स्याहारिसकेपछि मात्र बिदा मिल्थ्यो । ‘दसैँ, तिहार, माघी सबै दिन काम गर्नुपर्ने, कमैया जीवन भनेको कामकै बन्धन थियो,’ उनले विगत सम्झँदै भने । सौंकी लिएको रकमको ब्याज तिर्नुपर्ने बाध्यताले वर्षौं उनी त्यही गाह्रो चक्रमा बिताए । चार भाइमध्ये कान्छा डगौराले भने, ‘हामी चारै भाइ ठुलो भएपछि बुवालाई कमैया बस्न दियौँ, तर आफैँ कमैयाबाट मुक्त भने हुनसकेनौं, ती दिन सम्झँदा आज पनि मुटु काम्छ ।’

सरकारले कमैया मुक्तिको घोषणा गरेपछि डगौराको जीवनमा नयाँ मोड आयो । कमैयाका नाममा लिइएको सौंकी रकम सरकारले मिनाहा गरे पनि ‘अरूको ऋण खान मिल्दैन’ भन्दै उनले आफूले लिएको सौंकी रकम जमिनदारलाई फिर्ता गरे । त्यसपछि २०५८ सालमा पुनःस्थापना कार्यक्रम अन्तरगत झलारी बजार नजिकै चार कट्ठा घर वासको जग्गा पाए । त्यहीँ झुपडी बनाएर नयाँ जीवन सुरु भयो । त्यही समयमा गरिबी निवारण कोषले मुक्त कमैयाहरूका लागि समूह गठन गर्न थाल्यो ।

डगौरा पनि सो समूहमा आबद्ध भए । समूहको कर्जा र आयमूलक कार्यक्रममार्फत किराना, पशुपालनजस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय भयो । ‘मैले बंगुर पाल्ने निर्णय गरेँ,’ उनले भने, ‘समूहबाट पहिलो पटक रु १० हजार ऋण लिएर चार वटा बंगुरका पाठा ल्याएँ तर चुनौतीहरू अझै बाक्लिँदै थिए, खानका लागि अन्न थिएन, बंगुरका लागि चारो जुटाउन त परको कुरा भयो, केही दिन मजदुरी गरेर जीविका चल्यो, त्यसबाटै आएको रकमले बंगुरको चारो जुटाउन थालियो ।’

त्यही बेला अधियाका रूपमा दुई बिघा जग्गा खेती गर्न पाइयो । ‘त्यहाँबाट आएको अन्नले परिवारको पेट पाल्ने मात्र नभई बंगुरका लागि पनि चारोको व्यवस्था भयो । बचेको अन्न बेचेर समूहको ऋण तिर्न भ्याएँ, बंगुर हुर्कँदै गए, बेच्दा केही आम्दानी पनि भयो,’ उनी भन्छन्, ‘अर्को पटक समूहबाट रु ५० हजार ऋण लिने निर्णय गरेँ, सुरुमा सदस्यहरू आशंकित भए, तर कुटानी पिसानी मिल राखेर कर्जा तिर्ने आश्वासन दिएँ, त्यसपछि एउटा चक्की र धान कुट्ने हलर मेसिन राखेँ ।’

त्यतिबेला झलारी क्षेत्रमा विद्युत् थिएन, त्यसैले मिल डिजेल इन्जिनमा चलाइयो । चार वर्षभित्रै मिल चल्यो र ग्राहक बढ्दै गए । ‘मिल चलेपछि नाफा पनि मनग्गे भयो,’ डगौराले भने, ‘ग्राहक बढेपछि सानो मेसिनले नधानेपछि ठुला मेसिन राख्ने योजना बनाएँ, यसका लागि समूहबाट लिएको कर्जा तिरेर फेरि रु एक लाख ५० हजार कर्जा लिएर आधुनिक मेसिन जडान गरेँ ।’ यसबिच झलारीमा विद्युत् सुविधा पनि आइपुग्यो । रु २० हजार तिरेर डगौराले विद्युत् मिटर जडान गर्दा मिल डिजेलबाट विद्युत्मा चल्न थाल्यो ।

हालसम्म डगौराले मिलमा झण्डै रु सात लाखभन्दा बढी लगानी गरिसकेका छन् । अहिले दुई वटा सेलर, दुई वटा स्पेलर, दुई चक्की र आवश्यक विद्युतीय मोटरसहित मिल ठुलो परिमाणमा सेवा दिन सक्षम छ । मासिक कमाइबारे उनी भन्छन्, ‘खर्च कटाएर महिनामा रु ५० हजार जति बचत हुन्छ, सिजनमा त रु एक लाखभन्दा बढी कमाइ हुन्छ ।’ मिलबाट निस्कने खलि, ब्रानजस्ता वाइ–प्रोडक्ट बेचेर पनि थप आम्दानी भइरहेको छ । मिलबाटै आएको आयले डगौरा परिवारको हाल जीवनस्तर नै बदलिएको छ ।

पहिले झुपडीमा बस्ने उनी अहिले छ कोठे पक्की घर बनाएर त्यसमै बस्दै आएका छन् । मिल पनि पक्की पिलरसहित स्थायी संरचनामा विस्तार हुँदैछ । उनका पाँच छोरी र दुई छोरा सबै निजी विद्यालयमा पढ्दै आएका छन् । मिलका सबै काम मेसिन मर्मत, इन्जिन सरसफाइ, धान–गहुँ प्रशोधन उनी आफैँले सिकेका छन्, जसले मिस्त्री खर्च पनि बचत हुन्छ । श्रीमती भागरथी चौधरी पनि मिलमै काम गर्छिन् ।

‘पहिले के लगाउने, के खाने, कहाँ बस्ने भन्ने ठुलो चिन्ता थियो,’ भागरथीले भनिन्, ‘अब त्यो पिर छैन, कमाइले जीवन सहज भएको छ, छोराछोरीलाई राम्रो पढाइदिने मात्र चाहना बाँकी छ, हामीले विद्यालयको मुखसम्म देख्न पाएनौँ, छोराछोरी पढेर ठुलो मानिस बनेको हेर्ने इच्छा छ ।’ डगौराले कुखुरा, हाँस र बंगुरपालनलाई पनि निरन्तरता दिएका छन् । कुनै बेला कमैयाको कठोर जीवनमा बाँधिएका उनीहरू अहिले मिहिनेत, अनुशासन र सही निर्णयले आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् ।

यद्यपि, डगौरा दम्पतीको एउटै गुनासो छ, ‘गरिबका बालबालिकाले उच्च शिक्षा पढ्न सरकारबाट छात्रवृत्ति पाउनुपर्ने व्यवस्था सुनिन्छ, तर व्यवहारमा पाएका छैनौँ, यदि त्यो सुविधा प्राप्त हुन्थ्यो भने हाम्रा छोराछोरी पनि डाक्टर, इन्जिनियर वा पाइलटजस्ता पेसामा पुग्थे ।’ डगौराको जीवनले देखाउँछ, संकट र कठिनाइ कहिले पनि अन्त्य हुँदैन, सही समय, मिहिनेत र योजना भए जीवनको दिशा परिवर्तन गर्न सकिन्छ ।

स्रोत : रासस
प्रकाशित मिति : २०८२ मंसिर १९ गते शुक्रबार