सूचनाको शक्ति - The Power Of Information

        

तीनकुने घटनामा धवल, रविन्द्र र प्रसाईंसहित ५३ जनालाई प्रतिवादी बनाइँदै

जिल्ला प्रहरी परिसर काठमाडौंले राजावादीहरूले घटाएको हिंसात्मक तीनकुनेमा घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ । प्रदर्शनका क्रममा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५३ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाउने तयारी भएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा गरिएको अराजक प्रदर्शनमा सहभागीमध्येका ८ जनाविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको मुद्दा चलाउन प्रहरीले राय दिन लागेको हो । त्यस्तै, प्रसाईंविरुद्ध भने ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउन राय दिने तयारी प्रहरीको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरासहित १८ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिन लागिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरलाई बताए ।

ती अधिकृतका अनुसार बाँकी २७ जनाविरुद्ध भने आपराधिक उप्रदव र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गर्न लागिएको छ । हाल प्रहरी हिरासतमा ५० जना छन् । संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । उनीहरू बिहीबारसम्म जोड्दा ५५ दिन प्रहरी हिरासतमा बसेका छन् ।

६० दिनभित्र प्रहरीले अनुसन्धानको मिसिल सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने हुन्छ । मिश्र, जबरा र अर्का एक जना हाजिरी जमानीमा छुटे पनि सरकारी वकिल कार्यालयमा पुनः बयानका लागि जानुपर्ने हुन्छ । प्रहरीका अनुसार मुद्दामा झण्डै ४६ करोड ९० लाख रुपैयाँ बिगो काम गरिनेछ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेका कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाको भवन पूर्णरूपमा क्षति भएको थियो ।

आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम, अछाम पञ्चदेवल नगरपालिका– ५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुपविक्रम ठकुरी र दुर्गा प्रसाईंसहित ८ जनालाई ज्यानसम्बन्धी कसुरमा प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।

मिसिल तयार गर्न रातभर काम

अनुसन्धान अधिकृतहरूले प्रतिवेदनलाई अन्तिम रूप दिन पाच रातसम्म रातभर काम गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहोराका अनुसार अनुसन्धानको मिसिल बुझाउने दिन नजिकिँदै गएकाले मिसिल तयार गर्न प्रहरीले २४ सै घण्टा शिफ्टमा काम गरिरहेको छ । उनले प्रहरीले मिसिल तयार पार्न धेरै मेहनत गरेको बताए । यो घटनाको अनुसन्धानका लागि प्रहरी मुख्यालयका एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा सिनियर प्रहरी मात्रै चारजना र जुनियर प्रहरी (वरिष्ठ सईदेखि हवल्दारसम्म) १० जना खटिएका छन् ।

कानूनको धारा–धारा टेकेर मात्रै प्रतिवादीलाई कसुर अनुसारको मुद्दा चलाउन राय दिइने जानकारी एसपी बोहराले दिए । ‘हामीले हचुवाको भरमा नभएर प्रमाणसहित मुद्दा चलाउन राय दिन्छौं,’ एसपी बोहराले भने, ‘सरकारी वकिलमा मिसिल बुसाइसकेपछि उहाँहरूले पनि अध्ययन गर्नुहुन्छ । थपघट गर्नुपर्ने अवस्था आयो भने आपसी समन्वयमै काम गर्छौं ।’

रजक र महर्जनका परिवारले दिएनन् जाहेरी

तीनकुनेस्थित सहकारीको भवनमा प्रदर्शनकारीले आगजनी गर्दा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । कीर्तिपुरका सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको थियो । प्रहरीले अनुसन्धानको मिसिल बुझाउने दिन नजिकिँदै जाँदा पनि रजक र महर्जनको परिवारले जाहेरी दिएका छैनन् ।

परिवारका सदस्यको मृत्यु हुँदा समेत जाहेरी नपरेपछि प्रहरी समेत तीनछक परेको छ । ‘हामीले त उहाँहरूको परिवार जाहेरी दिन आउनुहुन्छ भनेर कुरिरहेका छौं, तर उहाँहरू आउनुभएन,’ परिसरका एक उच्च अधिकृतले भने, ‘उहाँहरूले जाहेरी दिएको भए अनुसन्धानको मिसिल अझ बलियो हुन्थ्यो ।’

बयानमा दुर्गाले भने, ‘मैले मान्छे मारेको होइन, ढुंगाले हानेको पनि छैन’

तीनकुने घटनाको नेतृत्व गरेका दुर्गा प्रसाईंले आफूले कसैलाई नमारेको र ढुंगाले पनि नहानेको बयान प्रहरीलाई दिएका छन् । चैत १५ गते आफू संयम हुँदाहुँदै पनि भीड आक्रोशित हुँदा तोडफोड र आगजनी भएको प्रसाईंले बताएका छन् ।

‘मैले देशमा राजा ल्याउनुपर्छ भनेकै हो । हिन्दूराज्य चाहिन्छ भनेकै हो । मलाई धेरै शुभचिन्तकहरूले साथ दिनुभयो,’ प्रसाईंको बयान उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘गणतन्त्रमा आफ्ना आवाज शान्तिपूर्ण तरिकाले राख्न पाइन्छ, तर तीनकुनेमा प्रहरीले बल प्रयोग गर्न शुरू गरेपछि प्रदर्शनकारी उग्र भएका हुन् ।’

प्रसाईंले आन्दोलनको नेतृत्व आफूले गरेकाले त्यसको जिम्मेवारी लिने तर, लाग्दै नलाग्ने कसुरमा मुद्दा चलाउन नहुने जिकिर बयानमा गरेका छन् । ‘प्रहरीलाई किचौंला झैं गरी किन गाडी हुइँक्याएको ?’ भन्ने प्रश्नमा प्रसाईँले प्रहरीबाटै प्रदर्शनकारीलाई उत्तेजित बनाउने काम भएकाले सैह्य नभएर आफू अगाडि बढेको बताएका छन् । प्रहरीलाई मार्ने आफ्नो उद्देश्य नभएको उनको जिकिर छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १७:०४