अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
दशैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाहरूको रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरूको रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ । आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ ।
मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ । छोटो अवधिमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुचि राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् ।
फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल हुँदै चार हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो । म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक ५०० जनाभन्दा बढी छ ।
बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठका अनुसार अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपालि कल्पना गरेको र भएका होटलहरूको क्षमताभन्दा धेरै सङ्ख्यामा पाहुना आएका छन् । उनले भने, ‘दशैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो विगतदेखिनै भए पनि यसपालि अन्नपूर्ण आधार शिविर जानेहरू पनि थपिँदा होटल, रेष्टुरेन्ट र होमस्टेहरूले थेग्न नसकेका हुन् ।’ आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरूले गोजीमा पैसा भएर पनि खाना र बस्नका लागि दुःख पाउने अवस्था आएको उनको भनाइ छ ।
होटलको क्षमताले नथेकेपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटल व्यवसायी र उद्योग वाणिज्य सङ्घले अग्रिम बुकिङ गरेर घुम्न आउन अनुरोध गर्नुका साथै कुश्मा, बागलुङ र पोखराका होटल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा बसोबासको व्यवस्था मिलाएका छन् । म्याग्दीका होटलमा दैनिक दुई हजार र मुस्ताङमा दैनिक तीन हजार जनासम्म पाहुनालाई सहज रूपमा व्यवस्थापन गर्न सकिने क्षमता छ । भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग, म्याग्दी र मुस्ताङका होटलहरू यो हप्ताको अन्तिमसम्म बुक भइसकेका छन् ।
उनले भने, ‘छठपछि स्कुल, कलेज, कार्यालय खुल्ने हुँदा पाहुनाको आगमन दर घटे पनि अकुपेन्सी राम्रो छ ।’ ‘जेनजी आन्दोलन’का कारण सोह्र श्राद्ध र प्रतिकूल मौसमले दसैँलगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई अहिले राहत मिलेको उनको भनाइ छ । सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
‘मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो,’ उनले भने । यात्रामा हिमालको फेदीमा पुग्न सकिने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरमा आकर्षित भएका हुन् । सामाजिक सञ्जालका सामग्री र सञ्चार माध्यममा प्रकाशन भएका समाचारले पनि पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
पर्यटक आगमनले म्याग्दी र मुस्ताङमा होटल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित गरेको, नयाँ लगानीको सम्भावना देखाएको तथा अन्नपूर्ण आधार शिविरको पदमार्गमा सीमित सङ्ख्याको क्षमतामा रहेका होटलहरूको क्षमता बढाउन राज्यलाई दबाब पुगेको उनले बताए । भ्रमणमा आउने पाहुनाहरूले अग्रिम बुकिङ गरेर आएमा व्यवस्थापनमा सहज हुने उनले बताए । भ्रमणमा आउने पर्यटकहरूले बेनी–जोमसोम सडकका म्याग्दी खण्डको अधुरो सडक स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो तथा कटान प्रभावित ठाउँको सडकलाई सुरक्षित बनाउन, होटलहरूको वर्गीकरण गरी सेवा शुल्कमा नियमित गर्नुपर्ने बताएका छन् ।
अन्नपूर्ण आधार शिविर जाने पर्यटकहरूले नारच्याङ–हुमखोला सडक मर्मत, यातायात भाडादरमा एकरूपता, पदमार्गका होटलहरूको क्षमता र सुविधा थप, सञ्चार तथा विद्युत् सुविधाको व्यवस्थापनको आवश्यकता औँल्याएका छन् । म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तीनै तहका सरकारका निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), निजी क्षेत्र र सरोकारवालासँग समन्वय गरी पर्यटन क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको पहल गर्ने बताएका छन् ।