२०८२ कात्तिक ३० , आइतबार 16, November 2025, Sunday

८९ वर्षको यात्रामा नेपाल बैङ्क, पूर्ण डिजिटल बैङ्किङतर्फ उन्मुख

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ३० गते आइतबार

नेपाल बैङ्क लिमिटेडले ८९ वर्षको यात्रा तय गरेको छ । लेजर बुक, धातुको टोकन र पासबुकमार्फत सुरु भएको यसको यात्रा अब पूर्ण डिजिटल बैङ्किङतर्फ उन्मुख भएको छ । नेपालको जेठो वाणिज्य बैङ्क नेपाल बैङ्क आइतबारदेखि औपचारिक रूपमा ८९ औँ वर्षमा प्रवेश गरेको हो ।

विसं १९९४ कात्तिक ३० गते स्थापना भएको यो बैङ्कबाट नै नेपालमा संस्थागत बैङ्किङ प्रणालीको सुरुवात भएको हो । जनतामा ‘बैङ्क’ अभियानसहित अघि बढेको यो बैङ्क अहिले आधुनिक प्रविधि र जुझारु युवा जनशक्तिसहित देशभर सेवा प्रवाह गरिरहेको छ ।

सरकारी स्वामित्वमा सुरु भए पनि सार्वजनिक–निजी साझेदारी (पिपिए) मोडेलमा १० जना लगानीकर्ताको लगानीबाट प्रारम्भ भएको नेपाल बैङ्कले अहिले देशव्यापी सञ्जाल फैलाइसकेको छ । नेपाल बैङ्कले समय मात्र नभई एक राष्ट्रको आर्थिक चेतना परिपक्व हुँदै गएको प्रमाण पेस गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बताए ।

नेपालको बैङ्किङ इतिहासको जननीका रूपमा रहेको यो बैङ्कले अहिले समय अनुसार अपगे्रड भइरहेको उनले जानकारी दिए । गत आवको असार मसान्तसम्ममा तीन अर्ब ७७ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको बैङ्कको समग्रमा वित्तीय स्वास्थ्य राम्रो छ ।

सस्तो ब्याजदर भएकै कारण पहिलेदेखि नै नेपाल बैङ्क कर्जाका लागि आकर्षक रहेको सिइओ पाण्डेयले बताए । विश्वसनीयताकै कारण ग्राहकहरू निरन्तर आइरहेको उनको भनाइ छ । कर्जा र निक्षेप विस्तार भइरहेको बैङ्कमा चाालु आवको पहिलो त्रैमाससम्ममा दुई खर्ब ३६ अर्ब रुपियाँ कर्जा प्रवाह भएको छ भने निक्षेप तीन खर्ब ४२ अर्ब रुपियाँ रहेको छ ।

सञ्जाल विस्तारका हिसाबले ७१ जिल्लामा बैङ्क पुगेको छ भने देशका विभिन्न स्थानमा २३१ वटा शाखा, ६१ वटा एक्सटेन्सन काउन्टर र २३७ वटा एटिएम सञ्चालनमा छन् । बचतकर्ता र ऋणीसमेत गरेर बैङ्कसँग अहिले करिब २७ लाख ग्राहक रहेको जानकारी दिँदै पाण्डेले पूर्ण रूपमा प्रतिस्पर्धी र आधुनिक बैङ्कका रूपमा नेपाल बैङ्क अग्रसर रहेको बताए ।

सरकारी स्वामित्वमा रहे पनि नियामक निकायको नियमनमा बसेर काम गर्न निजी क्षेत्रका बैङ्कसँग काँधमा काँध र कुममा कुम जोडेर बैङ्क अगाडि बढिरहेको उनको भनाइ छ । अहिले कर्जाको तुलनामा निक्षेप उच्चदरले बढिरहेको भन्दै उनले यसलाई व्यवस्थापन गर्नका लागि उपयुक्त अवसर नभएको बताए ।

अहिले बजारमा आइरहेको हल्लाले देशको अर्थतन्त्रको भविष्यबारे चिन्ता प्रकट भइरहेको अवस्थामा बैङ्किङ क्षेत्रमा प्रशस्त मात्रामा तरलता रहेको उनको भनाइ छ । बैङ्कले ८९ वर्षको अवधिमा विभिन्न उतारचढाव सामना गर्दै अहिले अन्य सरकारी तथा निजी बैङ्कसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको बैङ्क अहिले नयाँ नयाँ प्रविधिको प्रयोगले आमग्राहकलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ । नेपाली बैङ्क बजारमा अत्याधुनिक प्रविधिमैत्री, प्रभावकारी कर्मचारी र देशभर शाखा सञ्जाल भएको बैङ्कका रूपमा नेपाल बैङ्क परिचित छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार