पाल्पाको तिनाउ गाउँपालिका कचलका मनबहादुर बगालेका एक छोरी र तीन छोरा थिए । छोरीको बिहे भइसकेको छ । बाँकी तीन छोरा पनि उनकै साथमा छैनन् । कोही वैदेशिक रोजगारमा त कोही सहरमा गएर बसेका छन् । घरमा दुई बुढाबुढी मात्रै छन् । ‘टाठाबाठा जति शहरतिर लागेका छन् । म र श्रीमती यही घरमा छौँ,’ बगालेले भने । गाउँमा मलामी जानेसमेत पाउन छाडिएको उनी बताउँछन् ।
रैनादेवी छहराका ८१ वर्षीय टिकाबहादुर थापा बुटवलमा रहेको मानव सेवा आश्रममा बस्न थालेको तीन वर्ष भयो । उमेर र ऊर्जा हुन्जेल खेती किसानी गरेरै छोराछोरी हुर्किए र बिहेसमेत गरिदिए । तर, बुढेसकालमा भने उनी एक्लिए । ‘बुढ्यौलीले छोएपछि काम गर्न सकिएन, छोराबुहारी र श्रीमतीले समेत झिँजो मान्न थाले,’ उनले भने, ‘मलाई चित्त दुख्यो, आश्रममा आएर बस्न थालेँ । अहिले आनन्द छ ।’ घर छोडेदेखि परिवारसँग थापाको कुराकानी भएको छैन ।
निस्दी गाउँपालिका मित्यालका नरबहादुर सारु ७५ वर्षका छन् । तर, उनलाई छोराले अवहेलना गरेको भन्ने लाग्दैन । समयको चक्रसँगै आफूहरू एक्लिएको भन्दै उनी चित्त बुझाउँछन् । ‘हातखुट्टा चलुञ्जेल काम गरेर सहर बस्ने गर्छन्, यहाँ आउँदैनन्,’ उनले भने, ‘छोरीको बिहे गरेर अर्कैको घरमा दिइन्छ, अनि बुढाबुढी मात्रै बस्नुको अर्को विकल्प के छ र ?’ सोही ठाउँका ७८ वर्षीय खड्का राना पनि एक्लै जीवन बिताउन थालेको पाँच वर्ष भयो । उनका चार छोरा, दुई छोरी र एक श्रीमती थिए ।
श्रीमती बितेको छ वर्ष भयो । ‘छोरा कोही विदेशमा छन्, केही जागिरे छन्, छोरीहरू आफ्नो घर–घरमा छन्,’ उनले भने, ‘अहिले एक्लै जीवन बिताइरहनु परेको छ ।’ उमेर बढ्दै, शक्ति घट्दै गएपछि आफन्त पनि बिस्तारै टाढिने गरेको उनको भोगाइ छ । रानाले वृद्धभत्ताले जसोतसो जीविका चलाइरहेका छन् । तानसेनकी मीना विकको पनि एक छोरी छिन् । उनका श्रीमान्को दुई वर्षअघि मृत्यु भएको हो ।
भएकी एक छोरीको विवाह भइसकेको छ । विक उमेरले ६८ वर्षकी छिन् । उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘सुरुका दिनमा कति दुःख पाइयो । छोरीलाई तरकारी बेचेरै पढाएँ, अहिले उनी अर्काको घरमा छिन्, म भने एक्लै दिन काटिरहेकी छु’ । अहिले उनी एकल महिलाले पाउने भत्ताले नै जीवन गुजारिरहेकी छन् । तानसेन छेर्लुङ्गका ७३ वर्षीय शिवप्रसाद भट्टराई पनि छ सन्तानका बाबु हुन् । सबै बालबच्चाका साथ रहँदा सँगै खाना खाँदा रमाइलो हुने उनी सम्झन्छन् ।
‘एउटा छोरा बाहिर छ, अरू काठमाडौँमा बस्छन्,’ उनले भने, ‘यहाँ त हामी दुई बूढाबूढी मात्र बस्छौँ । सधैँ सबै बच्चा घरमै हुँदा जे पकाए पनि खाइन्थ्यो, अहिले दुई जना मात्रै छौँ, खाना पनि राम्रोसँग रुच्दैन । छोराछोरीले खेतबारीमा काम गर्न रुचाउँदैनन् । यहाँ खेतबारीमा दुःख गर्न मान्दैनन्, शहरमै बस्छन् । यहाँ घर खाली हुन्छ, तर छोराहरू कोठा लिएर सहरमा बस्न रुचाउँछन्, उनीहरू त दसैँ–तिहारमा यसो दुई–तीन दिन घर बस्ने गरी आउँछन्, अनि गइहाल्छन् ।’
