२०८२ कात्तिक ११ , मंगलबार 28, October 2025, Tuesday
उपन्यास अंश

‘चित्त बुझे सत्कार, नबुझे बलात्कार’

मैले दुःख मान्दै भनेँ, ‘हो नि रञ्जित । आजभोलि महिलाहरूसँग जोगिएर बस्नुपर्छ । उनीहरूको ठुलो हतियार नै हो बलात्कार केस । चित्त बुझुन्जेल सत्कार, चित्त नबुझे बलात्कार ।
कल्पना खरेल
कल्पना खरेल । साहित्यकार
२०८२ असोज २६ गते आइतबार

अफिसमा कामको पेलान छ । हाकिमको कडा शासन छ । घरमा श्रीमती कचकच गर्छिन् । आमाको गुनासैगुनासा सुन्नुपर्छ । दिनभरि अफिसमा पैसाको कारोबार गर्यो । माथिबाट अनुगमनको टोली आएको छ । पटक्कै हिसाब मिल्दै मिल्दैन । अनुगमन टोली भन्छ, ‘सञ्जयजी, के गरेको यस्तो ? पाँच करोडको हिसाब गोलमाल छ । के गर्नुभयो ? क्यासियरको जिम्मेवारी यस्तै हुन्छ ? जसरी पनि हिसाब मिलाउनुपर्यो । जहाँबाट भए पनि परिपूर्ति गर्नुपर्यो ।’

हिसाबकिताब जति गरे पनि पटक्कै मिल्दैन । कहाँनिर मिस्टेक भयो भयो । त्यति ठुलो आर्थिक पाटो खोई कसरी मिलाऊँ ? घरपरिवारको तनाब, अफिसको तनाब खोई कसरी सुल्झाउने ? हिसाब नमिले जेबबाट तिर्नुपर्छ । तीन पुस्ताले तिर्नुपर्छ । दस दिन लगाएर हिसाब गर्र्यौं तर पटक्कै मिलेन हिसाबकिताब । अनुगमनले भन्यो, ‘सञ्जयजी अब तपाईंले कि जेल जानुपर्यो कि हिसाबकिताब चुक्ता गर्नुपर्यो । म डुब्नु डुबेँ, सागरमै डुबेँ । उत्रिन नमिल्ने गरी भासिएँ । रातदिनको तनाब भयो । न भोक न निद्रा सबै हराम भयो । चाडपर्व आउँदै छ । महिलाको महान् चाड तिज आयो ।

श्रीमतीले भनिन्, ‘बुढो म माइत जान्छु । रानीहार चाहियो । बुटिकको सारी चाहियो । तिम्री आमाको कचकच सुनेर कहाँ बस्छु र ? एक महिनादेखि तिजको रौनक चल्छ । पालो गरेर होटल जाने हो । हरेक पटक लुगा गहना फेरेर लागाउनुपर्छ । लुगा गहना देखाउने बेला यही हो । अरू साथी र दिदीबहिनीको भन्दा कमी हुनु भएन । नत्र त उनीहरूले मलाई हेप्छन् । वस्त्र आभूषण अरूको भन्दा राम्रो चाहियो ।’

श्रीमतीको कुरामा म बेजवाफ भएँ । कसरी उनको इच्छा पूरा गर्ने हो ? यता अफिसको तनाबले आत्महत्या गर्नु जस्तो भएको छ । त्यति ठुलो रकम कसरी हिसाब बुझाऊँ ? घाटा लागेको पैसा आफ्नो श्रीसम्पत्तिबाट चुक्ता गर्छ बैङ्कले । हिसाब बुझाएर चुक्ता गर्न नसके जेल जानुपर्छ । आमाले यो कुरा थाहा पाए के गर्नुहोला ? उहाँले नै आत्महत्या गर्न बेर छैन । किन कि उहाँले साह्रै दुःख गरेर बचाएको सम्पत्ति हो यो । त्यसो भयो भने त रोडपति नै भइन्छ । अफिसको तनाबले डिप्रेसन भयो ।

