विभिन्न समयमा फरक–फरक मागसहित आन्दोलन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सरकार सतर्क बनेको छ । आइतबार उनले छठपछि काठमाडौं नाकाबन्दी गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेपछि सरकार झस्किएको हो । प्रसाईंको गतिविधि केही दिनदेखि सरकारले निगरानीमा राखेको छ ।
शनिबार प्रधानमन्त्रीले राखेको सुरक्षा बैठकमा पनि सुरक्षा निकायका प्रमुखहरूले आगामी निर्वाचनमा प्रसाईंको गतिविधि प्रमुख चुनौती बन्न सक्ने बताउँदै प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यसपछि प्रधानमन्त्रीले वार्तामार्फत समस्या समाधान गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएका थिए ।
गृहमन्त्रीको निर्देशनमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले आइतबार प्रसाईंलाई बोलाएर छलफल गरेका थिए । तर, प्रसाईंले अबको आन्दोलन व्यवस्थाविरुद्ध हुने बताउँदै प्रशासनसँगको छलफललाई अर्थहीन ठहर गरेका थिए । हिन्दु धर्म स्थापनाको माग गर्दै आएका प्रसाईंले पत्रकार सम्मेलनमा विदेशी प्रभावमा बनेको सुशीला कार्की नेतृत्वको सरकार राष्ट्रिय हितविपरीत रहेको आरोप लगाउँदै मेची–महाकालीसम्म बन्द र नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।
सरकारले वार्ताबाट समाधान खोज्ने प्रयास गरिए पनि प्रसाईंका माग सम्बोधन हुन कठिन देखिएकाले सहमति हुने सम्भावना न्यून रहेको र आगामी निर्वाचनमा सुरक्षा चुनौती बढ्ने आकलन गरिएको छ । यसअघि पनि केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार पनि आच्छु आच्छु भएको थियो । उनको शृंखलाबद्ध आन्दोलन गर्दै आएका छन् । उनी आन्दोलनसहित आक्रामक ढंगले अगाडि बढेपछि सुरक्षा संयन्त्र नियन्त्रणमा लिन चुक्दै गएको छ ।