सूचनाको शक्ति - The Power Of Information

        

‘कुलमानले १५ मिनेटमै बिग्रिएको ट्रान्समिटर बनाउँदा म अच्चम पर्थे’

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यक्षमताको प्रशंसा गरेका छन् । शनिवार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै तामाङले घिसिङको सक्रियता र कामप्रतिको लगावले आफूलाई प्रभावित बनाएको बताए ।

तामाङले गत पुसमा ऊर्जा मन्त्रालयमा बैठक चलिरहँदा एउटा ट्रान्समिटर बिग्रिएको खबर आएको स्मरण गरे । त्यतिबेला घिसिङले तत्काल फोन गरेर समस्या समाधानको व्यवस्था मिलाएको र १५ मिनेटमै काम सम्पन्न भएको घटनाले आफूलाई छक्क पारेको उनले उल्लेख गरे । ‘बिहान ६ बजेदेखि हरेक ठाउँमा फोन गरेर काम गर्ने उनको शैली र तदारुकताले दिमाग लगाएर काम गरे ठूलो परिणाम निस्कने रहेछ भन्ने देखायो,’ तामाङले भने ।

यसअघि गत वैशाख १० गते तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीबाट बर्खास्त भएका थिए । उनको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसकै खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् । तामाङले घिसिङको कार्यकारी निर्देशक पदबाट बर्खास्तीको विरोध गर्दै आएका थिए । तर, पछि उनी आफैँ पनि बर्खास्तीमा परे ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार ०८:२५