मैले अफिसको समस्या घरमा भन्नै सकिरहेको छैन । एउटी आमा, श्रीमती, परिवार सुखमा राख्छु भनेको थिएँ । के भयो, भयो । कस्तो दसा लाग्यो ? कसरी यस्तो भयो ? श्रीमती र आमालाई कसरी सुनाऊँ ? अफिसको त्यति ठुलो नोक्सानी कसरी भनौँ ? मेरो दिन पनि रात भयो । रातमा निद्रा हराम भयो । मनमा आँधीबेहरी तुफान चलिरह्यो । यस्ता बेलामा श्रीमतीको डिमान्ड कसरी पूरा गराँै ? म अफिसको तनाबमा मर्नु कि बहुलाउँनु जस्तो भएँ । बैङ्कको हिसाबकिताब नमिले तीन पुस्ताले तिर्ने सहीछाप गरेको छु । एकातिर अफिसको भरिपूर्ण तनाबमा छु ।

अर्कोतिर श्रीमतीको गनगन छ । श्रीमतीले असन्तुष्टि पोख्दै भनिन्, ‘अरूका बुढाले जे भन्यो त्यही पूरा गर्छन् । मेरा बुढाको केही काम छैन । श्रीमतीको इच्छा आकाङ्क्षा पूरा गर्न नसक्ने के श्रीमान् ? धिक्कार कस्तो बुढा पाइछु मैले । तिजको रमझम छ । सबैले छड्के तिलहरी र रानीहार लगाउँछन् । म चाहिँ ठुटै बुच्चै कसरी जानु माइत ? राम्रो सारी पनि छैन ।’ मैले उनको गुनासो सुनेर भनेँ, ‘सुषमा छ त तिम्रो सारी ब्लाउज । दराजभरि कपडा छन् । फेरि कस्तो कपडा चाहियो ?’

श्रीमतीले मेरो जवाफ फर्काउँदै भनिन्, ‘त्यो सारी लगाएर टिकटक बनाइसकेँ, फोटो खिचिसकेँ, त्यो सारी पुरानु भयो । फेरि त्यही सारी कहाँ लगाउनु ? सबै तिजमा नयाँ सारी गहना लगाएर नाच्छन् । म चाहिँ कसरी पुरानु लगाउनु ? मैले श्रीमतीलाई सम्झाउँदै भनेँ, ‘सुषमा हुनेखानेले जे पनि गर्छन् । अरूको देखासिकी गर्नुहुँदैन । अरूले घोडा चढ्यो भन्दैमा हामीले धुरी चढ्ने ?’ मेरो कुरा भुईंमा खस्न नपाई सुषमाले भनिन्, ‘श्रीमतीको आवश्यकता पूरा गर्न नसक्नेले खोई के गर्न सक्लान् ? जसरी भए पनि मलाई रानीहार चाहियो । हरेक पटक दर खान जाँदा नयाँ गहना कपडा चाहियो ।’

उनको कुराको जवाफ फर्काउँदै भनेँ, ‘एक महिनासम्म तिज मनाउनेलाई कसरी सकिन्छ ? तीस जोर गहना कपडा कहाँबाट ल्याउनु ? मान्छेलाई कति तनाब छ । यो आइमाईको जात अचम्म छ । कसरी सक्नु यो महँगीमा पुर्याउन । त्यसमा पनि मेरो जागिर धारापमा छ । बेरोजगारी भएको छु । कहाँबाट पुर्याउनु इच्छा आकाङ्क्षा श्रीमतीको ?’

उता आमाको गनगन छुट्टै छ । त्यसकी श्रीमतीलाई टाउकोमा चढाएर राखेको छ । जोइटिङ्ग्र्रे भयो छोरा । स्वास्नीको धोतीभित्र पस्यो । यस्तै यस्तै गनगन छ आमाको । उता अफिसको हिसाब नमिलेर तनाब छ । तनाबमै बैङ्कले चौबीस घण्टे अल्टिमेटम दियो । चौबीस घण्टाभित्र जसरी पनि हिसाब बुझाऊ भन्यो । कसै गरी हिसाब बुझाउँन सकिनँ । बैङ्कले निलम्बन ग¥यो । राम्रै छानबिन गर्यो । हिसाब नमिलेको भन्दै मुद्दा चलायो । म डिप्रेसमा गएँ । सम्पूर्ण अफिसको कुरा घरमा भन्न चाहिनँ ।

