२०८२ कात्तिक २९ , शनिबार 15, November 2025, Saturday

‘जेनजी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २८ गते शुक्रबार

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए । उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ ।

सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ ।

वर्गीकरण अनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइने छ । सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले जानकारी दिए । तीमध्ये ११ जनाको अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार