नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित सिन्धुलीमा २७ अर्ब रुपैयाँको राँगा भैंसी मासु प्रशोधन तथा निर्यात केन्द्रित मेगा परियोजना यही महिनादेखि निर्माण सुरु हुन लागेको छ । यस परियोजना अन्तरगत अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक मासु प्रशोधन उद्योग निर्माण गरिनेछ ।
जहाँ प्रशोधन, प्याकेजिङ्गदेखि निर्यातसम्मका सबै चरणहरू आधुनिक प्रविधिबाट सञ्चालन हुनेछन् । चीनमा राँगा भैंसीको मासुको ठूलो माग रहेकाले नेपालका किसानले उत्पादन गरेको मासु अब सीधै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । परियोजना सञ्चालनमा आएपछि किसानका लागि निश्चित बजार, उचित मूल्य र स्थायी आम्दानी सुनिश्चित हुनेछ ।
चीनजस्तो विशाल बजारमा नेपाली राँगा भैंसीको मासु निर्यात गर्ने मार्ग खुल्दै जाँदा यो परियोजना नेपालका किसान, रोजगारी र राष्ट्रिय अर्थतन्त्रका लागि ‘गेम–चेन्जर’ बन्ने विश्लेषण गरिएको छ । साना तथा ठूला किसानलाई व्यावसायिक सहकारी मोडेलमार्फत जोडिने र पशुपालनलाई आधुनिक एवं वैज्ञानिक बनाउने योजना छ ।
यसले किसानको आम्दानी तीन गुना वृद्धि हुने, पशुपालन क्षेत्र नै नेपालमा स्थायी रोजगारीको स्रोत बन्ने अपेक्षा गरिएको छ । यतिमात्र होइन, यो मेगा परियोजनाले १२–१५ हजार प्रत्यक्ष रोजगार र ५० हजारभन्दा बढी अप्रत्यक्ष रोजगार सिर्जना गर्ने अनुमान छ । उद्योग, ढुवानी, चिस्यान, फिड उत्पादन, औषधि तथा भ्याक्सिन प्रणालीदेखि भू–परिवहनसम्मका क्षेत्रमा हजारौँ अवसर खुल्नेछन् ।
सिन्धुलीको आर्थिक पहिचान, स्थानीय पूर्वाधार र व्यावसायिक वातावरण पनि यस परियोजनाले नयाँ गति पाउनेछ । नेपालले पहिलोपटक कृषि–उत्पादनलाई ठूलो परिमाणमा प्रशोधन गरेर निर्यात गर्ने मोडेल अपनाउन लागेकाले यसले समग्र अर्थतन्त्रलाई दीर्घकालीन आधार प्रदान गर्ने विश्लेषण गरिएको छ ।
चीनतर्फ निर्यात सुरु भएपछि नेपालले वार्षिक अर्बौँ रुपैयाँ बराबरको विदेशी मुद्रा आय आर्जन गर्न सक्नेछ, जुन पशुपालन र कृषि–उद्योग दुवै क्षेत्रलाई बलियो बनाउने आधार हुनेछ । समग्रमा, सिन्धुलीमा सुरु हुन लागेको यो २७ अर्बको रागा भैंसी मासु निर्यात परियोजना केवल एउटा उद्योग मात्र होइन, नेपालको कृषि, उद्योग, रोजगारी, निर्यात र ग्रामीण विकास सबैलाई एकैपटक उकास्ने ऐतिहासिक कदमका रूपमा देखिएको छ ।
चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले स्थापना गर्ने उक्त उद्योगले उद्योग विभागबाट स्वीकृति पाइसकेको छ र यसले आगामी दुई वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग) उत्पादन गर्नेछ ।
उत्पादित मासुको ठूलो हिस्सा केरुङ नाका हुँदै चीनतर्फ निर्यात गरिनेछ, जसबाट वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको निर्यात हुने अनुमान छ । कम्पनीले सुरुमा दैनिक ५०० र पछि उत्पादन बढ्दै जाँदा दैनिक पाँच हजार वटासम्म राँगाभैंसी नेपालका विभिन्न जिल्लाबाट खरिद गर्ने योजना बनाएको छ । यसले नेपालको मासु निर्यातलाई व्यवस्थित र वैज्ञानिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
कुल १०० विघा जमिनमा निर्माण हुन लागेको आयोजनाको ५० विघा क्षेत्रफलमा मासु प्रशोधन कारखाना, भैंसी पालन गर्ने कम्प्लेक्स निर्माण र ४० विघा क्षेत्रफलमा घाँस उत्पादन हुनेछ । वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन छाला तथा भित्री अंग लगायत सहायक उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।
के छ योजनामा ?

मरिण गाउँपालिका–४ मा बन्ने थर्मल्ली प्रोसेस्ड कुक्ड वफेलो मिट फ्याक्ट्रीले ७ हजारभन्दा बढी रोजगारी सिर्जना हुने भनिएको छ । आयोजनाको संरचना पशुपालन, बधशाला, मासु प्रशोधन लगायतका सबै प्रकृया र क्रियाकलाप अन्तर्राष्टिय मापदण्ड अनुरुप बन्ने दावी गरिएको छ । आयोजनाका कार्यस्थलमा हुने श्रमिकको सुरक्षा सुनिश्चितता र स्वास्थ्यमा असर पुग्नबाट बचाउने गरी संरचना निर्माण हुने बताइएको छ ।
आयोजनाको संरचना निर्माणका लागि आवश्यक ५० विघा जमिनमध्ये १० विघा जमिन खरिद भइसकेको छ । अरु खरिदकै प्रकृयामा रहेको हिमालयन फुड इन्टरनेशनलले जानकारी दिएको छ । यो कम्पनी र चीनको सांघाई जियान फुड प्रालिबीच २०८० पुसमा नेपालबाट मासु निर्यातका लागि सम्झौता भएको थियो ।
कम्पनीका अध्यक्ष डा.नवीन शर्माले आयोजना नेपालकै लागि पहिलो र नविनतम भएको दावी गरे । यसमा आफूहरु सफल हुने उनको विश्वास छ । सुरुवातमा आयोजनामा २०० चिनियाँ प्राविधिक रहने छन् । पर्याप्त परिमाणमा भैंसीको उपलब्धता भएपछि दैनिक ९०० मेट्रिक टन मासु निर्यात गर्ने लक्ष्य राखिएको छ ।
चिनियाँ मापदण्ड र नेपालले पालना गर्नुपर्ने शर्त
नेपालबाट चीनमा मासु निर्यात त्यति सहज पनि छैन । चीनले भैंसीको मासु आयातमा कडा खालको मापदण्ड र शर्तहरु अघि सारेको छ । मासु आयातको हकमा चीनले अघि सारेको मापदण्ड अनुसार राँगा–भैंसी सम्पूर्ण रुपले रोगमुक्त हुनुपर्ने, नेपालमै भैंसी उत्पादन गर्नुपर्ने, खाद्य–स्वच्छताको पालना गरेको हुनुपर्ने, बध गर्ने राँगाभैंसी ३० महिनामुनिको हुनुपर्ने, बधशाला नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप हुनुपर्ने लगायत छन् ।
नेपालको अधिकांश राँगाभैंसीमा खोरेत रोग देखिन्छ । राँगाभैंसीको मासु निर्यातमा यो पहिलो चुनौती रहने देखिन्छ । अर्कोतर्फ नेपालमा भारतीय नाका हुँदै आयात भइरहेका राँगाभैंसीमा खोरेत रोग फेला परेको छ । खुला सीमाका कारण अवैध रुपमा आउने राँगाभैंसी नियन्त्रण गर्न सकिएको छैन । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुन्द उपाध्याय यसलाई सबैभन्दा ठूलो चुनौती देख्छन् ।
नेपालमा भैंसीको मासु उत्पादन

नेपालमा वार्षिक औसत एक लाख ९९ हजार मेट्रिक टन राँगाभैंसीको मासु उत्पादन हुँदै आएको छ । आर्थिक वर्ष २०७९–०८० मा झण्डै दुई लाख तीन हजार मेट्रिक टन राँगाभैंसीको मासु उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०–०८१ मा भने यसमा ४.४२ प्रतिशितले कमी आई एक लाख ९४ हजार मेट्रिक टनमात्रै मासु उत्पादन भएको थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा व्यावसायिक राँगापालन भइरहेको छ । राँगाभैंसीको मासु उत्पादन हुने प्रमुख जिल्लाहरुमा बाँके,सप्तरी, रुपन्देही, कैलाली, बारा, सुनसरी, कपिलवस्तु लगायतका जिल्ला छन् ।
ओसारपसारमा कडाइ
पशु सेवा ऐन २०५५ र पशु ढुवानी मापदण्ड २०६४ मा पशुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा चरम यातना दिन नपाइने उल्लेख छ । यद्यपी, यस नियमको पूर्ण रुपमा भने कार्यान्वयन भएको पाइँदैन । काठमाडौमा राँगाभैंसीको धेरै खपत हुने भएकोले नारायणगढ–मुग्लिन सडक खण्डबाट दैनिक सयौं राँगाभैंसीलाई कष्टपूर्ण यातना दिएर ल्याइएको पाइन्छ ।
एउटा ट्रकमा २० वटाभन्दा बढी भैंसी बोक्न नपाइने नियम छ तर ढुवानीमा राँगाभैंसीलाई चोटपटक लाग्ने गरी यातनापूर्वक बाँधेर ल्याइन्छ । पशु ओसारपोसार गर्दा सवारीमा घाँस, पराल र दानाको व्यवस्थापन गरेको हुनुपर्छ । प्रत्येक आठ घण्टा समयमा पशुलाई दाना पानी खुवाउनुपर्ने भए पनि यसको पूर्ण रुपमा पालना भएको पाइँदैन । चीनमा मासु निर्यात गर्नुअघि पशु ओसारपोसार सम्बन्धमा भएका कानुनको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छ । अन्यथा यसले नै निर्यातमा चुनौती थप्न सक्छ ।
सत्यपाटी