किनकि घर परिवारमा अशान्ति हुन्छ भन्ने लाग्यो । आफैँ भित्रभित्रै जलेर भए पनि यस अवस्थाको सामना गरिरहेँ । श्रीमतीको आफ्नो बानी कहाँ जावस् । म आफ्नै पीडामा रुमल्लिएको देखेर शङकाष्पद हुदै उनले सोधिन्, ‘के भयो ? तिमी आजभोलि कुन केटीको चक्करमा छौ ? किन जति बेला पनि मुडअफमा हुन्छौ ? सुत्ने बेलामा पनि मतलब छैन ? गर्भवती भएका बेलामा झन् बुढाको सहानुभूति चाहिन्छ । कस्तो कुरा नबुझेको होला ? कुन केटीको चक्करमा परेको हो यो मान्छे ?’

मैले नम्र हुँदै भनेँ, ‘होइन बाबा अफिसको तनाब छ । हिसाब मिलिरहेको छैन । ममाथि मुद्दा चलायो बैङ्कले । म निलम्बनमा परेँ । भोलिदेखि अफिस जानु छैन । जेलनेल होला जस्तो छ । अझ हाम्रो त परिवार बढ्दै छ । कसरी चल्छ व्यवहार ? मैले तिमीहरूलाई तनाब हुन्छ भनेर केही भनेको थिइनँ । मर्दको गम भित्रभित्रै हुन्छ । महिलाहरू जस्तो रुँदै हिँड्न पनि सुहाउँदैन । बुझ्यौ मेरो कुरा ?’

उनले चर्किदै भनिन्, ‘कसरी हिसाब मिलेन भन ? कुन केटीसँग लागेर हिसाब बिगारेको होला ? कोही केटीलाई खर्च गरेको हुनुपर्छ ।’ निर्दोष मैले पुर्पुरामा हात राख्दै भने, ‘दुनियाँसँग सकिन्छ आइमाईसँग सकिन्न । दुनियाँ पढेँ, आइमाईलाई कसरी पढ्ने ? हे भगवान कसरी यो यथार्थ बुझाऊँ ? दिमागमा नकारात्मकता भरिएको छ । पटक्कै कुरै बुझ्दैनन् । आमाले सुन्नुभयो भने के भन्नुहोला ?’

०००

छिमेकीको घरमा हल्लाखल्ला मच्चियो । मेरो ध्यान त्यतै खिचियो । म के भयो भन्दै त्यहाँ गएँ । छिमेकी काकासँग आत्तिँदै सोधेँ, ‘के भयो काका ?’ छिमेकी काकाले रुँदै भन्नुभयो, ‘के हुनु बाबु रञ्जित हिरासतमा गयो । बिहानै पुलिसले गिरफ्तार गर्यो । हत्कडी लगाएर लग्यो । मेरो एउटै छोरो हो ।’ मैले आश्चर्य मान्दै सोधेँ, ‘त्यस्तो के गर्यो काका रञ्जितले ? त्यति सज्जन मान्छेको के भयो त त्यस्तो ?’

छिमेकी काकाले आँखाको आँसु पुछ्दै भन्नुभयो, ‘उसकी केटी साथीले बलात्कारको केसमा फसाइदिई । दुश्मन लागेपछि के लाग्छ र ? दशा लाग्यो । चित्त बुझुन्जेल मोजमस्ती गर्ने । चित्त नबुझे बलात्कार भन्ने कस्तो विकृति ? यो बुढेसकालमा मैले के भोग्नुपर्यो । मेरो छोरो निर्दोष छ । के गर्ने होला ?’ मैले काकालाई सान्त्वना दिँदै भनेँ, ‘म बुझ्छु काका के भएको हो । निर्दोष मानिसलाई त्यसै फसाउन पाइन्छ ? धन्दा नमान्नु काका कुरोको चुरोसम्म पुग्छु ।’

