भदौ २४, अर्को कालो दिनका रूपमा नेपाली इतिहासमा लेखिने निश्चित भएको छ । देशका जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार १९ जना कलिला युवामाथि गराएको नरसंहार र त्यसपछि भड्किएको जनआन्दोलनका बीच अन्ततः राजीनामा दिएर सत्ता त्यागे । राजीनामा दिएलगत्तै उनी सेनाको हेलिकप्टरमार्फत सैनिक ब्यारेकतर्फ पुगी सुरक्षाको घेराभित्र आश्रय लिन बाध्य भए ।
ओलीको ६ दशक लामो राजनीतिक यात्रा यसरी हिंसाको ज्वालामुखीमा टुङ्गिनु एउटा वियोगान्त क्षण बनेको छ । उनले तत्काल ज्यान जोगाउन त सेना र सुरक्षा निकायको आश्रय पाए, तर सोमबार भएको नरसंहार र त्यसपछि भड्किएको आगलागीले ओलीको राजनीतिक छवि सधैंका लागि कलंकित भएको छ । राजधानीमा सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद् भवनदेखि शीतल निवास र अख्तियार आयोगसम्मका भवन ध्वस्त भएका छन् ।
आगोले सरकारी निकाय, ऐतिहासिक सम्पदा र सांस्कृतिक धरोहर समेत खरानी बनायो । भवन र कार्यालय फेरि बनाउन सकिए पनि राष्ट्रका इतिहास र संस्कृतिसँग जोडिएका मूल्यवान सम्पदा सदाका लागि हराए । नरसंहारपछि देशभर आक्रोश फैलियो । जेन्जी पुस्ताको नेतृत्वमा सुरु भएको आन्दोलनमा हजारौं जनसामान्य उत्रिए । सुरुवाती दिन शान्तिपूर्ण आन्दोलन भए पनि प्रहरी दमन र सरकारले अपनाएको कठोरताले आन्दोलन हिंसात्मक रूप लियो । र
राजधानीदेखि विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय, जिल्ला अदालत, प्रहरी चौकी, पालिका कार्यालयदेखि व्यापारिक प्रतिष्ठान र पाँचतारे होटलसम्म आन्दोलनकारीको निसाना बने । कारागारमा समेत आगजनी हुँदा कैदीहरू भाग्न सफल भए । यसबीच कोटेश्वरमा तीन प्रहरीको मृत्यु भयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको ज्यान लिइयो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा गम्भीर घाइते भए ।
प्रचण्ड, गगन थापा, रमेश लेखक लगायत नेताका घरमा समेत आगजनी र तोडफोड भयो । ओलीले सोमबारको मन्त्रिपरिषद् बैठक र मंगलबार जारी अपिलमार्फत जनआक्रोश शान्त पार्ने साटो झन् उत्तेजित बनाइदिए । जनआन्दोलन ओलीको राजीनामापछि पनि रोकिएन । उल्टै अराजकताको रूप लिँदै देशका ठूला–साना शहर र गाउँसम्म फैलियो । चार पटक प्रधानमन्त्री बनेका ओलीले अन्ततः सेनाको छातामुनि सत्ता छाडे ।
तर, उनी सत्ताबाट हट्दा मुलुकलाई आगोमा जलाएर गएका छन् । हिजो सम्म ‘केपी बा’ भन्दै उचाल्नेहरू पनि आज चुपचाप छन् । ओली दम्भ, सनक र हिंसात्मक कदमका कारण नरसंहारकारी र कलंकित पात्रका रूपमा इतिहासमा उभिएका छन् । देश आज अराजकताको चपेटामा छ । मुलुकको नेतृत्व कसले सम्हाल्ने भन्ने अनिश्चितताबीच जनता अब जवाफदेही र जनउत्तरदायी नेतृत्वको पर्खाइमा छन् । ओलीको पतनले राजनीतिलाई एउटा गम्भीर पाठ भने छाडेको छ, सत्ता दम्भका लागि होइन, जनताको जीवन र देशको भविष्य सुरक्षित गर्न हो ।
सत्यपाटी