यी त केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय अधिकांश ज्येष्ठ नागरिकको पीडा उस्तै छ । जवानीमा अनेक घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिक जीवनको उत्तराद्र्धमा एक्लो महसुस गर्दै आएका छन् । गरिखाने उमेरका छोराछोरी भविष्य बनाउन जसै लाखापाखा लाग्दै जान्छन्, घरगाउँमा पाकाहरू एक्लिँदै छन् । विश्वव्यापीकरण, बढ्दो शहरीकरण, आन्तरिक बसाइँसराइ, सामाजिक परिवेश, वैदेशिक रोजगारी र व्यस्त जीवनका कारण परिवारमा ज्येष्ठ नागरिक एक्लिँदै गएका हुन् ।
ग्रामीण भेगमा जग्गा र घर कुरेर बस्ने ज्येष्ठ नागरिक नै भेटिन्छन् । आधुनिकतासँगै मान्छेको दैनिकी प्रविधिमा रमाएको छ । कृत्रिम बौद्धिकताले मानिसको सिर्जनात्मक शक्ति ह्रास हुँदैछ । हिंसा, दुर्व्यवहार, मानवताविरुद्धका घटना बढ्दै गइरहेका छन् । आर्थिक, सामाजिक, शारीरिक, मानसिक र यौन दुर्व्यवहारको सिकारसमेत ज्येष्ठ नागरिकहरू बनिरहेका छन् । हिजोको संयुक्त परिवार आज ‘एकल’मा परिणत हुँदै गएको सरोकारवालाहरू बताउँछन् । आफ्ना बालबच्चाबाहेक जन्म दिने बाबुआमाका लागि सन्तानले समय निकाल्न सक्दैनन् ।
एकछिन उनीहरूसँगै बसी उनीहरूका कथाव्यथा सुन्न पनि भ्याउँदैनन् । अति व्यस्त जीवनशैली, यान्त्रिक उपकरणको प्रयोग बढेको छ । आफ्नै छोरा, बुहारी, नातिनातिनीसँग बिरानो बन्दै गएका छन् । डाँडामाथिको घाम बनेका वृद्धवृद्धासँग सम्मानजनक व्यवहार गर्नुपर्ने नागरिक समाजका अगुवा पुष्करराज रेग्मीले बताए । उनले भने, ‘बाँचुन्जेल एक गाँस राम्ररी खुवाउन र एक वचन राम्रो बोल्न हामी किन कन्जुस्याइँ गर्छौँ ? हामी आफ्ना अभिभावकलाई जस्तो व्यवहार गर्छौँ, त्यस्तै पाठ हाम्रा सन्तानहरूले सिकिरहेका हुन्छन्, त्यसै पनि वृद्धवृद्धालाई सम्मान गर्नुपर्छ ।’
उनले थपे, ‘अभिभावकलाई जिउँदो हुँदासम्म मन लागेका खानेकुरा र लगाउने कपडा नदिने, जान चाहेको ठाउँमा नपुर्याइदिने, अपमान र तिरस्कार गर्ने अनि मरिसकेपछि दुःख बोकेको छु भन्दै सेतो पहिरन लगाएर श्राद्धमा पिण्ड चढाउनु, पितृ प्रसाद भनेर मान्छेलाई बोलाएर खुवाउनु युक्तिसङ्गत छैन ।’ सन्तानहरूले जन्म दिने आमाबुबालाई घरको बोझ सम्झी आश्रम पठाएर कर्तव्य र दायित्वबाट विमुख हुँदै गएको दुःखलाग्दो अवस्था बनेको छ । जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएका असहाय ज्येष्ठ नागरिक झनै हिंसाको सिकार भएका छन् । जवानीमा पैसा कमाइञ्जेल सबैको प्यारो हुने तर उमेर ढल्किँदै, कमाउन नसक्ने हुँदै जाँदा सबैबाट हेला सहनुपर्ने समस्या उनीहरूले भोग्नुपरेको छ ।
बाबुआमाले छोराछोरी नबुझ्ने र छोराबुहारीले बाबुआमा नबुझ्ने अनि सामान्य असमझदारीमै परिवार छुट्टिएर बस्ने व्यवहारले उनीहरूले कठिनाइ भोग्नुपरेको हो । जसले सन्तानका लागि दस नङ्ग्रा खियाउँदा–खियाउँदै आफ्ना लागि केही गर्न सक्दैनन्, तिनको सहारा हुन प्रायः सन्तान तयार हुँदैनन् । कसैले बाबुआमाको सम्पत्ति नपाउञ्जेल माया र आदरको नाटक गर्ने अनि सम्पत्ति हात परेपछि तिनलाई आश्रममा पुर्याउने गरेका उदाहरण भेटिन्छन् । कोही त आफ्ना बच्चाहरू साना हुन्जेल वृद्ध अभिभावकहरूसँग बस्ने, अनि जब बच्चाहरू हुर्कन्छन्, कि आफू छुट्टिएर बस्ने नत्र अभिभावकहरूलाई नै घरबाट निकालिदिने गर्छन् ।
सत्यपाटी