हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको हल्जीगाउँका स्थानीयले गाउँ छाड्न थालेका छन् । गाउँमा हिमपहिरोको डरत्रासका साथै अन्य सेवा सुविधा पनि नभएको जनाउँदै उनीहरू गाउँ छाडेर अन्यत्र लागेका छन् । लिमीकै तिलगाउँका बासिन्दाले पनि गाउँ छाड्ने तयारी गरिसकेका छन् ।
हल्जीगाउँमा रहेको ऐतिहासिक तथा धार्मिक गुम्बाको डरले गाउँवासी कसैले पनि थलो छोड्न नसकेका भए पनि अहिले भने गाउँ नै छाड्न सुरु भएको हल्जीका स्थानीय क्याम्ने तामाङले बताए । उनले स्थानीयले गाउँ छाड्न थालेपछि चिन्ता लाग्न थालेको जनाए ।
हल्जीवासीमा ऐतिहासिक गुम्बाको डरले गाउँ छाड्न नमान्ने र यसअघि छाडेका दुई जनालाई पनि राम्रो नभएको उनको भनाइ छ । यस वर्ष भने गाउँ छाड्नेले घरको ढोकामा ताला लगाएर निस्किएका र पछि मात्र अन्य गाउँवासीले थाहा पाएका थिए ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले यस वर्षबाट गाउँ छाड्न सुरु गरेको बताउँदै लिमीका लागि यो राम्रो नभएको बताए । यस वर्षमात्र हल्जीबाट निमातन्जन तामाङ, लोप्चाङ तामाङ र कोनुर्वु तामाङ गरी तीन घरले गाउँ छाडेर गएको जानकारी उनले दिए ।
तीन घरधुरीले यसअघि घरमा भएका महत्वपूर्ण गरगहना तथा सामान लगिसकेको र बचेको सामान बोकेर काठमाडौँतर्फ लागेको बताउँदै उनले गाउँ छाड्न सुरु भएकोमा चिन्ता व्यक्त गरे । १२ सय वर्ष पुरानो लिमीको ऐतिहासिक गुम्बाका कारण हल्जीवासीले सहजै गाउँ छाड्न नमाने पनि यसवर्ष हिमपहिरो र अन्य सेवा सुविधा नभएको जनाउँदै गाउँ छाडेको उनले बताए ।
लिमीका तीन गाउँमध्ये जाङगाउँ एक वर्षदेखि खाली भइसकेको छ भने तिल गाउँवासीले आगामी मङ्सिर महिनामा गाउँ छाड्ने सामूहिक निर्णय गरिसकेका छन् । अब हल्जीबाट पनि गाउँ छाड्न सुरु हुँदा लिमी उपत्यका मानिसविहीन हुने र यसको अस्तित्व नै मेटिने अवस्था नआउला भन्न नसकिने वडाध्यक्ष तामाङले बताए ।
सत्यपाटी