सूचनाको शक्ति - The Power Of Information

        

गभर्नर नभएपछि गुणाकर भट्ट अमेरिकातिर, सुदूरपश्चिममा आक्रोश

डा.गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट वैशाख १२ गते राजीनामा दिए । यस विषयले सञ्चार माध्यममा निकै महत्व पायो । उक्त विषयले महत्व पाउनुमा दुईटा मुख्य कारण थिए । पहिलो, राष्ट्र बैंकको नयाँ गभर्नर उनी नै हुन्, गभर्नर बन्ने पक्का भएपछि पदबाट राजीनामा दिए । दोस्रो, भट्ट गभर्नरको लागि योग्य मात्र होइनन्, ओजनदार व्यक्ति हुन्, जसले बैंकिङ क्षेत्र मात्र होइन, समग्र अर्थतन्त्र बुझेका छन् ।

उनी सहि निर्णय लिन र कार्यान्वयन गर्न काबिल छन् । अहिलेसम्म उनको छवि स्वच्छ भएकाले अरूको स्वार्थमा उनी प्रयोग हुँदैनन् भन्ने पनि धेरैको बुझाइ थियो । तर, गभर्नर नियुक्ति सिधा बाटोबाट अगाडि बढेन । राजनीतिक स्वार्थको चलखेल, स्वार्थ समूहको चलखेल, दवाव समूहहरूको चलखेलमा गभर्नर नियुक्त प्रक्रिया गिजोलिँदै गयो ।

सिफारिस समितिका सदस्यद्वय विजयनाथ भट्टराई र विश्व पौडेलको राजीनामादेखि नियुक्ति प्रक्रियामा सरकारले गरेका कानुनी त्रुटी विरुद्ध एकपछि अर्को गर्दै सर्वोच्च अदालतमा मुद्दाको चाङ थपिँदै गए । अर्कोतिर कामु गभर्नर डा.निलम ढुंगानाले भट्ट र प्रकाश श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरिनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको समन्वयमा कामु गभर्नर ढुंगानाले भट्ट र श्रेष्ठको राजीनामा स्वीकृत नगरी फाइल थन्क्याएको आरोप लाग्दै आएको छ ।

आफू पनि गभर्नरको प्रतिस्पर्धामा रहेकी कामु गभर्नर निलमले कार्यकारी निर्देशकहरूको राजीनामा नयाँ गभर्नर आएपछि मात्रै स्वीकृत गर्ने बताउँदै पन्छिएकी छिन् । गभर्नर नियुक्तिमा भएको खिचातानीले शक्तिशाली सरकारको क्षमता सर्वसाधारणले दुख्नेगरी छताछुल्ल भएको छ । यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि सत्ताधारी दलहरुबीचको विवादले सरकार नै ढलेको थियो ।

राजनीतिक दल र नेताहरूको लागि यस्ता घटना सामान्य भएपनि दक्षता, क्षमता भएको र व्यवसायीक आचरणमा बसेर काम गर्नेलाई व्यक्तिलाई कति पीडा हुन्छ भन्ने तथ्य डा.गुणाकर भट्टले देश छोडेको समाचारले संकेत गर्दछ । उनको राजीनामाको फाइल रोकेर अवरोध सिर्जना गर्ने र डा विश्व पौडेललाई गभर्नर बनाउने भन्दै गभर्नर सिफारिस समितिबाट राजीनामा गराउने काम भएपछि विरक्तिएका डा.भट्ट अमेरिका गएका छन् ।

विश्व पौडेलको राजीनामासँगै भट्टले मोबाइल स्विच अफ गरेका थिए । उनी सामाजिक सञ्जालको सम्पर्कमा समेत छैनन् । डा.भट्ट सोमबार अमेरिका उडेको पारिवारिक स्रोतले जनाएको छ । मनमा अशान्ति हुँदासम्म उनी अमेरिकामा पढिरहेकी छोरीको साथमा रहने सम्भावना रहेको स्रोतले बतायो । ‘नेताहरूले राम्रा मान्छे देशमा बस्न नदिने भए । गुणाकर यसको उदाहरण हुन्,’ उनका एक सहकर्मीले भारी मन बिसाउँदै भने ।

सुदूरपश्चिममा आक्रोश

गुणाकर भट्ट गभर्नरको प्रतिस्पर्धामा पछाडि परेपछि सुदूरपश्चिममा आक्रोश बढेको छ । नेपाली कांग्रेस निकट सुदूरपश्चिमका मानिसहरूले नेपाली कांग्रेसले गभर्नरमा भट्टको विकल्प खोजे सुदूरपश्चिमका मतदाताले नेपाली कांग्रेसको विकल्प खोज्ने भन्दै सामाजिक सञ्जालमा अभिमत राख्न थालेको छन् ।

धनगढीका मोहनराज जोशीले लेखेका छन्, ‘नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.गुणाकर भट्टको विकल्प खोजियो भने भोलि धनगढीमा जनताले कांग्रेसका उम्मेदवारको विकल्प खोज्ने छन् । सरकार भन्दा माथि कामु गभर्नर हुँदैन । कामु गभर्नरले डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न मानेन भन्नु हास्यास्पद कुरा मात्र होइन, लाजमर्दो कुरा पनि हो । डा.गुणाकर भट्टको विकल्प खोजियो भने भोलि धनगढीका जनताले कांग्रेसका उम्मेदवारको विकल्प खोजे के हुन्छ ? गभर्नर बनाउन कार्यकारी निर्देशकबाट राजीनामा दिन लगाएर अहिले आएर भट्टको विकल्प खोज्नु सरासर बेइमानी हो । कुनै अमुक व्यक्तिको स्वार्थको लागि डा. गुणाकर भट्टको विकल्प खोजिए दुर्भाग्य हुनेछ ।’

धनगढी मात्र होइन सुदूरपश्चिम प्रदेशभरी विकल्प खोजिने टिप्पणी गौरव रावलले गरेका छन् । भाउजू (आरजु राणा देउवा)को सिरानीमा दक्षिणा नपुगेकाले भट्टको नियुक्ति रोकिएको मनिराज बडूको टिप्पणी छ । उनी लेख्छन्, ‘गुणाकर भट्टको विकल्प खोज्नु भनेको कांग्रेसी मित्रहरूले दायाँबायाँ हेर्नु पर्दैन भाउजूको सिरानीमा दक्षिणा पुगेको छैन, बुझे हुन्छ ।’

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार १३:५५