२०८३ वैशाख १६ , बुधबार 30, April 2026, Thursday

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३० गते सोमबार

जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराइरहेको छ चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिन्थे । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उनी उत्तिकै आशावादी छन् ।

रसिलो आँखा पार्दै उनले भने, ‘यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रूपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।’ सिंहदरबार आगजनी र तोडफोडले कुरूप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेजस्तो लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरूका कला कौशलले पुनर्निर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् ।

सिंहदरबारको तस्वीर कैद गरिरहेकी कानुन व्यवसायी देवमाया घिमिरेले भनिन्, ‘सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैंलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।’ अर्की कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंहदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौंका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्वीर र भिडियो कैद गरिरहेका थिए ।

तस्वीर कैद गर्दा अधिकांशमा मौनता देखिन्थ्यो । आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो । बाक्लो संख्यामा कर्मचारी र अन्य व्यक्तिहरू सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछ कि भन्ने चिन्ता छ । उनी भन्छन्, ‘सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त होइन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नुपर्दा अरू क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौं सिंहदरबार उठ्नेछ ।’

गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माणपछि निकै आकर्षक देखिएको थियो । संघीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनर्निर्माणपछिका दृश्य सम्झिंदै थपे, ‘धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुख लागेको छ । नेपाल आफैंले ठूलाठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।’ सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला र कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए । ‘एकदम दुखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउँदा उपयुक्त हुन्छ,’ उनले भने । पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रूपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताए । उनले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताए । सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो ।

सिंहदरबारभित्रै काम गर्ने उनले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाए । यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सयवटा कोठाहरू रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो । विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरू थिए ।

विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार र कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू र युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए । बत्ती र अन्य शृंगारका वस्तुहरू युरोपबाट मगाइएको थियो । आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौं सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरि पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् ।

स्रोत : सिबी अधिकारी । रासस
प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार