दश वर्षअघि बडिगाड गाउँपालिका दगातुन्डाँडामा प्रारम्भ भएको ‘एक घर, एक धारा’ योजना हालसम्म पूरा नहुँदा त्यहाँका ३८० परिवार काकाकुलको नियति भोग्न बाध्य छन् । दगातुन्डाँडाका बासिन्दा खानेपानीकै कारण बसाइँ सर्न थालेका छन् ।
विसं २०४८ सालमा ल्याइएको खानेपानीको सार्वजनिक धारामार्फत ७०० घरपरिवार लाभान्वित गाउँमा २०७२ सालमा सोही खानेपानी मुहानमा ३८० घरलाई धारा पुर्याउन नयाँ योजना थालिएको थियो ।
पच्चीस वर्ष पुरानो योजना जीर्ण बनेपछि ‘एक घर, एक धारा’ निर्माण प्रारम्भ भए पनि १० वर्षमा पनि पूरा नभएपछि स्थानीय आक्रोशित छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट नयाँ योजनामार्फत ३८० घरलाई खानेपानी पुर्याउने प्रयास प्रारम्भ भए पनि बजेट अभावमा १० वर्ष बित्दा पनि योजना पूरा नभएको हो ।
खानेपानी अभावमा स्थानीय बसाइँ हिँड्न थालेको दतातुन्डाँडाका पूर्वप्रधानपञ्च प्रेमलाल सापकोटाले बताए । ‘तारेभिरको मुहानको खानेपानी १३ किलोमिटर तलको गाउँमा आएपछि दगातुन्डाँडावासीलाई २०४८ सालमा राहत मिलेको थियो, तर योजना २५ वर्ष पुरानो भएपछि ‘एक घर, एक धारा’ योजना ल्याइएको थियो । उक्त योजना थालेको १० वर्षसम्म पूरा भएन,’ पूर्वप्रधानपञ्च सापकोटाले भने ।
स्थानीयको माग अनुसार वडाभर नै एक घर, एक धारा निर्माणका लागि योजना २०७२ सालमा थाले पनि बजेट अभावमा खानेपानी योजना अपूरै रहँदा समस्या भएको स्थानीय भीमलाल पोखरलले बताए । दुर्लुङ, रायाँ, हमेल, नौतुवा, बेतनी, भट्टनी, थान, ढाँड, प्यालपोखरी, तुन्डाँडा, दगाको सबै गाउँ, जिमी, टुटीफेद र गहते गाउँका स्थानीयका ३८० घरमध्ये अहिलेसम्म १६७ घरमा मात्र धारा पुगेको र पानी वितरणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सुदीप आचार्यले जानकारी दिए ।
स्थानीयको श्रमदानसहित रु.पाँच करोड लागत अनुमान गरिएको तारेभिर खानेपानी आयोजनामा हालसम्म रु.दुई करोड ४५ लाख बजेट खर्च भइसकेको छ । आव २०७२–०७३ देखि सुरु भएको योजनामा हालसम्म आठ वटा पानी सङ्कलन ट्याङ्की, १३ किलोमिटर मुख्य पाइपलाइन, आठ किलोमिटर वितरण पाइपलाइन तयार भएको इञ्जिनियर आचार्यले बताए । चालु आवमा १३५ घरमा धारा जडान गर्ने र ३८० घरमध्ये २३५ घरमा पानी आपूर्ति गरिने उनले बताए ।
सत्यपाटी संवाददाता । बागलुङ