२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday
जेनजी विद्रोह

देश जलाए अनि पतन भए ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको पतनले राजनीतिलाई एउटा गम्भीर पाठ भने छाडेको छ, सत्ता दम्भका लागि होइन, जनताको जीवन र देशको भविष्य सुरक्षित गर्न हो ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २५ गते बुधबार

भदौ २४, अर्को कालो दिनका रूपमा नेपाली इतिहासमा लेखिने निश्चित भएको छ । देशका जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार १९ जना कलिला युवामाथि गराएको नरसंहार र त्यसपछि भड्किएको जनआन्दोलनका बीच अन्ततः राजीनामा दिएर सत्ता त्यागे । राजीनामा दिएलगत्तै उनी सेनाको हेलिकप्टरमार्फत सैनिक ब्यारेकतर्फ पुगी सुरक्षाको घेराभित्र आश्रय लिन बाध्य भए ।

ओलीको ६ दशक लामो राजनीतिक यात्रा यसरी हिंसाको ज्वालामुखीमा टुङ्गिनु एउटा वियोगान्त क्षण बनेको छ । उनले तत्काल ज्यान जोगाउन त सेना र सुरक्षा निकायको आश्रय पाए, तर सोमबार भएको नरसंहार र त्यसपछि भड्किएको आगलागीले ओलीको राजनीतिक छवि सधैंका लागि कलंकित भएको छ । राजधानीमा सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद् भवनदेखि शीतल निवास र अख्तियार आयोगसम्मका भवन ध्वस्त भएका छन् ।

आगोले सरकारी निकाय, ऐतिहासिक सम्पदा र सांस्कृतिक धरोहर समेत खरानी बनायो । भवन र कार्यालय फेरि बनाउन सकिए पनि राष्ट्रका इतिहास र संस्कृतिसँग जोडिएका मूल्यवान सम्पदा सदाका लागि हराए । नरसंहारपछि देशभर आक्रोश फैलियो । जेन्जी पुस्ताको नेतृत्वमा सुरु भएको आन्दोलनमा हजारौं जनसामान्य उत्रिए । सुरुवाती दिन शान्तिपूर्ण आन्दोलन भए पनि प्रहरी दमन र सरकारले अपनाएको कठोरताले आन्दोलन हिंसात्मक रूप लियो । र

राजधानीदेखि विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय, जिल्ला अदालत, प्रहरी चौकी, पालिका कार्यालयदेखि व्यापारिक प्रतिष्ठान र पाँचतारे होटलसम्म आन्दोलनकारीको निसाना बने । कारागारमा समेत आगजनी हुँदा कैदीहरू भाग्न सफल भए । यसबीच कोटेश्वरमा तीन प्रहरीको मृत्यु भयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको ज्यान लिइयो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा गम्भीर घाइते भए ।

प्रचण्ड, गगन थापा, रमेश लेखक लगायत नेताका घरमा समेत आगजनी र तोडफोड भयो । ओलीले सोमबारको मन्त्रिपरिषद् बैठक र मंगलबार जारी अपिलमार्फत जनआक्रोश शान्त पार्ने साटो झन् उत्तेजित बनाइदिए । जनआन्दोलन ओलीको राजीनामापछि पनि रोकिएन । उल्टै अराजकताको रूप लिँदै देशका ठूला–साना शहर र गाउँसम्म फैलियो । चार पटक प्रधानमन्त्री बनेका ओलीले अन्ततः सेनाको छातामुनि सत्ता छाडे ।

तर, उनी सत्ताबाट हट्दा मुलुकलाई आगोमा जलाएर गएका छन् । हिजो सम्म ‘केपी बा’ भन्दै उचाल्नेहरू पनि आज चुपचाप छन् । ओली दम्भ, सनक र हिंसात्मक कदमका कारण नरसंहारकारी र कलंकित पात्रका रूपमा इतिहासमा उभिएका छन् । देश आज अराजकताको चपेटामा छ । मुलुकको नेतृत्व कसले सम्हाल्ने भन्ने अनिश्चितताबीच जनता अब जवाफदेही र जनउत्तरदायी नेतृत्वको पर्खाइमा छन् । ओलीको पतनले राजनीतिलाई एउटा गम्भीर पाठ भने छाडेको छ, सत्ता दम्भका लागि होइन, जनताको जीवन र देशको भविष्य सुरक्षित गर्न हो ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार