सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा सोलुखुम्बुको थामेमा हुन लागेको आरोही सम्मेलन (समिर्टस् समिट) जोडिएको छ । जलवायु न्यायका लागि तिनै तहका सरकारसँगको समन्वयमा यही वैशाख ९ गते थामेमा सम्मेलन हुँदैछ । जलवायु न्यायको क्षेत्रमा कार्यरत संस्था साथसाथै फाउण्डेसनले आयोजना गरेको उक्त सम्मेलनमा देश, विदेशको परिचित हिमाल आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच प्यानल छलफल हुँदैछ ।
विभिन्न क्षेत्रमा सक्रिय महिला नेतृत्वहरुको समेत सहभागी र अगुवाई रहेको साथसाथै फाउण्डेशनले गर्न लागेको सम्मेलनलाई बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सगरमाथा संवाद सचिवालयले अपनत्व लिएको हो ।
‘सगरमाथा संवाद हुनुअघि जलवायु न्यायका लागि हामीले गर्नुपर्ने तयारी, उठाउनुपर्ने विषय र हिमालका मुद्धा एकिकृत गर्न प्रभावित क्षेत्रमै पुगेर आरोही सम्मेलन गर्न लागेका हौं । यो कार्यक्रमका लागि सरोकारवाला संघसंस्थासहित सरकारले पनि अपनत्व लिएकोमा हामी उत्साहित छौं,’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले भनिन् ।
सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थामी, नेपालका चर्चित आरोहीहरु कामारिता शेर्पा, मिंङमा डेविड शेर्पा, तेम्वाछिरी शेर्पा, माया गुरुङसहित सहभागिता हुँदैछन् । संघीय वन तथा भूसंरक्षण मन्त्रालय, कोशी प्रदेश सरकार र स्थानीय सोलुखुम्वुको खुम्बु पासांग ल्हामु गाउँपालिकाको समेत सहआयोजनामा हुने यो कार्यक्रममा जलवायु परिवर्तनका कारण गत वर्ष हिमपहिरो गई समस्यामा परेका पीडितको समेत उल्लेख्य सहभागिता हुने आयोजकले जनाएको छ ।
समिटस् समिट, अ डायलग फर क्याइमेट जस्टिस् शीर्षकको यो सम्मेलनकै क्रममा स्थानीय गाउँपालिकासहित आयोजकले गत वर्ष हिमपहिरो जानुको कारण, त्यसले अरु भूभागमा परेका असर र समाधानका लागि समेत यो कार्यक्रमलाई अर्थपूर्ण रुपमा लिएका छन् । आयोजकले गत वर्षको पहिरोले पुर्याएको क्षति र अब त्यस भेगमा दुखद अवस्था नआउन विज्ञहरुसहित सहभागी गराएर अध्ययन अनुसन्धानको कार्यलाई समेत अघि बढाएको छ ।
त्यसमा काठमाडौं विश्वविद्यालय र अन्य सम्बद्ध निकायमा प्रक्रिया अघि बढिरहेको जानकारी अध्यक्ष कार्कीले दिइन् । यो कार्यक्रममा नेपाल पर्यटन वोर्ड, नेपाल पर्वतारोहण संघ, टेवा, नेप्लीज युथ फर क्लाइमेट एक्सन (एनवाइसिए) सहितका संघसंस्था सहआयोजकका रुपमा जोडिएका छन् । कार्यक्रमको स्थानीय तह र क्षेत्रमा समेत ब्यापक तयारी भइरहेको र सरकारलाई उचित सहयोग हुने गरी आरोही र विज्ञहरु जुटाउने काम भइरहेको जानकारी थामे क्षेत्रको खुम्बु पासांग ल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरिङ शेर्पाले बताए ।
उनले यो कार्यक्रमलाई ब्यापक सफल बनाउनु भनेको सगरमाथा संवादमार्फत नेपालको जलवायुको मुद्धालाई अन्तराष्टियकरण हुने भएकाले सबैको सहयोग हुने अपेक्षासमेत गरे । वैशाख ९ गते थामेको उक्त आरोही सम्मेलनमा सरकारको उच्च तहको सहभागिता गराउने तयारी समेत छ । नेपाल सरकारले यही जेठ २ गतेदेखि ४ गतेसम्म जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य शीर्षकमा विभिन्न देशको सहभागिता हुने गरी सगरमाथा संवाद आयोजना गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाई र सक्रियतामा यो संवाद तय भएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं