नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल ‘फेसबुक’मा आफ्नो धारणा राख्दै लामिछानेले धेरै सोच विचारपछि आफू यस्तो निर्णयमा पुगेको बताए ।
आइसिसी विश्वकप लिग–२ का लागि नेपाली टोलीको बिदाइ लगत्तै उनले सामाजिक सञ्जालमार्फत् क्यानसँगको केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका हुन् । ‘मैले यस पटकका लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत नजाने निर्णय गरेको छु,’ उनले लेखेका छन् । उनले नेपालका लागि खेल्न जारी राख्नेसमेत जनाएका छन् ।
आफ्नो यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुनका लागि नभएर व्यक्तिगत र व्यावसायिक रूपमा विकासको लागि एउटा कदमका रूपमा रहेको क्रिकेटर लामिछानेको भनाइ छ । लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलाका लागि भएको उल्लेख गरेका छन् ।
सम्झौता नवीकरणमा सहभागी नहुने घोषणा गरेका लामिछानेले क्यानप्रति आभार प्रकट गरेका छन् । ‘क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको उच्च कदर गर्छु’, लामिछानेले थप लेखेका छन् । लिग–२ अगाडि सन्दीपको यो घोषणालाई चासोका साथ हेरिएको छ ।
नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९–२७ गते) सम्म सिरिज खेल्नेछ । लिग–२ सिरिजपछि नेपालले ती देशसँग टी–२० आई सिरिजसमेत खेल्ने क्यानले जनाएको छ । उक्त सिरिज भने जुन १५ देखि २० तारिख (आगामी असार १–६ गते) सम्म सञ्चालन हुनेछ ।
लिग–२ खेल्नु अगाडि नेपालले बेलायतको स्थानिय टोली तथा स्टकल्याण्डको ए’ टोलीसँग अभ्यास खेलसमेत खेल्नेछ । लिग–२ को शृङ्खलाका लागि नेपाली टोलीको कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं