हिमाली भेगमा यार्सागुम्बा संकलन गर्ने सिजन सुरु भएको छ । सिजन सुरु भएलगत्तै छेकम्पारका बासिन्दा लेकतिर जान थालेका छन् । गाउँलेहरू वैशाख लागेदेखि यार्सागुम्बा संकलन गर्न छेके र बाजुको लेकतिर जान थालेको निवर्तमान वडाध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए ।
‘यो वर्षको यार्सागुम्बाको सिजन सुरु भएको छ त्यसैले, गाउँका आधाजसो मान्छेहरू लेकतिर लागिसके,’ उनले भने, ‘पहिलो चरणमा जानेहरू हिउँ पन्छ्याउँदै जानुपर्छ । त्यही हुनाले सुरु सुरुमा युवा उमेरकाहरू जान्छन् । हिउँ पन्छ्याउँदै गर्छन् । अर्को हप्तातिर बालबालिका, वृद्धवृद्धासमेत सबैजना जान्छन् । तेस्रो चरणमा चाहिँ सिला खोज्ने काम मात्र हुन्छ ।’
दोस्रो चरणको यार्सागुम्बा टिप्न जाँदा घरपालुवा पशुचौपाया समेत लिएर जाने उनले बताए । आउँदो हप्तादेखि ढोकै लगाएर गाउँलेहरू लेक जाने तयारी गरिरहेका अर्का स्थानीय छिरिङफुञ्जो लामाले बताए । ‘अब अर्कोहप्तादेखि ढोकै लगाएर गाउँ रित्तो बनाएर लेक जाने तयारी छ । घर गोठमा भएका याकचौँरी पनि लेक लैजान्छन्,’ उनले भने, ‘अब एक महिनासम्म गाउँलेहरू सबै लेकमै हुन्छन् ।’
अशक्त बूढाबुढी भएको घरमा भने बूढाबुढी स्याहार्ने मान्छे पनि बस्ने उनले बताए । ‘घर कुर्न बस्ने मान्छेले अरुको घर पनि रेखदेख गर्दिने गर्छन्,’ उनले भने, ‘अरुचाहिँ सबै एक, डेढ महिना ढुक्कले लेकमै बस्छन् ।’ उनका अनुसार छेके र बाजुको लेकमा यार्सागुम्बा संकलन गर्ने अवधिभरि बस्नका लागि प्रायजसोले गारो लगाएर त्रिपालको ‘छादन’ राखेर अस्थायी संरचना बनाएका हुन्छन् भने, कतिपयले टेन्ट टाँगेर बासस्थान बनाएका हुन्छन् ।
यसवर्ष यार्सागुम्बा राम्रै पाउन सक्ने संकेत देखिएको छ । ‘गतवर्ष पनि राम्रै पाइएको थियो । यो वर्ष पनि पहिलो चरणमा जानेले राम्रै पाएका छन् भन्ने खबर आएको छ,’ उनले भने, ‘दोस्रो चरणमा यो भन्दा पनि राम्रो पाइन्छ । तेस्रो चरणमाचाहिँ राम्रो त्यति राम्रो हुँदैन ।’ सिजनमा यार्सागुम्बा तीनपटक उम्रिने, जसमा दोस्रो पटकको उत्पादन राम्रो हुने उनले प्रष्ट पारे ।
गोरखाको छेकम्पार, सामागाउँको लेकमा यार्सागुम्बा संकलन गर्ने गरिन्छ । सामागाउँमा भने जेठ लागेपछि मात्र संकलन गर्ने चलन छ । यार्सागुम्बा यस क्षेत्रको प्रमुख आम्दानीको स्रोत हो । डोल्पा, मनाङपछि छेकम्पार र सामागाउँको यार्सागुम्बा धेरै उत्कृष्ट हुने मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ । यार्सागुम्बा संकलनका लागि स्थानीय स्तरको समितिले राजस्वका रुपमा शुल्क उठाउने गर्छ भने बिक्री गर्ने बेलामा एमक्यापले राजस्व संकलन गर्ने गर्दछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । गोरखा