हुम्लाको उत्तरी चीनको सिमाना जोडिएको नाम्दा गाउँपालिका–५ को मुचु र यारी गाउँका महिलामा पाठेघरको मुखको क्यान्सर चेकजाँच गर्दा आठ जनामा पोजेटिभ देखिएको छ । एकीकृत स्वस्थ्य शिविरमा चिकीत्सक सहितको टोलीले महिलाको पाठेघरको मुखको क्यान्सर चेकजाँँँच गर्दा ती महिलामा सो लक्षण देखिएको हो ।
एउटै वडाका दुई वटा वस्तीमा शिविर सञ्चालन गर्दा ७९ जना महिलाको पाठेघरको मुखको क्यान्सर चेक गर्दा आठ जनामा देखिएको र जनसंख्या अनुसार यो डरलाग्दो अवस्था रहेको शिविरमा सहभागी स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले बताईन । जसमा मुचुको शिविरमा ३४ जना महिलाको चेकजाच गर्दा तीन जनामा र यारीमा ४५ जनाको पाठेघरको मुखको क्यान्सर चेक गर्दा पाँच जनामा पोजेटिभ देखिएको होे ।
जनसंङ्ख्या कम भएको क्षेत्रमा यस्ता अवस्था देखिएपछि जिल्लाका बढी जनसङ्ख्या भएको बस्तीमा यो समस्या महिलामा अझै बढी हुन सक्ने छ । महिनावारी भएको बेला सरसफाइ नहुनु र अन्य बेला पनि सरसफाइको कमीले पनि यो समस्या देखिएको उनले बताए । चेकजाँच गरेकी महिलालाई हाललाई एक महिनाको लागि औषधी दिएको र एक महिनापछि पून अस्पतालमा चेकजाँचका लागि बोलाईएको छ ।
त्यसैगरि दुवै स्थानको शिविरमा प्रजनन स्वास्थ्य सम्वन्धि अन्य महिला बिरामीहरुको पनि चेकजाँच भएको थियो । जसमा मुचुमा २१ जना र यारीमा ४५ जनाको उपचार भएको थियो । शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँचका साथै प्रशव फिस्टुला, आङखस्ने पाठेघर खस्ने समस्या, स्तन क्यान्सर, सेतोपानी वग्ने चिलाउने समस्या र बाझोपन र निसन्तानको पनि चेकजाच भएको थियोे । थोरै सङ्ख्यामा महिलाको पाठेघरको मुखको क्यान्सरको चेक गर्दा यो देखिएको संङ्ख्या ठुलै भएकोले यसलाई गहन रुपमा लिन आवश्यक रहेको चिकीत्सक मनिस देवले बताए ।
यो रोग खासगरी सानैमा बिबाह गर्नु, धेरैसंग यौन सम्पर्क गर्नु, गर्भवती बेला औषधि प्रयोग गर्नु, गर्भपतन गराउनु र शरीरमा लागेको अन्य रोगले पनि यस्तो हुन सक्ने उनको भनाइ छ । यसका लागि चिकित्सकहरु देव, अरस्ती पुजाराले बिरामीको चेकजाँच गरेका थिए । पव्लिक हेल्थ नर्स सपना राना र वरिष्ठ अनमी बोहराको सहभागिता थियो । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रेनिङ शिविर सञ्चालन गरिएको हो । यो शिविर मुचु र यारी गाउँमा पहिलो पटक सञ्चालन गरिएको हो ।
सत्यपाटी संवाददाता । हुम्ला