छिमेकी काकाले अपेक्षा राख्दै भने, ‘लौ बाबु सहयोग गर्नुपर्यो । रञ्जितलाई जसरी पनि निकाल्नुपर्यो ।’ मैले भनेँ, ‘काका नारीका धेरै रूप हुन्छन् । नारीको असली रूप बुझ्न सकिँदैन । त्यसैले शास्त्रमा भनिएको छ नारी चरित्रमाथि विश्वास नगर्नू ।’ काकाले भने, ‘हो नि बाबु ।’ घरै पिँडालु, वनै पिँडालु, ससुराली जाँदा बाह्र हातको पिँडालु’ भनेजस्तै । आफ्नै तनाबले भरिपूर्ण म । फेरि कस्तो अनिष्ट भयो । के गर्नु कसो गर्नु भयो ? दुःख गरेर करियर बनायो । बाबुआमाले खाई नखाई पढाए । इज्जतको सबाल छ । उसको प्रोफेसनको सवाल छ । हरेक काममा अब्बल जेहेनदार केटो हो । उसमा के आइलाग्यो ? सानै उमेरमा निक्कै प्रगति गरेको थियो ।

नाम, दाम, काम सबै राम्रो थियो । फस्ट क्लास सरकारी इन्जिनियर हो । कसरी यस्तो हर्कत गर्यो होला ? तनाबमाथि तनाब थपियो । आफ्नो भरिपूर्ण तनाब बोक्दै रञ्जितलाई भेट्न निस्किएँ । प्रहरी प्रसाशनको हिरासतमा पुगेँ । प्रहरी प्रशासनमा पुग्नासाथ प्रहरीले सोधपुछ गरे, ‘किन आउनुभयो ? के कामले आउनुभयो ?’ मैले भनेँ, ‘भाइ रञ्जित हिरासतमा छ भेट्न आएको हो । प्रहरीले रुखो आवाजमा भन्यो, ‘तपाईं उसलाई भेट्न पाउनु हुन्न । बलात्कार जस्तो जघन्य अपराध गरेर आएको छ । हामीले केरकार गर्नु छ । सर्जमिन गर्नुभन्दा पहिला भेट्न पाउनु हुन्न ।’ मैले निक्कै कोसिस गरेँ भेट्न । पुलिसले पटक्कै भेट्न दिएन । रञ्जितलाई नभेटी घर फर्कें ।

काका घरमै आएर रुँदै भन्नुभयो, ‘सञ्जय बाबु । रञ्जितलाई जसरी पनि छुटाउनुपर्यो । सहयोग गर्नुपर्यो ।’ मैले काकालाई साहनुभूति दिँदै भने, ‘हुन्छ काका के भएको हो ? धन्दा नमान्नु म बुझ्छु ।’ दुई दिनपछि फेरि रञ्जितलाई भेट्न गएँ । जिल्ला प्रहरी कार्यालय पुगेँ । प्रहरी कार्यालय पुग्नासाथ गेटमै पुलिसले सोधपुछ गर्दै भन्यो, ‘किन आउनुभयो ? के काम छ ? तपाईं को हुनुहुन्छ ? मैले पुलिसको उत्तर दिँदै भने, ‘म रञ्जितको शुभचिन्तक हुँ । जसरी पनि उसलाई भेट्नु छ ।’ पुलिसले रुखो बोलीमा भन्यो, ‘कहाँ भेट्नु रञ्जितलाई ? यति ठुलो अपराध गरेको मान्छे भेट्न पाइँदैन । सर्जमिन मुचुल्का नबनाएसम्म भेट्न दिन मिल्दैन ।’ म निराश हुँदै घर फर्किएँ । घर फर्किनासाथ काकाले सोध्नुभयो, ‘सञ्जय बाबु । रञ्जितलाई भेट्यौ ?’

असजिलो मान्दै भनेँ, ‘काका पुलिसले भेट्नै दिएन ।’ मेरो कुराले काका निलोकालो हुनुभयो । ‘म माननीयज्यूको सोर्स लगाउँछु काका । म तुरुन्तै फोन गर्छु ।’ मैले हाम्रै ठाउँको सांसदलाई फोन गरेर भनेँ, ‘नमस्ते माननीयज्यू ।’ माननीयले नमस्ते फर्काउँदै भने, ‘म हतारमा छु । के छ भन्नु त ?’ मैले नम्र हुँदै भनेँ, ‘रञ्जित भाइलाई बलात्कारको केस पर्यो । उसलाई भेट्न खोजेको पुलिसले भेट्न दिएन । यसो भनिदिनुपर्यो ।’ नेताले आश्वासन दिँदै भनेँ, ‘ल हुन्छ म फोन गरेर भनिदिन्छु ।’ नेताले फोन गरेर एसपीलाई भने, ‘रञ्जित नामको अभियुक्तलाई भेट्न एक जना आउँदै छन् । भेट्न दिनुपर्यो एसपी साब । एसपीले ‘हुन्छ हजुर’ भन्दै फोन राखे ।

पुनः म जिल्ला प्रहरी कार्यालय गएँ । बल्लतल्ल रञ्जितलाई भेट्न दिए । सानु कोचेक्रो अँधेरो कोठा थियो । रञ्जित निसासिलो हिरासतमा थुनिएको थियो । हिरासत मैले पहिलो पटक देखेको थिएँ । फलामको डण्डीको ढोका थियो । फलामे डण्डीको ढोकाबाट मलाई देख्नासाथ रञ्जितले रँदै भन्यो, ‘सञ्जय दाइ, म फसेँ । मेरो मानप्रतिष्ठा जागिर सबै गयो । श्रीमती र बालबच्चाको बिजोग भयो । खोई अदालतले सफाइ दिन्छ कि दिँदैन ? सबै महिला अधिकारकर्मीहरू एकजुट भएर खनिएका छन् । म निर्दोष छु । म फसेँ दाइ ।’ ऊ भित्र, म बाहिर भएर कुरा गर्दै थियौँ । बिचमा फलामे डण्डीको ढोका उभिएको थियो । जिल्ला प्रहरीमा महिलाहरूको जत्था नारा लगाउँदै आए ।

कालो ब्यानरमा लेखिएको थियो ‘बलात्कारीलाई फाँसी दे, पीडित चेलीलाई न्याय दे’ महिला अधिकारकर्मीहरू आक्रोशित देखिन्थे । चर्को स्वरमा नाराजुलुस लागिरहेको थियो । त्यो दृश्यले नर्भस भएँ, म स्तब्ध रहेँ । रुन्चे स्वरमा रञ्जितले भन्यो, ‘दाइ बलात्कार केसको कानुन पुरुषको हकमा साह्रै कमजोर छ । म त राम्रै गरी फसेँ दाइ । दुश्मन लागेपछि के लाग्छ र ?’ मैले अनभिज्ञ हुँदै भनेँ, ‘रञ्जित के भएको हो ? खास कुरो के हो ?’ रन्जितले आँखाको आँसु पुछ्दै भने, ‘दाइ, त्यो महिला मेरै अफिसको सहकर्मी हो । मेरो बिहेअघि नै मेरो पिछा गर्थी । मेरो पद प्रतिष्ठा देखेर प्रभावित भएकी थिई । मलाई पाउन लालयित थिई । मैले उसलाई वास्तै गरिनँ । मैले अन्तै बिहे गरेँ तर पनि मेरो पिछा गर्न छोडिन । महिलाले मरिहत्ते गरेपछि पुरुषको केही लाग्दो रहेनछ । उसले चाहेपछि म नामर्द पनि होइन ।

एक दिन दुई दिन गर्दै सम्बन्ध बढ्यो । सम्भोग भयो । दुवैले आनन्द लियौँ । उसले मसँग बिहे गर्न नपाएको बदला लिई । त्यही उसको स्वार्थ थियो । बलात्कारमा फसाइदिई दाइ । घरमा सोझी श्रीमतीको आँखा छलेको पाप लाग्यो ।’ मैले दुःख मान्दै भनेँ, ‘हो नि रञ्जित । आजभोलि महिलाहरूसँग जोगिएर बस्नुपर्छ । उनीहरूको ठुलो हतियार नै हो बलात्कार केस । चित्त बुझुन्जेल सत्कार, चित्त नबुझे बलात्कार । पुरुषलाई महिलाले सजिलै प्रयोग गर्ने भए । कहिले पैसामा सौदाबाजी गर्छन् । कहिले चाहेको पुरुष नपाएपछि सिध्याइदिन्छन् । जमाना उल्टो छ । अब त पुरुषले जोगिएर हिँड्नुपर्छ । चित्त नबुझेपछि बलात्कारमा फसाइदिन्छन् । मोजमस्ती गर्ने, स्वार्थ पूरा नभए बलात्कारमा फासाइदिने यस्तै छ । साँच्चिकै बलात्कारी बलात्कार गरेर उम्किन्छन् । फस्ने त सोझा साझा नै हो ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार