२०८२ कात्तिक २९ , शनिबार 15, November 2025, Saturday

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २९ गते शनिबार

सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ ।

प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठुलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ । प्राधिकरणको विवरण अनुसार कात्तिक २७ गते देशभर, १६ स्थानमा आगलागीका घटना भएका छन् । त्यसदिन बारा र रुपन्देहीका दुई स्थानमा आगलागीको घटना भएको थियो ।

त्यस्तै, पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बाग्लुङ र हुम्लामा भएको आगलागीका कारण भौतिक सम्पत्ति जलेर नष्ट भएको छ । प्राधिकरणका अनुसार, कात्तिक २६ गते देशभर ११ स्थानमा आगलागीका घटना भए । कात्तिक २५ गते आठ स्थानमा, कात्तिक २४ गते देशभर नौ स्थानमा आगलागीका घटना भएका थिए ।

जनचेतना र असावधानीका कारण आगलागीका घटना भएको भन्दै प्राधिकरणले सबैलाई सचेत गराएको छ । यस्तै, शुक्रबार मात्रै ताप्लेजुङमा लेक लागेर तीन जना बिरामी परेका छन् । कञ्चनजङ्घा आधार शिविर जानेक्रममा स्थानीय खामाचेन भन्ने स्थानमा दुई जापानी नागरिक लेक लागेर बिरामी परेका छन् ।

त्यस्तै, कञ्चनजङ्घा आधार शिविरबाट फर्कने क्रममा एक अमेरिकी नागरिकसमेतलाई लेक लागेको छ । मोरङ, सिन्धुपाल्चोक, म्याग्दी र बर्दियामा जनावर आक्रमणका कारण तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार