२०८२ कात्तिक २९ , शनिबार 15, November 2025, Saturday

कर्णालीका जिल्लामा पठाउने चामल नेपालगन्जमै थन्कियो

सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ कात्तिक २८ गते शुक्रबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तराईका जिल्लामा किसानबाट धान खरिद गरि कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पठाउँदै आएको छ । खाद्य संस्थानले बाँकेमा मोटा र मध्यम धान खरिद गरि त्यसबाट चामल बनाएर पहाडी जिल्लामा पठाउने गरे पनि बिक्री नहुँदा गोदाममै थन्किएको अवस्था छ ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले विगतमा यहाँबाट पठाइएको चामल बिक्री हुँदै आए पनि गतबर्षदेखि चामल बिक्री नभएर खाद्यको गोदाममै थन्किएको जानकारी दिए । उनले भने, ‘गत वर्ष पठाइएको चामल अहिलेसम्म बिक्रि नभएर गोदाममा थन्किएको छ, हाल नेपालगन्ज गोदाममा पनि २२ हजार क्वीन्टल चामल मौज्जाद रहेको छ ।’

लामो समयदेखि पहाडी तथा हिमाली जिल्लामा तराईका जिल्लाबाट चामल पठाउँदै आएको खाद्यले पछिल्लो समय ति जिल्लामा मोटा र मध्यम भन्दापनि स्टीम जिरा र बासमति चामलको माग बढेको जनाएको छ । मसिनो चामलको मागसँगै चामल महङ्गो हुनु, स्थानीयले ब्यापारीसँग उधारोमा चामल पाउनु लगायतका कारण चामल बिक्री हुन कम भएको खाद्यले दाबी गरेको छ ।

खाद्यले गत आवमा बाँके र बर्दियास्थित कारागारमा ३४ हजार ५२२ क्वीन्टल, कर्णालीमा २४ हजार ८०९ क्वीन्टल र कार्यालयबाट २४० क्वीन्टल चामल गरि ६१ हजार ३१ क्वीन्टल चामलको कारोबार गरेको थियो । खाद्यले यस वर्ष २० हजार क्वीन्टल धान खरिद गरिरहेको छ । गत वर्षको चामल बिक्री नभएपछि खाद्यले यो बर्ष धान खरिदको कोटा घटाएको छ । गत बर्ष ३२ हजार क्वीन्टल धान खरिद गरिएको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार