सूचनाको शक्ति - The Power Of Information

        

धार्मिक जात्राका लागि उडान बन्द, विमानस्थल शान्त

एप्रिल महिनाको एउटा न्यानो दिनमा केही घण्टाका लागि जेट विमानहरू नउडेपछि दक्षिण भारतीय राज्य केरलाको राजधानी तिरुवनन्तपुरमस्थित अन्तर्राष्ट्रिय विमानस्थलमाथिको आकाश शान्त बन्छ । प्रायः खराब मौसम वा कुनै प्राविधिक समस्याले विमानस्थलहरू बन्द हुने गर्छन् ।

उक्त विमानस्थल बन्द हुने कारण चाहिँ न खराब मौसम हो न त प्राविधिक कमजोरी । त्यसको धावनमार्गबाट एउटा हिन्दू मन्दिरतर्फ हुने धार्मिक जात्राका कारण उक्त विमानस्थल केही घण्टाका लागि बन्द हुने गरेको छ । त्यस दिन भक्तजनहरू मन्दिरका मूर्तिहरू बोकेका सिँगारिएका काठका रथहरू धावमार्गबाटै दुई किलोमिटरसम्म तान्छन् ।

उक्त परम्परा यति धेरै सम्मानित छ कि त्यसका लागि प्रायः दैनिक ९० वटा उडान र अवतरण हुने उक्त विमानस्थल नै बन्द गरिन्छ । भारतमा हुने हिन्दू धार्मिक गतिविधिमा हात्तीको उपस्थिति सामान्य हुने गर्छ । यो धार्मिक यात्रामा पनि भक्तजनसँगै सिँगारिएका हात्तीहरू समेत उक्त धावनमार्गबाट मन्दिरतर्फ जान्छन् ।

कस्तो जात्रा ?

यस वर्षको त्यो धार्मिक कार्यक्रम गत शुक्रवार भएको थियो । उक्त यात्रा वार्षिक पेनकुनी उत्सवको हिस्सा हो । त्यो उत्सव वार्षिक रूपमा अर्बौँ रुपैयाँ बराबरको खजाना भएको श्री पद्मनाभ स्वामी मन्दिरद्वारा आयोजना हुने गर्छ ।

दश दिनसम्म चल्ने उत्सवको अन्तिम दिन निस्कने शोभायात्रा मन्दिरबाट सुरु हुन्छ र धावनमार्ग हुँदै करिब छ किलोमिटर टाढाको शङ्कुमुघम समुद्री तटसम्म पुग्छ । शोभायात्रा समुद्री तटमा पुगेपछि मूर्तिहरूलाई धार्मिक विधिअनुसार स्नान गराइन्छ । त्यसपछि उक्त यात्रा पुनः पुरानै बाटोबाट धावनमार्ग पार गर्दै मन्दिरतर्फ फर्कन्छ ।

उक्त जात्राको नेतृत्व पूर्वराजपरिवार त्रवनकोरका मूलीले गरेका थिए । उक्त वंशको शासनकालमा सन् १९३२ मा त्यो विमानस्थल बनेको थियो । त्यो उत्सव र जात्रा कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन तर उक्त विमानस्थलको व्यवस्थापन सुरुमा सरकार र पछि निजी कम्पनीलाई सुम्पिएपछि पनि त्यसले निरन्तरता पाइरहेको छ ।

अहिले उक्त विमानस्थलको व्यवस्थापन भारतीय अर्बपति गौतम अदानीको अदानी एअरपोर्ट होल्डिङ्स लिमिटेडले गरिरहेको छ । हरेक वर्ष अक्टोबर वा नोभेम्बर महिनामा उक्त मन्दिरमा हुने अलपाशी धार्मिक उत्सवका बेलामा हुने जात्रामा पनि त्यस्तै गरी विमानस्थललाई केही घण्टाका लागि बन्द गरिन्छ ।

यो विमानस्थल मात्र होइन

धार्मिक जात्राका लागि बन्द गरिने केही विमानस्थलहरूमा तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन । त्यस्ता अन्य विमानस्थलहरूमा बालीका हिन्दूहरूको नयाँ वर्षको उत्सवमा बन्द हुने इन्डोनेशियाको नुराह राई विमानस्थल र यहुदीहरूको एउटा पवित्र दिन योम किपुरमा बन्द हुने इजरेलको बेन गुरिअन विमानस्थल रहेका छन् ।

यद्यपि ती विमानस्थलहरू बन्द हुने दिन त्यहाँ सार्वजनिक बिदा हुन्छ र उच्च सुरक्षायुक्त धावनमार्गमै धार्मिक वा सांस्कृतिक जात्रा हुने अवस्था रहँदैन । उक्त विमानस्थलका चीफ एअरपोर्ट अफिसर राहुल भाटकोटीले मन्दिरको जात्रालाई संरक्षण गर्नका लागि विमानस्थलले पाएको अवसरका निम्ति आफूहरूलाई गौरव लागेको बताए ।

‘सम्भवतः यो विश्वको एउटै मात्र विमानस्थल हो, जसले यस्तो ऐतिहासिक घटनालाई सहजीकरण गर्छ,’ उनले गत शुक्रवार विमानस्थल क्षेत्रमा जात्रा प्रवेश गर्नुपूर्व भने । उक्त विमानस्थलमा एउटै मात्र धावनमार्ग भएकाले जात्राका बेलामा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै टर्मिनलहरू बन्द गरिन्छन् ।

त्यो विमानस्थलमा मध्यपूर्व जाने वा उताबाट आउने जहाजहरूको उडान तथा अवतरण हुने गर्छ । मध्यपूर्वमा केरलाबाट ठूलो सङ्ख्यामा भारतीय कामदारहरू काम गर्न जाने गर्छन् । विमानस्थलका अधिकारीहरूले जात्रा हुने दिन र विमानस्थल बन्द हुने जानकारी दुई महिनाअघि नै वायुसेवा कम्पनीहरूलाई दिइएको र त्यस दिन १० वटा उडानहरूको तालिका परिवर्तन भएको बताएका छन् ।

मन्दिरका कार्यकारी अधिकृत महेश बालाचन्द्रनले भने, ‘जात्रा स्थानीय समयअनुसार दिउँसो करिब ४ः४५ बजे सुरु भयो र करिब चार घण्टामा सम्पन्न भयो ।’ उक्त कार्यक्रममा सहभागी हुनेहरूको सङ्ख्या सीमित हुने र व्यापक रूपमा अनुगमन गरिने बताइएको छ ।

उच्च सुरक्षा व्यवस्था

पूर्वराजपरिवारका वरिष्ठ सदस्यहरू, पुजारीहरू, अधिकारीहरू र छानिएका भक्तजनहरूलाई मात्र उक्त जात्रामा सहभागी हुन दिइन्छ । उनीहरूका निम्ति मन्दिर व्यवस्थापन समितिले विशेष प्रकारको पास जारी गरेको हुन्छ भने विमानस्थल अधिकारीहरूबाट सुरक्षा जाँच गराएर अनुमति पाएको हुनुपर्छ ।

‘वर्षको दुई पटक पेनकुनी र अलपाशी पर्वमा पूर्णरूपमा कर्मकाण्डहरू पूरा गर्दै विमानस्थलबाट जात्रा निस्कन्छ,’ बालचन्द्रनले भने, ‘यो कुनै अप्रिय घटनाबिना शान्तिपूर्ण रूपमा अगाडि बढ्छ । सबै कुराका लागि सावधानीपूर्वक योजना बनाइएको हुन्छ ।’

विमानस्थलको सुरक्षाको जिम्मा पाएको अर्धसैनिक बल सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरटी फोर्सले भिडलाई व्यवस्थापन गर्न र सुरक्षाका निम्ति पूरै धावनमार्गमा ‘ब्यारिकेड’ राखेको हुन्छ । विमानस्थलका कर्पोरेट सञ्चार व्यवस्थापक महेश गुपथान भन्छन्, ‘हामीले भिडलाई क्यामराका माध्यमबाट पनि निगरानी गरिरहेका हुन्छौँ ।’

जात्रा सकिएपछि धावनमार्गको सुरक्षाका लागि जाँच पनि हुन्छ । तिरुवनन्तपुरबाट विजयी भएका सांसद शशि थरुरले सामाजिक सञ्जाल एक्समा लेख्दै विमानस्थलबाट पार हुने उक्त जात्राले ‘परम्परा र आधुनिकता कसरी सहअस्तित्त्वका साथ अघि बढ्न सक्छन्’ भन्ने देखाएको जनाएका छन् ।

स्रोत : बीबीसी
प्रकाशित मिति : ४ बैशाख २०८२, बुधबार १५:५४

लोकप्रिय