बाँके जिल्लाका आठ वटा स्थानीय तहको बेरुजु ३८ करोड भन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०८०–०८१ को लेखापरीक्षण गर्दा बाँकेका स्थानीय तहको बेरुजु ३८ करोड ८ लाख १० हजार भेटिएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०–०८१ मा महालेखाले बाँकेका आठ स्थानीय तहको कुल १७ अर्ब ४३ करोड ७६ लाख ९४ हजार बराबरको लेखा परीक्षण गरेको थियो । उक्त रकमको लेखापरीक्षण गर्दा महालेखाले ३८ करोड ८ लाख १० हजार रकम बेरुजुमा राखेको छ ।
महालेखाले अघिल्लो आर्थिक वर्ष २०८९–०८० मा प्रतिवेदन जारी गर्दा बाँकेका आठ स्थानीय तहमा ६४ करोड ७२ लाख ८५ हजार रकम बेरुजुमा राखेको थियो । महालेखाले आर्थिक वर्ष २०८०–०८१ को लेखापरीक्षण प्रतिवेदनमा नेपालगन्ज उपमहानगरपालिकाको ३ अर्ब ८१ करोड ९२ लाख ७५ परीक्षण गर्दा ८ करोड ७२ लाख ९७ हजार रुपैयाँ बेरुजुमा राखेको छ ।
कोहलपुर नगरपालिकाको २ अर्ब ५९ करोड २४ लाख ८५ हजारको परीक्षण गर्दा ४ करोड ३० लाख ४४ हजार, जानकी गाउँपालिकाको १ अर्ब १६ करोड ७४ लाख १० हजारको परीक्षण गर्दा ३ करोड ३३ लाख ७२ हजार र डुडुवा गाउँपालिकाको १ अर्ब २१ करोड ३२ लाख ८५ हजारको परीक्षण गर्दा ३ करोड ३० लाख २१ हजार, नरैनापुर गाउँपालिकाको १ अर्ब ८ करोड ६ लाख १७ हजारको परीक्षण गर्दा ३ करोड २६ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यसैगरी, र राप्तीसोनारी गाउँपालिकाको १ अर्ब ९१ करोड ८ लाख ७८ हजारको परीक्षण गर्दा २ करोड २९ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । बाँकेमा सबैभन्दा धेरै बैजनाथ गाउँपालिकाको १ अर्ब ८३ करोड २६ लाख ७२ हजारको परीक्षण गर्दा ६ करोड ११ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको छ भने खजुरा गाउँपालिकाको १ अर्ब ८७ करोड ६५ लाख ९० हजारको परीक्षण गर्दा २८ लाख ८९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
महालेखाको तथ्याङ्क अनुसार नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु २.२९ प्रतिशत, कोहलपुर नगरपालिकाको बेरुजु १.६६ प्रतिशत, खजुरा गाउँपालिकाको बेरुजु १.५० प्रतिशत, जानकी गाउँपालिकाको बेरुजु २.८६ प्रतिशत, डुडुवा गाउँपालिकाको बेरुजु २.७२ प्रतिशत, नरैनापुर गाउँपालिकाको बेरुजु ३.०२ प्रतिशत, बैजनाथ गाउँपालिकाको बेरुजु ३.३४ प्रतिशत र राप्तीसोनारी गाउँपालिकाको बेरुजु प्रतिशत १.१८ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाले यसअघिका वर्षजस्तै स्थानीय तहले गरेको खर्चको मनपरी औँल्याउँदै विभिन्न सुझाव पनि आफ्नो प्रतिवेदनमा समेटेको छ । बाँके जिल्लाका आठ वटा स्थानीय तहमा आर्थिक वर्ष २०७९–०८० मा कुल १६ अर्ब ८९ करोड ९७ लाख ३४ हजार बराबरको लेखा परीक्षण गरेकोमा ६४ करोड ७२ लाख ८५ हजार रकम बेरुजु देखिएको थियो ।
महालेखाको आर्थिक वर्ष २०७९–०८० को लेखा परीक्षण प्रतिवेदन अनुसार नेपालगन्ज उपमहानगरपालिकाको १६ करोड ५७ लाख ५२ हजार रुपैयाँ, कोहलपुर नगरपालिकाको १३ करोड ३० लाख ७२ हजार, खजुरा गाउँपालिकाको ४ करोड ५९ लाख ८५ हजार, जानकी गाउँपालिकाको ४ करोड ८७ हजार बेरुजु, डुडुवा गाउँपालिकाको ६ करोड १२ लाख ७८ हजार बेरुजु देखिएको थियो ।
त्यस्तै नरैनापुर गाउँपालिकाको ५ करोड ९५ लाख ७१ हजार, बैजनाथ गाउँपालिकाको १० करोड १३ लाख २७ हजार र राप्तीसोनारी गाउँपालिकाको ४ करोड २ लाख १३ हजार बेरुजु भेटिएको थियो । महालेखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–०८० मा सबैभन्दा बढी बेरुजु नेपालगन्ज उपमहानगरपालिकामा १६ करोड ५७ लाख बढी भेटिएको र सबैभन्दा कम जानकी गाउँपालिकामा ४ करोड ८७ हजार बेरुजु देखिएको छ ।
सत्यपाटी संवाददाता । बाँके